Main Menu

बृहस्पति यति विशाल छ कि, यसले सूर्यको ठ्याक्कै परिक्रमै गर्दैन !!

सूर्यबाट पाँचौँ ग्रह बृहस्पति ग्रह निकै विशाल छ । यसको पिण्ड सौर्य मण्डलका अरु सबै ग्रहहरुको संयुक्त पिण्डभन्दा पनि २.५ गुना ठूलो छ । आकारकै कुरा गर्ने हो भने पनि यसको व्यास पृथ्वीको व्यासभन्दा ११.२ गुना बढी छ । र, आयतनको कुरा गर्ने हो भने बृहस्पतिमा १ हजार ३ सय २१ वटा पृथ्वीहरु अटाउँछ ।

तर, बृहस्पति विशाल छ भन्ने कुरा आज हामी यसको आयतन र आकारबाट नभई यसले सूर्यलाई परिक्रमा गर्ने तरिकाको आधारमा खोतल्ने प्रयास गर्नेछौँ ।

सौर्य मण्डलको सबैभन्दा विशाल ग्रह बृहस्पति यति विशाल कि, वास्तविक रुपमा भन्नुपर्दा यसले सूर्यको परिक्रमा नै गर्दैन, कम्तीमा हामीले सोचेजस्तो ‘ठ्याक्कै’ परिक्रमा गर्दैन ।

बृहस्पतिको पिण्ड सम्पूर्ण ग्रहहरुको संयुक्त पिण्डभन्दा पनि साढे २ गुना बढी छ । त्यसैले, यसको गुरुत्वाकर्षण बल पनि विशाल छ । यति विशाल कि, यसले सूर्यलाई समेत प्रभाव पार्छ ।

वास्तवमा भन्ने हो भने अन्तरिक्षमा जब कुनै सानो पिण्डले ठूलो पिण्डलाई परिक्रमा गर्छ, त्यसरी परिक्रमा गर्ने कक्ष पूर्ण रुपमा वृत्ताकार हुँदैन । बरु, सानो र ठूलो दुबै पिण्डले दुई पिण्डको गुरुत्व केन्द्रको परिक्रमा गर्छन् । पृथ्वी वा अन्य साना ग्रहहरुले सूर्यको परिक्रमा गर्ने परिस्थितिमा यो कुराको प्रभाव शून्यप्रायः हुन्छ । सूर्यको पिण्ड अन्य स–साना ग्रहहरुको भन्दा निकै बढी हुने भएकोले सूर्य र ती ग्रहहरुबीचको गुरुत्व केन्द्र सूर्यको आफ्नै केन्द्रको निकै नजिक हुन्छ । त्यसैले स–साना ग्रहहरुले सूर्यलाई परिक्रमा गर्दा सूर्य अचल देखिन्छ र ग्रहहरुले वृत्ताकारमा सूर्यको परिक्रमा गरेको देखिन्छ ।

तर, विशाल ग्रहहरुको लागि भने वास्तविकता फरक छ ।

बृहस्पति ग्रह यति विशाल छ कि यसको र सूर्यको गुरुत्व केन्द्र सूर्यभन्दा पनि बाहिर छ, सूर्यको सतहभन्दा सूर्यको अर्धव्यासको ७ प्रतिशत बाहिर । सूर्य र बृहस्पति दुबैले अन्तरिक्षको त्यो बिन्दुलाई परिक्रमा गर्छ । सूर्य यो बिन्दुको निकै नजिक छ र बृहस्पति निकै टाढा । त्यो हिसाबमा सूर्यले उक्त बिन्दुलाई परिक्रमा गर्ने कक्ष बृहस्पतिको कक्षको तुलनामा निकै सानो हुन्छ । तर, वास्तविकता चाहिँ त्यही हो ः वृहस्पतिले सूर्यको ‘ठ्याक्कै’ परिक्रमा चाहिँ गर्दैन ।

त्यसैले अब कसैले तपाईंलाई अन्तरिक्षबारे कुनै अचम्मको तथ्य भन्नको लागि चुनौति दियो भने सम्झनुहोस्, बृहस्पतिले सूर्यको परिक्रमा गर्दैन ।

(Visited 549 times, 1 visits today)

टिप्पणी

comments