Main Menu

कुखुरा पहिला आयो कि अण्डा ?

कुखुरा पहिला आयो कि अण्डा ? यो प्रश्नले प्राचीन ग्रीक दार्शनिकहरु देखि आधुनिक संसारका हामी सबैलाई व्याकुल बनाउँदै आएको छ । अण्डा पार्नको लागि कुखुरा चाहिन्छ र कुखुरा बन्नको लागि चल्ला अण्डाबाट बाहिर निस्कनुपर्यो । त्यसो भए कुन पहिले आयो त ? अण्डा कि कुखुरा ?

चाल्र्स डार्विनको विकासवादी सिद्धान्तका अनुसार जीवहरूको उद्विकास तिनीहरूको डिएनएमा आउने परिवर्तनका कारण हुन्छ । अभिभावकबाट सन्तानमा जीनको स्थानान्तरण हुँदा जीनमा केही मात्रामा परिवर्तन आउँछ जसलाई वैज्ञानिक भाषामा म्युटेसन भनिन्छ ।

भालेको शुक्रकीट र पोथीको डिम्बबीच मिलन भएपछि जाइगोट निर्माण हुन्छ । जाइगोट भनेको कुनै पनि प्राणीको पहिलो कोष हो । यही जाइगोट विभाजित हुँदै पूर्ण प्राणी बन्छ । कुनै पनि प्राणीको सम्पूर्ण कोषहरूमा जाइगोटमा भएकै डिएनएको दुरुस्तै प्रतिलिपि हुन्छ । तर, जाइगोट निर्माण हुने क्रममा नै डिएनएमा केही मात्रामा परिवर्तन भइसकेको हुन्छ । र, यो प्रक्रिया हरेक अभिभावकबाट जन्मने हरेक सन्तानमा लागू हुन्छ ।

यो आधारमा व्याख्या गर्ने हो भने पौराणिक कालमा कुखुरा त अहिलेको अवस्थामा थिएन नै, कुखुराको अण्डा पनि अहिलेको अवस्थामा थिएन ।

कुखुरा कुनै दैवी शक्तिले निर्माण गरिदिएको नभई कुनै भिन्नै प्राणीबाट विस्तारै विकास भएर आएको हो । कुखुराभन्दा फरक त्यस प्राणीको भालेको शुक्रकीट र पोथीको डिम्ब मिलेर तिनीहरूको डिएनएमा केही मात्रामा परिवर्तन भई आधुनिक कुखुराको पुर्खाको डिएनए भएको जाइगोटको निर्माण भएको थियो । र त्यही जाइगोट विभाजित भई आधुनिक कुखुराको पुर्खा जन्मिएको थियो । आधुनिक कुखुराको पुर्खाको त्यस जाइगोटको निर्माण हुनुभन्दा पहिले यस संसारमा कुनै कुखुरा नै थिएन ।

जाइगोट निर्माण हुँदा मात्रै डिएनएमा सुक्ष्म परिवर्तन आउँछ । यिनै सुक्ष्म परिवर्तनहरु हुँदै जाँदा लाखौँ करोडौँ पुस्तापछि प्राणी यति धेरै परिवर्तन भइसकेको हुन्छ कि यो आफ्नो पूर्खाभन्दा पूर्ण रुपमा भिन्न हुन पुग्छ । र यसरी आफ्नो पूर्खाभन्दा फरक एक नयाँ प्रजातिको जन्म हुन्छ ।

अण्डा पार्ने प्राणीहरूको हकमा जाइगोट अण्डाभित्र निर्माण हुन्छ । यो आधारमा भन्ने हो भने कुखुराभन्दा पहिले अण्डा नै आएको हो । यद्यपि, कुनै पनि प्राणीमा पुस्तै पिच्छे निरन्तर परिवर्तन भइरहने हुँदा आजको कुखुरा हिजोको जस्तो थिएन र भोलिको कुखुरा आजको कुखुराजस्तो हुनेछैन । त्यसैले कुखुरा पहिले कि अण्डा भन्ने प्रश्नभन्दा कुखुरा कुन प्राणीबाट विकसित भएको हो ? भन्ने प्रश्न अर्थपूर्ण हुन्छ ।

(Visited 1,150 times, 1 visits today)

टिप्पणी

comments