Main Menu

पाद किन गन्हाउँछ ?

सार्वजनिक ठाउँमा पाद आउँदा सबैलाई औधि अप्ठेरो हुन्छ । हामी सबैले स्विकार्नैपर्छ, हामी सबैले कम्तीमा एकचोटि अरुलाई गन्हाउने गरी सार्वजनिक ठाउँमा पादेका छौँ । कहिले आवाज आउँछ, कहिले फुस्स । फुस्स आएको बेला आफू चुप बस्यो भने कसले पादेको हो थाहा पाउन गाह्रो हुन्छ, तर आवाज आउँदा सबैले थाहा पाउँछन् । यस्तो अप्ठेरोमा अवस्थामा हामी सबै कम्तीमा एकपटक त परेकै छौँ । तर, प्रश्न यो छ कि पाद गन्हाउँछ किन ? के हुन्छ पादमा कि त्यो यति धेरै गन्हाउँछ ? र कहिलेकाहीँ पाद नगन्हाउने पनि हुन्छ । किन त ?

पाद्दा निस्कने ग्याँस दुईवटा स्रोतहरूबाट आउँछ ।
१. एक, तपाईंले खानुहुने खानाबाट ऊर्जा निकाल्ने क्रममा रासायनिक प्रक्रियाका कारण उत्पादन हुने ग्याँस ।
२. दुई, तपाईंको मुखबाट शरीरभित्र छिर्ने हावा ।

तपाईंले खाने खानेकुरालाई ऊर्जामा परिणत गर्नको लागि शरीरमा विभिन्न रासायनिक प्रतिक्रियाहरू हुन्छन् । खाना शरीरभित्र छिरिसकेपछि खानाले विभिन्न ग्रन्थीहरूबाट उत्पादन हुने इन्जाइमहरू, पेटभित्र हुने अम्लहरू, आन्द्रामा रहेका ब्याक्टेरिया, कलेजोले उत्पादन गर्ने बाइल जुस जस्ता तत्वहरूसँग रासायनिक प्रतिक्रिया गर्छ । यसरी रासायनिक प्रतिक्रिया हुँदा विभिन्नथरि ग्याँसहरू उत्पादन हुन्छन् ।

त्यस्तै, खाना खाँदा, तरल पदार्थ पिउँदा, स्वास फेर्दा र त्यस्तै अन्य कार्यहरू गर्दा मुखबाट हावा शरीरभित्र छिर्छ ।

यस्ता ग्याँसहरू डकार्दा पनि शरीरबाहिर निस्कन्छन् । डकारेपछि पनि बाँकी रहने ग्याँसहरू भने आन्द्रामा पुग्छन् । यी दुवै अवस्थामा ग्याँस पाचनप्रणालीका बाँकी अङ्गहरू हुँदै अन्त्यमा शरीरबाहिर निस्कन्छ । यसरी पाद्ने प्रक्रिया पूरा हुन्छ र शरीरभित्र जम्मा हुँदै गरेको ग्याँसको चाप कम हुन्छ ।

पाद गन्हाउनुको प्रमुख कारण भने पादमा हुने हाइड्रोजन सल्फाइड नामक ग्याँस हो । खाना पचाउँदा हुने रासायनिक प्रतिक्रियाको क्रममा हाइड्रोजन, कार्बनडाइअक्साइड, मिथेनजस्ता ग्याँसहरूको पनि उत्पादन हुन्छ । हामीले खाने खानेकुरामा सल्फरको मात्रा बढी छ भने पादमा हाइड्रोजन सल्फाइड ग्याँसको मात्रा पनि बढी हुन्छ र पाद गन्हाउँछ । मासु, बन्दा, अण्डा, प्याज आदिमा सल्फरको मात्रा बढी हुने भएकोले यी खानेकुराहरू खाँदा पाद बढी गन्हाउँछ । साथै, मिथेन ग्याँस पनि गन्हाउने हुन्छ ।

तर मिथेन र हाइड्रोजन सल्फाइड ग्याँस हाम्रो शरीरभित्र खानेकुरा पचाउनको लागि चल्ने रसायनिक प्रतिक्रियाहरुबाट मात्र उत्पादन हुन्छ । हामीले फेर्ने सासमा यी दुबै ग्याँसहरु हुँदैनन् । त्यसैले हाम्रो नाक र मुखबाट शरीरभित्र छिर्ने हावाबाट उत्पादन भएको पाद भने गन्हाउँदैन ।

(Visited 2,659 times, 1 visits today)

टिप्पणी

comments