Main Menu

साथी बनाउन खोज्दा

  • (नेपाली साहित्यका एक नक्षत्र वरिष्ठ साहित्यकार श्यामप्रसाद शमार्को गत वैशाख २४ गते ८९ वर्षको उमेरमा निधन भयो । सरल जीवन र उच्च बिचारका पर्याय बोकेका साहित्यकार श्यामप्रसाद शर्माले व्यवहारिक जीवनका थुप्रै कुराहरुलाई जनबोलीमा रचनाहरु लेखी सर्वसाधारण समक्ष प्रस्तुत गरेका छन् । खसागरी दैनिक जीवनमा मान्छेलाई असल हुन सिकाउने उनका रचनाहरुले उनको समयका पाठकहरुको ठूलो सङ्ख्यालाई आकर्षित गर्न उनी सफल भएका थिए । उनका ती रचनाहरु आजको समयमा पनि उत्तिकै महत्वका छन् । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनप्रति शोक प्रकट गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली स्वरुप मूल्याङ्कन अनलाईनले व्यवहारिक जीवनमा अति नै महत्व राख्ने उनको ‘साथी बनाउन खोज्दा’ शिर्षकको रचना यहाँ प्रस्तुत गर्दछ । यो रचना वि.सं.२०४२ सालमा उनको छद्म नाम कृष्ण अर्यालको नामबाट ‘अनुभूति’ त्रैमासिकको पूर्णाङ्क १२ मा प्रकाशित भएको थियो ।– सम्पादक)

श्यामप्रसाद

साथी बनाउँदा सबभन्दा पहिले गर्नुपर्ने काम त को कुन वर्गको हो भनेर चिन्नु नै हो । किनभने सबैजसो मानिसले आफ्नै वर्ग अनुसारको विचार लिएका हुन्छन् र बानी पनि प्रायः वर्ग–स्वभाव अनुसारकै हुन्छ । धनी र गरिब भनी मोटामोटी तवरबाट वर्ग छुट्याएर मात्र पनि पुग्दैन । साथीहरुको संख्या धमाधम थप्दै जान सक्ने हुने हो भने वर्गहरु पनि राम्ररी नै छुट्याउन सक्ने हुनुपर्छ । खेतीपातीको काम गर्ने जति सबै किसान हुन् । तर ठूला वा धनी, मध्यम वा मझौला र साना वा गरिब गरी तीन थरी किसानहरुमा ठूलो फरक हुन्छ । जमिनदार र पूँजीपति – यी दुई थरीलाई पनि हामी ठूला, मध्यम र साना गरी तीन भागमा बाँड्न सक्छौँ । ज्यामी वा मजदुरहरुमध्ये ज्याला–तलबबाट मात्र जीवन धान्नुपर्नेहरु, धेरथोर अरु जेथा पनि भएकाहरु र ज्यालादारी कामबाट भन्दा अरु नै कामबाट बढी कमाउनेहरु पनि हुन्छन् । त्यसै गरी बुद्धिजीवीहरुमा पनि औलादौला भएका साह्रै सम्पन्नहरु, जीविका सजिलैसँग चलाई आएका मध्यवित्तहरु र जति दुक्खजिलो गर्दा पनि हातमुख जोर्न सधैं धौ-धौ पर्ने विपन्नहरु समेत गरी शोषक, अशोषक र शोषित तीनै थरी वर्गका छन् । एउटै मध्यम वर्ग पनि उच्च, मध्यम र निम्न वा न्यून गरी तीन तहमा बाँडिएको छ ।

विभिन्न वर्ग र तिनका अनेक थरी तहहरुले समाजको विकास र प्रगतिमा फरक–फरक भूमिका खेल्ने गर्छन् । हरेक मानिस एउटा न एउटा वर्गको कुनै न कुनै तहभित्र पर्ने हुनाले साथी बनाउने कोसिस गर्दा यसरी वर्ग र तह केलाउन पनि जान्नुपर्ने भएको हो । जम्मजम्मी वार्षिक आम्दानीमध्ये कति प्रतिशत शोषण (सामन्ती वा पूँजीवादी वा दुबैथरी) बाट र कति प्रतिशत श्रमशक्ति (शारीरिक वा मानसिक वा दुबै थरी) लाएर कमाउने गरिएको छ भन्ने आधारमा हामी मानिसहरुको वर्ग राम्रैसँग छुट्याउन सक्छौँ । वर्ग छुट्याउनु भनेको सम्बन्धित मानिसको आर्थिक अवस्था वा भौतिक शक्ति थाहा पाउनु हो । समाजको विकास र प्रगतिमा कुन वर्गले के कस्तो भूमिका खेल्छ भन्ने कुरा बुझ्नु भनेको वैचारिक र राजनीतिक पक्ष थाहा पाउनु हो । यसरी हरेक वर्गको भौतिक र वैचारिक दुबै पक्षबारे हामीलाई ज्ञान भएमा कुन वर्गको मानिससित कसरी व्यवहार गर्नुपर्छ र तीमध्ये को-कोबाट के-कतिसम्म काम लिन सकिएला भन्ने विषयमा राम्रो बोध हुन पाउँछ । अनि साथी बनाउने प्रयत्न गर्दा हामीबाट उस्तो गल्ती हुन पाउँदैन र निरास हुनुपर्ने अवस्था पनि प्रायः आउँदैन ।

वर्ग र व्यक्तिमा फरक हुन्छ भन्ने तथ्यलाई पनि बिर्सनुहुँदैन । कति मान्छे आफू शोषित वर्गभित्र पर्ने साह्रै गरिब भए पनि शोषक वर्गहरुलाई नै अड्याउने, जोगाउने काममा तनमन दिएर लाग्ने हुन्छन् । कमारा मनोवृत्तिका त्यस्ता मान्छे सारा दुनियाँकै अहित हुने काममा आँखा चिम्लेर लाग्छन् र आफ्ना मालिकलाई रिझाई तिनकै निगाहबाट जीवन बिताउन चाहन्छन् । कुनैकुनै मानिस आफू शोषक वर्गको भए पनि शोषणवादी व्यवस्थालाई नै नरुचाउने हुन्छन् र त्यस्तो व्यवस्थाको विरोधमा आफू पनि अलिअलि लागिरहन समेत खोज्छन् । कतिका पूँजीपतिहरु र जमिनदारहरु पनि कानुनी रुपमा शोषणहरुबाट नै चित्त बुझाउँछन् र गैरकानुनी रुपमा शोषण गर्नपट्टि भने भरसक लाग्दैनन् । यस्ताहरु दुःखी–गरिबहरुप्रति दयामाया पनि देखाउँछन् । यिनीहरुमा अलिअलि भए पनि देशभक्तिको भावना समेत पाउन सकिन्छ । अर्का थरी शोषकहरु चाहिँ साह्रै मापाका र हुनुसम्म निठुरी हुन्छन् । आफ्नै वर्गले बनाएका संविधान र ऐन कानुन थितीरीति र चलनलाई समेत पटक्कै टेरपुच्छर लाउँदैनन् । खासगरी ठूला जमिनदार र ठूला पूँजीपति वर्गहरुभित्र पर्ने यी दुष्टहरु हुनुसम्म अन्यायी र अत्याचारी हुन्छन् । दुराचार र भ्रष्टाचारका भकारी नै भने पनि हुने खालका यी मुदुकमाराहरु मातृभूमिलाई नै बेचेर भए पनि पैसा कुम्ल्याउने दाउमा नै लागिरहेका हुन्छन् । त्यसैले कुनै मानिसको सही मूल्याङ्कन गर्नु पर्दा हामीले निजको वर्गस्वरुपका साथै व्यक्तिगत चरित्रलाई पनि चाहिँदो मात्रामा महत्व दिनैपर्छ ।

तल्लो वर्गका मानसिहरुलाई बढी महत्व दिने गरिए पनि जनताभित्र पर्ने जति सबै वर्ग र सबै तहका मानिसलाई साथी बनाउन सकिन्छ भन्ने कुरामा पुरापुर विश्वास हुनुपर्छ । अनिमात्र साथी बनाउने हाम्रो हौसला सेलाउन पाउँदैन र प्रयास निरन्तर जारी रहन्छ । जुन बेला आफू जस्तो वातावरणमा बसिएको हुन्छ, त्यही परिस्थितिसित सुहाउने गरी चलेर साथी बनाउने प्रयत्न पनि गरिरहनुपर्छ । सहरमा भएका बेलामा गाउँमा नगई साथी बनाउन सकिन्न भन्ने धारणाले, लेखपढ नजान्नेहरुका माझमा हुँदा शिक्षित नपाई कसरी साथी बनाउनु भन्ने धारणाले केटाकेटीलाई नगन्ने र बुढाबुढीको वास्तै नगर्ने धारणाले हामीलाई अवस्तुवादी तुल्याउँछ । हामीले आफूलाई हर्रो नपाउँदो जाइफल–धाँउँदो हुनुबाट जोगाउनुपर्छ ।

वर्ग, विचार र बानी सबैथोक राम्रो भएका, हामीलाई शतप्रतिशत चित्त बुझ्ने खालका साथीहरु धमाधम फेला पर्ने गरुन भन्ने भ्रममा पनि पर्नुहुन्न । नब्बे प्रतिशतभन्दा बढी मानिस सामान्यतया जनता भित्र नै पर्ने भए पनि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुको वर्ग–स्वरुप र वर्ग–श्रोत आफूले खोजेकै जस्तो चाहिँ नपर्न पनि सक्छ । वर्गको दृष्टिबाट आफूलाई मनपर्ने व्यक्तिहरु पाइएलान् तर उनीहरुमा राजनीतिक चेतनाको एकदमै अभाव रहेको पनि हुनसक्छ । विचारको दृष्टिबाट समेत निकै जान्ने बुझ्ने व्यक्तिहरु फेला पारि नै हाले भने पनि आफ्नो आनीबानीलाई समेत राम्रो पार्न सकेकाहरु भेट्टाउनु त झन् दुर्लभ हुन्छ । किनभने, विचार राम्रो पार्नुभन्दा पनि बानी राम्रो पार्नु अझ गाह्रो काम हो । यो लामो समयसम्मको व्यवहार वा अभ्यासपछि मात्र आउँछ । (यहाँनिर हरेक वर्ग र तहमा अगुवा, मध्यम र पछि परेका गरी तीन थरी तत्व हुन्छन् भन्ने पनि हेक्का राख्नुपर्छ है ।) काठको किसिम हेरी सिकर्मीले श्रम–शक्ति र सिप लाएर किसिम–किसिमका राम्रा र काम लाग्ने सामानहरु तयार पारे जस्तै हामीले पनि मिहिनेत र जुक्तिबुद्धि पुर्याएर मात्र साथीहरु बनाउन खोज्नुपर्छ । भएका साथीहरुमध्ये पहिले अगुवाहरुसित नै गाँसिनुपर्छ । अनि उनीहरु समेत भई मध्यमहरुलाई हात लिएर पनि परेकाहरुमा पुग्नुपर्छ । यसो नगरी साथीहरु भन्दैमा सबैबाट उत्तकै आसा गर्न पट्टि लाग्यौँ भने अवैज्ञानिक सोचाई नहोला र ? तै पनि थोपा नभई महासागर बन्दैन भन्ने बुझेर जतिसुकै थोरै योगदानको पनि राम्ररी कदर गर्न चुक्नु हुँदैन ।

कमजोरी केही नभएका शुद्ध र निर्दोष चरित्रलाई मात्र साथी बनाउँछु भन्ने चाहना पहिले साह्रै राम्रो जस्तो लागिहाले पनि यथार्थमा यो मीठो कल्पना मात्र हो । संसारमा गुन र बैगुन दुबै पक्ष नभएको मानिस एकजनासम्म पनि पाउन सकिन्न । महामानवका समेत थुप्रै कमीहरु हुन्छन् र तिनले पनि धेरै कामकुरा बिराउने गर्छन् । तैपनि तिनलाई महान भनेर मान्नु परेको कारण के हो भने उनीहरुमा दुई पक्षमध्ये सबल पक्ष नै प्रमुख भएर रहेको हुन्छ । आफूले साथी बनाउन खोजेको व्यक्तिका बलिया र निर्धा पक्षहरु छुट्याई कुन चाहिँ प्रमुख छ भनी विचार गर्नुपर्छ । राम्रो पक्ष नै प्रमुख छ भने त्यस्तालाई साथी बनाउन अन्कनाइ रहनै पर्दैन । कसैमा भएका नराम्रा कुराहरुलाई घटाउँदै लैजान सकियो भने त्यस्ता व्यक्तिमा राम्रा कुराहरुको मात्रा बढ्दै जान पाउँछ र ती पनि केही समय पछि सबल पक्ष प्रमुख भएका व्यक्तिका रुपमा फेरिने हुन्छन् । यसरी साथी बनाउने कोसिस गर्दा हामी अरुलाई मात्र सपारिरहेका हुँदैनौँ, आफू पनि खारिँदै–माझिँदै गइरहेका हुन्छौँ । आफूलाई यसरी ताजा राख्ने काम प्रत्येक सजग व्यक्तिले गरिरहनै पर्छ नत्र जस्तै असल मासिमा पनि खिया लाग्दै जाने हुन्छ । आफूलाई सच्याउने प्रयत्न पुगेन भने अरुका आङ्को चाहिँ जुम्रा टड्कारै देख्न सक्ने भए पनि आफ्नो आङ्को चाहिँ भैँसीसुद्ध पनि देख्न नसक्ने हुन पुगिन्छ ।

भएका साथीहरुमध्ये प्रत्येकको निम्ति सुहाउँदो काम दिने लिने चाँजो मिलाउन जानिएन भने पनि त्यति फाइदा हुन पाउँदैन । कोही साथी बनेको बेलादेखि बाँचुन्जेल साथ दिइरहने हुन्छन् भने कोही केही वर्षपछि पन्छेर जाने हुन्छन् । कोही त केही महिना, अझ केही हप्तासम्म पनि टिक्न नसक्ने हुन्छन् । बुद्धिमान मान्छेले पछि–परन्तुसम्म टिक्ने साथीहरु मात्र जोर्छु नभनी एक दिन वा एक छिन मात्र काम लाग्न सक्नेलाई समेत साथी बनाई त्यतिसम्म भए पनि हाम्रो लक्ष्यका लागि उपयोगी तुल्याउन सिपालु हुनुपर्छ । हाम्रो सङ्गत छाडेर गए भन्दैमा कसैलाई गाली गर्ने पनि गर्नुहुन्न । छाडेर जानेहरुमध्ये जसले हामीलाई हानि–नोक्सानी पुर्याइरहन्छन्, हामीलाई नाना भाँतीका फतुर लगाई बदनामी गर्दै हिँड्छन्, त्यस्ता प्रति मात्र कडा नीति लिनुपर्छ । सँगै बस्दा पनि असल र खराब साथी चिन्न सजिलो हुने कसरी हो भने असलहरुले एकता बढ्ने–बढाउने कामकुरा गर्ने गरेका हुन्छन् भने खराबहरुले चाहिँ साथीहरुलाई जानाजान फुटाउने–बझाउने काम–कुराहरु गरिरहन्छन् । सैद्धान्तिक र नीतिगत रुपबाट चल्न खोज्नेहरु हुन् अथवा मनपरी तालले चल्ने वा परिपाठ पारेर साखूल्ले मात्र हुन खोज्ने हुन भन्ने कुरामा विचार पुर्याउने गर्यौँ भने सही र गलत साथी छुट्याउन त्यति गाह्रो पर्दैन । तर, छलकपट लिएर होइन, सोझो मनले नै हाम्रो समर्थन गर्नेहरुलाई भने असल साथी सरह नै ठान्नुपर्छ । ‘काममा नसघाउने, कुराले मात्र समर्थन गर्नेहरु’ भनी नाक चेप्य्राउने गर्नु पनि राम्रो होइन । किनभने, त्यस्ताबाट हामीलाई हानि नै के हुन्छ र ? गहिरिएर विचार गरी हेरेमा मौखिक रुपबाट जनाउन गरिएको त्यस्तो समर्थनले पनि समाजमा हाम्रो निम्ति राम्रो आधार बनाउने प्रयत्नमै सघाउ पुर्याउँछ । यो पनि हामीले गर्नुपर्ने कामकै एउटा किसिम हो । यति मात्रै कहाँ हो र ? हामीले देख्तै नदेखेका र नाउँ–ठेगाना आदि केही थाहा नपाएका मानिस पनि हाम्रो विचार र चित्तबुझ्दो कामबाट प्रभावित भई परोक्ष रुपले हाम्रा साथी बन्दै गएका हुन्छन् । हामीबाट गल्ती हुन गयो भने नयाँ साथीहरुको संख्या नथपिने मात्रै होइन, भएका साथीहरुको गन्ती सुद्ध घट्तै जाने हुन्छ ।

आफ्नो व्यक्तिगत रुचि–अरुचि भन्ने कुरालाई वर्ग–हित र राष्ट्रहितको अधीनमा राखेर चल्ने बानी बसाल्न सक्दा मात्र अरुलाई डोर्याउन सक्ने अगुवा तत्व बनिन्छ । आफूलाई नै केन्द्रबिन्दू बनाई विचार गर्ने र काम गर्ने व्यक्तिवादी हुन पुगियो भने आफ्नै वर्गको समेत प्रतिनिधित्व गर्न सकिँदैन, सिङ्गै राष्ट्रको हित–रक्षा गर्ने, अझ मानव जातिकै कल्याण गर्ने कुरा त कता हो कता ।

साथीहरुबाट समर्थन र सहयोग लिन खोज्ने मात्र होइन, उनीहरुलाई पनि सक्दो मात्रामा नैतिक र भौतिक सघाउ समेत दिइरहन पनि जान्नुपर्छ । सामान्यतया समानता र पारस्परिक आदरको व्यवहार नै गर्नुपर्छ तापनि विशेष अवस्थामा यतिले मात्र नपुग्ने हुन्छ । बालख छोराछोरी हुर्काउन आमा–बुबाले नै दुख–कष्ट खेप्नुपरे जस्तै समाजका अगुवा तत्वहरुले अर्थात् बढी बुझेका र समाजलाई अगाडि बढाउने प्रयत्नमा प्रमुख भूमिका खेल्नेहरुले उस्तै अवस्था आइपर्दा आफूले अप्ठ्यारो सहनुपरे पनि साथीलाई भने जोगाइदिने गर्नुपर्छ । लहसिन आउनेहरुप्रति मात्र चासो लिने नगरी आफै अघि सरेर साथी बनाउन खोज्नुपर्छ । प्रतिक्रियावादी शक्ति बढेका बेलामा प्रहारबाट जोगिने अभिप्रायले जनता अस्थायी रुपबाट पछि हट्न खोज्छन् र जनता पछि सरेका बेलामा खास गरी माथिल्लो वर्गका र उद्देश्यमा दरो गरी अड्न नसक्ने साथीहरु घट्तै जान्छन् । जनता जुर्मुराएका बेलामा भने पछि परेका साथीहरु पनि धमाधम बढ्ने हुन्छन् र जनतापट्टि लाग्नेहरु जति सबै एकढिक्को भई प्रतिकृयावादीहरुलाई आच्छु–आच्छु पार्दै आखिरमा तिनको सेखी झारिछाड्छन् ।

(१९८३ मार्च, कृष्ण अर्याल नामबाट ‘अनुभूति’ त्रैमासिकको पूर्णाङ्क १२, २०४२ मा प्रकाशित)

(Visited 179 times, 1 visits today)

टिप्पणी

comments