Main Menu

डायनोसरबारे ५ मिथ्या जुन तपाईं अझै विश्वास गर्नुहुन्छ !

dinosaur-myths

स्टीभन स्पिनबर्गको सन् १९९३ को चर्चित चलचित्र ‘जुरासिक पार्क’ले डायनोसरहरु कस्तो हुन्छन् भन्ने हाम्रो बुझाइलाई धेरै हदसम्म निर्देशित गर्छ ।

डायनोसर भन्नेबित्तिकै हामी विशाल शरीर भएको डरलाग्दो प्राचीन छेपारो सम्झन्छौँ । हलिउडका विभिन्न चलचित्रहरू, विशेष गरी स्टीभन स्पिनबर्गको सन् १९९३ को चर्चित चलचित्र ‘जुरासिक पार्क’ले डायनोसरहरु कस्तो हुन्छन् भन्ने हाम्रो बुझाइलाई धेरै हदसम्म निर्देशित गर्छ । तर डायनोसरका बारेमा हामीले देखे‍-सुनेका सबै ‘तथ्यहरू’ गलत हुनसक्छन् । चलचित्रमा देखेका कुराहरू मात्र नभई पढेका वा मास्टरले भनेका कुराहरू पनि गलत हुनसक्छन् । आज हामी त्यस्तै ५ मिथ्याहरूको बारेमा चर्चा गर्नेछौँ, जुन सम्भवतः आजसम्म पनि तपाईं विश्वास गर्नुहुन्छ ।

१. डायनोसरहरु सिंह र बाघहरुजस्तै गर्जन्थे

डायनोसर गर्जेको आवाज हामी सबैलाई मनपर्छ, अथवा भनौँ हामी सबै डायनोसरको गर्जनबाट तर्सन्छौँ । चर्चित हलिउड चलचित्र जुरासिक पार्कमा डायनोसर गर्जेको आवाज सुन्दा आङ् नै सिरिङ्ग हुन्छ । तर, वास्तवमा डायनोसरहरुको आवाज सम्भवत आधुनिक पंक्षीहरुको जस्तो थियो, सायद हाँसको जस्तो, वा कुखुराको जस्तो, अथवा कुनै जंगली पंक्षीको जस्तो ।

डायनोसरहरु नै आधुनिक पंक्षीहरुको पुर्खा भएको तथ्य पत्ता लागेबाट यी प्राचीन भीमकाय प्राणीहरुले पनि पंक्षीहरुले जस्तै आवाज निकाल्थ्यो भन्ने दावी पनि त्यति निराधार देखिन्न ।

जीवाश्मशास्त्रीहरुले डायनोसरहरुको जीवावशेषमा सिरिङ्क्स नामक अंगको अवशेष भेट्टाएका छन्; सिरिङ्क्स त्यही अंग हो जसको प्रयोग गरेर आधुनिक पंक्षीहरुले चिरचिरचुरचुर आवाज निकाल्छन् । डायनोसरहरु नै आधुनिक पंक्षीहरुको पुर्खा भएको तथ्य पत्ता लागेबाट यी प्राचीन भीमकाय प्राणीहरुले पनि पंक्षीहरुले जस्तै आवाज निकाल्थ्यो भन्ने दावी पनि त्यति निराधार देखिन्न । वास्तवमा भन्नुपर्दा डायनोसरहरुको भीमकाय शरीरका अलावा तिनीहरु गर्जन्थे भन्ने कुराको कुनै प्रमाण पनि छैन । डायनोसरको एउटा मात्र स्वरकण्ठ संरक्षित अवस्थामा छ र त्यसमा गर्जनको लागि आवश्यक अंग ल्यारिङ्क्सको अस्तित्वको कुनै प्रमाण छैन ।

२. भेलोसिराप्टरहरु बुद्धिमान थिए

हामी सर्वसाधारणले डायनोसरको बारेमा जति जाने–सुनेका छौँ, त्यसमध्ये अधिकांश ‘तथ्य’हरु ‘जुरासिक पार्क’बाटै सुनेका हुन्छौँ । र सो चलचित्रमा देखाइएअनुसार भेलोसिराप्टर नामक मांसाहारी डायनोसरहरु निकै बुद्धिमान हुन्छन् । समूहमा शिकार गर्ने, भाषाको विकास भइसकेको जस्ता बुद्धिमान प्राणीका व्यवहारहरु ती डायनोसरहरुले देखाउने चलचित्रमा देखाइन्छ । भेलोसिराप्टभन्दा निकै ठूला मांसाहारी डायनोसरहरु भएकै समयमा पनि सफलतापूर्वक मौलाएका कारण यी डायनोसरहरु बुद्धिमान थिए भनेर आंकलन गर्नु अनौठो होइन । र, अन्य डायनोसरहरुसित तुलना गर्दा भेलोसिराप्टरहरु अवश्यै पनि बुद्धिमान थिए । भेलोसिराप्टरहरु ड्रोमियोसोरडी नामक चलाख डायनोसरहरुको प्रजातिभित्र पर्थे । र, तिनीहरुको शरीरको आकारको लागि मस्तिष्कको आकार ठूलै थियो । तर, चलचित्रमा देखाइएजति बुद्धिमान भने पक्कै थिएन । हुन त प्राचीन प्राणीहरुको त कुरै छोडौँ, कुनै जीवित प्राणीकै आइक्यू मापन गर्न पनि निकै कठिन कार्य हो । तर वैज्ञानिकहरुका अनुसार भेलोसिराप्टरहरु आधुनिक खरायोहरु जति मात्र बुद्धिमान थिए । मतलब, अपुच्छ बाँदर, डल्फिन र हात्तीहरुभन्दा पनि कम बुद्धिमान ।

३. टि–रेक्सका हातहरु कामै लाग्दैनथे

टाइरानोसरस रेक्स (छोट्करीमा टि–रेक्स)हरु सबैभन्दा ‘प्रतिष्ठित’ डायनोसरहरु हुन् । हुन पनि किन नहुन् ? यसका दाँतहरु नै आधुनिक केरा जत्रो हुन्थे, सबैभन्दा ठूलो मांसाहारी प्राणीहरुमध्येको एक थियो । तर यसको सबैभन्दा कमजोर पक्ष थियो यसका दुई ‘काम नलाग्ने’ हातहरु । १२ मिटर लामो हुने भीमकाय टि–रेक्सका हातहरु मात्र एक मिटरका हुन्थे । ती हातहरु न त खानको लागि मुखसम्म पुग्थे, न त लड्यो भने उठ्नको लागि प्रयोग गर्न सकिन्थे । त्यसो भए के काम त ती हातहरुको ? १९९० मा गरिएको एक अध्ययन अनुसार टि–रेक्सका हातहरु साना भए पनि निकै शक्तिशाली थिए । ती हातभित्रका हड्डीहरु हामी मान्छेहरुको हाडभन्दा तीन गुना बाक्ला हुन्थे र १८१ केजीसम्मको भार उठाउन सक्थे । यति बिघ्न शक्तिशाली हातहरु शिकार गर्दा शिकारीलाई भुइँमा ढाल्नको लागि काम लाग्थे । ‘कामै नलाग्ने’ त पक्कै थिएन ।

४. ट्राइसेराटप

यो डायनोसर धेरैको मनपर्ने डायनोसर हो । आधुनिक गैंडा जस्ता देखिने यी डायनोसरहरुको टाउकोमा तीनवटा सिङ् हुन्थे । तर केही वैज्ञानिकहरुका अनुसार ट्राइसेराटपहरु वास्तवमा अस्तित्वमै थिएनन् । यसको मतलब भेट्टिएका जीवाशेषहरु नै गलत थिए भन्ने चाहिँ होइन, बरु ती जीवाशेषहरु डायनोसरको अर्को एक प्रजातिको युवा अवस्थाको जीवाष्म हुनसक्ने वैज्ञानिकहरुको शंका छ । थप जीवाशेषहरु पत्ता लाग्दै जाने क्रममा के कुरा स्पष्ट हुँदै गयो भने ट्राइसेराटपको भनेर मान्दै आइएका पहिला पत्ता लागेका जीवावशेषहरु टोरोसरस नामक अर्को डायनोसरको ‘टीनएज भर्सन’ मात्र हुन् । ट्राइसेराटपको टाउकोमा भएका ३ सिङ्हरुमध्ये एउटा सिङ् उमेरसँगै हराउँदै जाने भएकोले वयस्क टोरोसरसको टाउकोमा २ वटा मात्र सिङ् हुने वैज्ञानिकहरु बताउँछन् । टोरोसरसका युवा अवस्थाका जीवावशेषहरु किन फेला परेनन् भन्ने कुराको यो सिद्धान्तले राम्रो व्याख्या गर्छ ।

५. केही डायनोसरहरु यति विशाल थिए कि तिनीहरु जमिनमा हिँड्नै सक्दैनथे

यो कुनै नौलो तथ्य होइन कि धेरै डायनोसरहरु निकै ठूला थिए, भीमकाय थिए । यीमध्ये पनि सरोपडहरु सबैभन्दा ठूला हुन्थे । सरोपडमा ५० हजारभन्दा बढी तौलको ब्राकियोसरस र ३० मिटर लामो डिप्लोडकस नामक डायनोसरका प्रजातिहरु पर्थे । डायनोसरहरु यति धेरै ठूला हुन्छन् कि केही मानिसहरुले उनीहरुको विशाल शरीर र विशाल तौलकै कारण तिनीहरु जमिनमा हिँड्न सक्दैनथे भन्ने विश्वास गर्छन् । अत्यधित तौलका कारण जमिनमा रहँदा शरीरका अंगहरुले आफ्नै भार थेग्न नसक्ने भएकाले तिनीहरु पानीमा बस्थे भन्ने विश्वास गर्थे । तर वास्तवमा भन्ने हो भने पानीभित्र बस्नु यी प्राणीहरुका लागि झन् खतरनाक साबित हुन्थ्यो किनभने त्यति अग्लो शरीर पानीमा डुबाउनको लागि यति धेरै गहिराइसम्म पुग्नुपर्छ कि त्यति गहिराइमा पानीको चापका कारण तिनीहरुको मुटु नै फुट्थ्यो । त्यति मात्र होइन, वैज्ञानिकहरुले त ती डायनोसरहरुका थुप्रै पाइलाहरु नै पनि जमिनमा फेला पारेका छन् ।

(Visited 1,232 times, 1 visits today)

टिप्पणी

comments