Main Menu

आफैंलाई काउकुती लगाउन किन सकिँदैन ?

  • आकाश महर्जन

tickle-yourselfकाउकुतीको कार्यविधि वैज्ञानिकहरुको लागि धेरै पहिलेदेखि नै रहस्यमयी रहँदै आएको छ । काउकुती लाग्दा किन हाँस्छौँ भन्ने कुराको मूर्त जवाफ अहिले पनि वैज्ञानिकहरुले दिन सकेका छैन । तर आफैंलाई काउकुती लगाउन किन सकिँदैन भन्ने रहस्यको जवाफ दिन भने वैज्ञानिकहरु केही हदसम्म सफल छन् ।

हाम्रो छालाको मुनि दसौँ लाख स्नायुहरु हुन्छन् जसले मस्तिष्कलाई स्पर्शको, तातो वा चिसो जस्ता अनुभुतिहरुको बारेमा सूचना प्रदान गर्छन् । यी स्नायुहरुको सूचनाका कारणले नै तातो तावामा हात राख्दा ‘हात हटाऊ, तिमीलाई पोल्दैछ ।’ भन्ने सङ्केत मस्तिष्कले दिन सक्छ ।

जब कसैको हल्का स्पर्शले यी स्नायुहरुलाई उत्तेजित पार्छ, यो सूचनालाई स्नायुहरुले स्नायु प्रणालीमार्फत् मस्तिष्कमा पुर्याउँछन् । त्यसपछि मस्तिष्कले त्यो सूचनालाई विश्लेषण गर्छ ।

शरीरका खास–खास ठाउँहरुमा हल्का स्पर्शको कारणले उत्पन्न हुने काउकुतीको अनुभुति भनेको स्नायुहरुले पठाउने सूचनालाई मस्तिष्कका दुई भागहरुले एकैसाथ विश्लेषण गर्नुबाट उत्पन्न हुने अनुभुति हो । ती दुई भागहरु सोमाटोसेन्सरी कोर्टेक्स र एन्टेरियर सिङ्गुलेटेड कोर्टेक्स हुन् ।

सोमाटोसेन्सरी कोर्टेक्स स्पर्शको विश्लेषणका लागि जिम्मेवार मस्तिष्कको एक भाग हो । उदाहरणका लागि यसले स्पर्शका कारण छालामा कति चाप उत्पन्न भएको छ भन्ने कुराको विश्लेषण गर्छ । सिङ्गुलेटेड कोर्टेक्सले भने आनन्दको अनुभुतिको विश्लेषण गर्छ । मस्तिष्कका यी दुई भागहरुका विश्लेषणहरुको मिश्रणबाट काउकुतीको अनुभुति उत्पन्न हुन्छ ।

यसको मतलब यदि शरीरका खास–खास ठाउँहरुमा हल्का स्पर्शकै कारणले मात्र काउकुती लाग्ने हो भने त आफैँलाई स्पर्श गर्दा पनि काउकुती लाग्नुपर्ने हो । तर, शरीरका ती स्थानहरुमा अरुले जस्तो तरिकाले स्पर्श गरेर हामीलाई काउकुती लाग्ने हो, त्यस्तै तरिकाले आफैले स्पर्श गर्ने हो भने पनि काउकुती लाग्दैन । यसको लागि मस्तिष्कको अर्को भाग जिम्मेवार हुन्छ । त्यो भागको नाम हो सेरेबेलम ।

सेरेबेलम भनेको शरीरका विभिन्न अङ्गहरुको चालको विश्लेषण गर्ने मस्तिष्कको एउटा भाग हो । सेरेबेलमले कुनै पनि अङ्गको चालको सुरुवात त गर्दैन तर चालको संयोजन र समय निर्धारणमा भने सेरेबेलमको भूमिका हुन्छ । सेरेबेलमले आफ्नै शरीरका अङ्गहरुको चालको मात्र विश्लेषण गर्नसक्छ, तर शरीरभन्दा बाहिरको संसारमा घटीरहेका घटनाहरुका आधारमा अङ्गहरुमा चाल उत्पन्न गर्न सक्दैन ।

जब कुनै व्यक्तिले तपाईंलाई काउकुती लगाउन खोज्छ, तब सेरेबेलम उक्त व्यक्तिको चालको बारेमा बेखबर हुन्छ । तर जब तपाईंले आफैलाई काउकुती लगाउन कोसिस गर्नुहुन्छ, आफ्नो छालामा स्पर्श गर्नुभन्दा पहिले नै तपाईंका हातका चालहरुप्रति सेरेबेलम सचेत भइसकेको हुन्छ र त्यसले ‘कुनै खतरा छैन’ को सूचना मस्तिष्कको केन्द्रमा पठाउँछ । फलस्वरुप यस्तो अवस्थामा सोमाटोसेन्सरी कोर्टेक्स र एन्टेरियर सिङ्गुलेटेड कोर्टेक्स कम सक्रिय हुन्छन् । त्यसैले, अरुले स्पर्श गर्दा काउकुती लाग्ने ठाउँमा आफैंले स्पर्श गर्दा हामीलाई काउकुतीको अनुभुति हुँदैन ।

(Visited 322 times, 1 visits today)

टिप्पणी

comments