Main Menu

मोर्चाले सरकारलाई दिइरहेको समर्थन फिर्ता लियो

के मधेसमा पुनः आन्दोलन चर्किन्छ ?

सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्ण, फाइल फोटो

चैत्र ३, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले वर्तमान सरकार निर्माण हुँदा दिएको समर्थन आज विधिवत फिर्ता लिएका छन् । सभामुख ओनसरी घर्तीको सचिवालय सिंहदरबारमा मोर्चामा आवद्ध तराई– मधेस लोकतान्त्रिक पार्टी(तमलोपा), सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीले दलका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिखितपत्र आज बुझाउँदै समर्थन फिर्ता लिएका हुन् ।

मधेसी मोर्चाले दुई दिनअघि नै सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने घोषणा गरिसकेको थियो । तर, हिजो मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा संयुक्त रुपमा भेट गरेपछि सरकारप्रति सकारात्मक भएको अभिब्यक्ति दिँदै समर्थनलाई पुनः स्थापित गर्ने संकेत दिएका थिए । उनीहरुले प्रधानमन्त्रीसँगको भेटघाट अत्यन्त सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । तर, आज आएर मोर्चाले विधिवत रुपमै समर्थन फिर्ता लिएको छ ।

यही प्रक्रियाको एक हिस्साको रुपमा सङ्घीय समाजवादी फोरम नेपालले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र हिजो बुधबार नै सभामुखको सचिवालयमा बुझाएको थियो ।

सरकारलाई मोर्चाका तर्फबाट स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता, संविधान संशोधन सम्बन्धी दिइएको सातदिने समयसीमा (अल्टिमेटम) पूरा नभएपछि समर्थन फिर्ता लिएको मोर्चाले जनाएको छ ।

सदनमा सङ्घीय समाजवादी फोरम १५, तमलोपाका ११ , सद्भावना पार्टीका ५, फोरम गणतान्त्रिक १, राष्ट्रिय मधेस समाजवादी पार्टी ३ सदस्य सङ्ख्या रहेको छ ।

मोर्चाका तर्फबाट सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले सभामुखको सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउँदै मोर्चा प्रतिपक्षमा बस्ने निर्णय गरेको सञ्चारकर्मीलाई जानकारी दिए ।

तर, मोर्चाले सरकारलाई दिइरहेको समर्थ फिर्ता लिएसँगै के अब उसले मधेसमा आन्दोलन छेडिहाल्छ त ? भन्ने प्रश्न जन्मिएको छ । चितवनमा पत्रकारहरुसँग आज सद्भावना नेता राजेन्द्र महतोले तराईमधेसमा मोर्चाले आन्दोलन गर्ने भएपनि बन्दहडतालजस्ता आन्दोलनका रुपहरुको विकल्पबारे सोचिरहेको बताएका छन् । यसले उनीहरु नरम खालको आन्दोलन चाहिरहेको प्रस्ट हुन्छ ।

वास्तवमा मधेसी मोर्चा अहिले आन्दोलन नै नचाहिरहेको कुरा अहिले उसले नरम आन्दोलनको उच्चारण गर्न थालेबाट बुझ्न सकिन्छ । मधेसी नेताहरुले जसरी भएपनि हिजोदेखि आफूहरुले मधेसी जनताअगाडि बाचा हालेका मुद्दाहरुको केही न केही सम्वोधन होस् भन्ने चाहेका छन् । तर, केही पनि सम्वोधन नहुँदै यतिकैमा आन्दोलन तुहिएको देखिँदा मधेसी जनतामाझ आफूहरुको बदनामी हुने भय उनीहरुको मनमा छ । सरकार र प्रतिपक्ष एमालेका लागि चुनावी वातावरण निर्माणका लागि यो एउटा महत्वपूर्ण मनोविज्ञान हो । मधेसी मोर्चाका मागहरुलाई आधारभूत रुपमा सम्वोधन गरेर त्यो वातावरण निर्माण गर्न सकिन्छ । मधेसी मोर्चाले जसरी पनि आन्दोलन नै चाहेको पुस्टि गर्ने आधार छैन ।

(Visited 131 times, 1 visits today)

टिप्पणी

comments