Main Menu

याकोन (Ground Apple) : फल एक फायदा अनेक

डा. अटुल उपाध्याय

याकोन (Samallanthus sonchifolius) दक्षिणी अमेरिकी देश पेरु लगायत इन्डीज पर्वत श्रंखला क्षेत्रमा हजारौ वर्षदेखि पाइने अस्टेरेसी (Asteraceae) परिवारको एक प्रकारको बाह्रै महिना फल्ने बनस्पति हो I करिब २ – २.५ मिटर सम्म उचाई रहने यस बनस्पतिको फल चाहिँ जमिन मुनि फल्ने गुलियो फल हो I स्याउ जस्तै गुलियो तथा लचिलो भएकोले यसको फललाई गैर-दक्षिण अमेरिकीहरुले Ground Apple अर्थात् भुइँ स्याउ पनि भन्ने गर्दछन् I यो बनस्पति विभिन्न जलवायु क्षेत्र, उचाइ र माटोमा पनि उम्रन सक्ने भएकोले हाल आएर दक्षिणी अमेरिकी देशबाहेक इटली, चेक गणतन्त्र, जापान, कोरिया, न्युजिलैंड एवं अमेरिकामा पनि पाइने गरिन्छ I नेपालमा दशकौंदेखि करेशा बारीमा यो बोट रोपिएता पनि, हालसालै मात्र यसको व्यावसायिक खेती सुरु गरिएको देखिएको छ I

ताजा याकोन (भुइँस्याउ)

याकोनमा के तत्व हुन्छ ?

अन्य फलमा जस्तै यकोनमा पनि सबैभन्दा धेरै करिब ७०% पानीको मात्रा हुन्छ I त्यसबाहेक यस फलमा फ्रुक्टोस ओलिगो स्याकराईड (Fructose Oligosachharide, FOS) नामक स्टार्च जस्तै तत्व पाइन्छ I याकोनको औषधीय गुण यसै FOS भन्ने तत्वको कारणले पाइएको हो I अन्य खाद्य पदार्थ जस्तै केरा, प्याज, अन्न आदिमा पनि फोस नगन्य मात्रामा पाइन्छ । 

FOS एक नपच्ने पोली स्याकराईड (Indigestible Polysaccharide) हो, जुन कारणले गर्दा नै याकोन एक फल मात्र नभएर औषधितुल्य बन्न पुगेको हो ।उदाहरणका लागि, भातमा पाइने स्टार्च (Starch) मुख बाट पच्न सुरु हुँदै सानो आन्द्रामा पुगेर सम्पूर्ण रुपमा ग्लुकोज (Glucose) मा परिणत हुन्छ I तर, FOS नपच्ने भएकोले यो सानो आन्द्रा हुँदै ठूलो आन्द्रामा पुगेर आफ्नो कार्य गर्दै औषधीय गुण देखाउन थाल्दछ ।

Fructose Oligosacchride (FOS) को रासायनिक सूत्र

याकोनले स्वस्थ पार्ने अनुकूल असरहरु (फाइदाहरु)

याकोनमा भएको FOS एक प्रकारको खाद्य रेशा (Dietary fiber) हो, जसले स्वास्थ्यमा विभिन्न किसिमका अनुकूल असरहरु गरेको वैज्ञानिक प्रमाणहरुले देखाउँछन् । ती प्रमाणहरु केही जनावरमा र केही मानव शरीरमा गरिएका अध्ययनहरुमा आधारित हुन् । यस लेखले ती प्रमाणहरुको छोटकरीमा चर्चा गर्दै याकोन सेवनबाट हुने फइदाहरुको चर्चा गर्दछ ।

क) मोटोपना

आजको युगमा अत्यधिक मोटोपनले मानव शरीरलाई हानी पुर्याउने कुरा सर्वबिदितै छ । मोटोपनका कारण विभिन्न अन्य रोगहरुबाट संक्रमित हुनसक्ने सम्भावनालाई पनि नकार्न सकिदैन । तसर्थ, मोटोपनासँग जुध्नका लागि मानिसहरुले विभिन्न किसिमका ब्यायाम गर्ने तथा जीवनशैलीमा परिवर्तन ल्याउने कोशिश गरेको पाइन्छ ।
याकोन सेवनले मानव शरीरको मोटोपनालाई उल्लेख्य रुपमा कमी गरेको वैज्ञानिक तत्थ्यांकले देखाएको छ । अर्जेन्टिनामा ३१ – ४९ बर्षका मोटी महिलाहरुमा गरिएको एक अध्ययनले दैनिक रुपमा याकोन सिरप (याकोन झोललाई निश्चित प्रक्रियामा लगी तयार पारिएको महजस्तो बाक्लो तरल वस्तु) को सेवनले केवल ४ महिनामा महिलाहरुको वजन ९१ के.जी. बाट ७६ के.जी. (१६.७%) मा कम भएको पाइएको छ । त्यति मात्र नभएर, सोही अध्ययनमा कम्मरको मोटोपनामा करिब २०% को कमि भएको पाइएको छ । यसका साथै शरीर द्रव्यमान सूचकांक (Body Mass Index, BMI), पनि ३४ बाट २८ मा झरेको पाइएको छ । BMI ले कुनै व्यक्तिको तौल, उचाई अनुपात अनुसारको छ कि छैन भन्ने जानकारी दिन्छ । सामान्यत: नेपालीका लागि, BMI २५ – २९.९ सम्म भएमा अधिक तौल (over weight) र ३० – ३४.९ भएमा मोटोपनाको पहिलो श्रेणी (Obese Class 1) भन्ने चलन छ ।

तौल/लंबाई अनुपात वर्गीकरण
< 18.5 कम तौल
18.5–24.9 सामान्य तौल
25.0–29.9  अधिक तौल
30.0–34.9  श्रेणी-१ मोटोपना
35.0–39.9  श्रेणी-२ मोटोपना
> 40.0  श्रेणी-३ मोटोपना

ख) कब्जियत

FOS खाद्य रेशा (Dietary Fiber) भएकोले, याकोन वा याकोन सिरपको दैनिक सेवनले कब्जियतबाट पनि छुट्कारा पाउँन सकिने प्रमाणहरु वैज्ञानिक अध्ययनले देखाएको छ । चार दिनमा एकचोटी मात्र शौचालय जाने व्यक्तिहरु, दैनिक रुपमा जाने गरेको पाइएको छ (Stool frequency ०.२८ देखि ०.९९ सम्म परिवर्तन भएको पाइएको छ) ।

ग) मधुमेह

याकोन अथवा याकोन सिरपको सेवनले मधुमेहका रोगीहरुका लागि लाभ गरेको पाइएको छ । एक अध्ययन अनुसार मधुमेह ग्रसित मुसामा याकोनको प्रभावले रगतमा भएको ग्लुकोजको मात्रामा गिरावट आएको पाइएको छ । ब्राजिलमा गरिएको एक अन्य अध्ययनमा ६१ – ७३ वर्ष सम्मका पुरुषहरुलाई ९ हप्तासम्म याकोन खुवाउँदा, रगतमा ग्लुकोजको मात्रा उल्लेख्य रुपमा घटेको पाइएको छ ।

घ) पेटको क्यान्सर (Colon Cancer)

याकोनको सेवनले मुसाहरुमा पेटको क्यान्सरबाट समेत छुटकारा पाउन मद्दत गरेको छ । याकोनमा भएको FOS ले ठूलो आन्द्रामा पुगेर त्यहाँ हुने फायदाजनक जीवाणुहरुको सङ्ख्या वृद्धि गर्दछ । विषेश गरेर बाईफिड़ो ब्याक्टेरिया (Bifidobacteria) र ल्याक्टो ब्यासिलस (Lactobacillus) जस्ता दहीमा पाउने जीवाणुहरुको सङ्ख्या वृद्धि गर्न FOS को ठूलो भूमिका हुन्छ । यिनै जीवाणुहरुको मद्दतले मुसाहरु पेटको क्यान्सरजस्ता भयावह रोगसँग लड्न सक्दछन् । यसका साथै, याकोनको सेवनले शरीरमा डी.एन.ए. (DNA) को क्षति हुने समस्यालाई पनि रोक्दछ, जसको कारणले क्यान्सर लाग्ने सम्भावनामा निकै कमि हुन आउँछ ।

ङ) एन्टी-अक्सिडेन्ट गुण

शरीरमा भएको दूषित पदार्थ (Toxic substances) का कारणले मानव स्वास्थ्यमा निकै प्रतिकूल असर पार्ने हुँदा, त्यस्ता पदार्थलाई सकेसम्म शरीरबाट निष्कासित गर्नुपर्दछ । ती दूषित पदार्थहरु शरीरमा विभिन्न माध्यमबाट प्रवेश गर्दछन् । बिशेष गरेर दूषित खाना, दूषित हावापानी, सूर्तिजन्य पदार्थ, मदिरा आदिबाट यस्ता पदार्थहरु शरीरमा प्रवेश गर्दछन् । याकोनमा भएका रासायनिक तत्व (phytochemicals) हरुले यस्ता दूषित पदार्थहरुलाई शरीरबाट बाहिर निकाल्नमा मद्दत गर्दछन् । यस लेखकको अनुसन्धान समूहले नेपालमा गरेको एक अध्ययन अनुसार याकोनको पात तथा फलमा बजारमा पाइने हरित चिया (Green tea) माभन्दा पनि धेरै मात्रामा एन्टी-अक्सिडेन्ट रासायनिक तत्व भएको तथ्य पत्तालगाएको छ ।

च) पूर्व-जैविक (pre-biotic) गुण

याकोनमा भएका रासायनिक तत्वहरुले शरीरलाई चाहिने फाइदाजनक जीवाणुहरुको वृद्धिमा मद्दत गर्दछ । बाईफिड़ो ब्याक्टेरिया (Bifidobacteria) र ल्याक्टो ब्यासिलस (Lactobacillus) जस्ता जीवाणुहरुले ठूलो आन्द्रामा केही क्रिया गरेर म्याग्नेसियम (Magnesium) र जिन्क (zinc) जस्ता धातुहरुलाई शरीरमा राखी राख्न ठूलो भूमिका खेल्दछन् । म्याग्नेसियमले शरीरमा उच्च रक्तचाप (Hypertension, high blood pressure) तथा मधुमेहलाई नियन्त्रण गर्न मद्दत गर्दछ भने जिन्कले पखाला नियन्त्रण तथा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्न सहयोग गर्दछ ।

छ) पुरुष हर्मोन टेस्टेस्टोरन (Testerone) को वृद्धि

याकोनको सेवनले पुरुष हर्मोन टेस्टेस्टोरनमा वृद्धि गर्न सक्ने क्षमता भएको पाइएको छ । कोरिया गणतन्त्रमा गरिएको एक अध्ययन अनुसार याकोनको सेवनले सुंगुरहरुको रगतमा टेस्टेस्टोरन हर्मोनको मात्रा तथा विर्य संख्यामा निकै वृद्धि गरेको देखाइएको छ । यस अध्ययनले पुरुषमा भएको बंझोपनालाई समेत निर्मूल पार्न मद्दत गर्दछ भन्ने कुरा सो अध्ययनको निष्कर्ष रहेको छ ।

ज) रगतमा भएको चिल्लो पदार्थमा कमि

याकोनमा भएको FOS ले रगतमा खाद्यबस्तुलाई ऊर्जामा बदल्ने रासायनिक प्रतिक्रिया मेटाबोलिज्म (Metabolism) को गतिलाई तीब्र बनाइदिन्छ । यसले शरीर सुतेको अवस्थामा पनि मेटाबोलिक प्रक्रिया (Metabolic Process) लाई चालु राख्दछ । अर्थात्, यसको सेवनले आराम गरेको अवस्थाको मेटाबोलिक दर (Resting Metabolic Rate, RMR) पनि उच्च बन्न पुग्दछ । यही कारणले याकोनको सेवनले मांसपेशी तथा रगतमा जम्मा भएको बोसो वा चिल्लो पदार्थको मात्रालाई न्यूनीकरण गर्न मद्दत मिल्दछ । परिणामत: यसको सेवनले मोटोपन उल्लेखनीय रुपमा घटना पुग्दछ । शरीरभित्र रगत तथा रक्तबाहिनी नलीका भित्ताहरुमा जम्मा भएर बसेको एवं चिल्लोलाई समेत ऊर्जामा बदलिदिने भएकोले याकोनको सेवनले हृदयघात तथा मष्तिस्कघातको सम्भावनालाई समेत न्यूनीकरण गरिदिन्छ ।

४. याकोन र ग्लाइसेमिक इन्डेक्स (Glycemic Index)

कुनै पनि कार्बोहाइड्रेट (Carbohydrate) युक्त खाना (जस्तै भात, फलफुल, चिनी, मह, आदि) खाएपछि, शरीरको पाचन प्रणालीद्वारा रगतमा गएर ग्लुकोजमा परिणत हुन्छ र त्यसबाट शक्ति (energy) प्राप्त हुन्छ । कुनै कार्बोहाइड्रेट (जस्तै साधारण भात) छिट्टै पचेर रगतमा छिट्टै ग्लुकोजमा परिणत हुन्छ भने कुनै कार्बोहाइड्रेट (जस्तै उसिना चामल को भात) ढिलो पच्दछ र ढिलो ग्लुकोजमा परिणत हुन्छ । त्यसैले पनि मधुमेह लागेका बिरामीहरुले उसिना चामलको भात खाँदा उचित हुन्छ भनेर भन्ने गरिन्छ । साधारण भाषामा, कार्बोहाइड्रेटबाट जुन गतिमा ग्लुकोज बन्दछ, त्यो गतिलाई नै ग्लाइसेमिक इन्डेक्स भन्न सकिन्छ । छिट्टै पच्ने खाद्यपदार्थको ग्लाइसेमिक इन्डेक्स धेरै हुन्छ र ढिलो पच्ने को थोरै हुन्छ । उदाहरणका लागि, उसिनेको चामलको भातको ग्लाइसेमिक इन्डेक्स ३८ हुन्छ भने साधारण चामलको भातको ८९ हुन्छ । तर, याकोनको ग्लाइसेमिक इन्डेक्स केवल १ हुने हुनाले यसलाई मधुमेहका रोगीहरुले गुलियोको स्वाद लिँदै खानामा प्रयोग गर्न सक्छन् । त्येसैले विज्ञहरुले याकोनलाई गुलियो छ तर चिनी होइन पनि भन्ने गरेका छन् । हामीले प्रयोग गर्ने केही खाद्यपदार्थको ग्लाइसेमिक इन्डेक्स तलको तालिकामा दिइएको छ ।

खाद्य पदार्थ ग्लाइसेमिक इन्डेक्स
उसिनेको चामल ३८
आटाको पाउरोटी ७२
उखुको रस ४३
सेतो चिनी ८०
मह ५०
उसिनेको सेतो आलु ८२
पेय पदार्थ (soft drink) ५९
सेतो चामल ८९
चिनी

याकोन सिरप

६२


 नेपालमा याकोनको व्यावसायिक उत्पादन

नेपालमा याकोनको व्यावसायिक उत्पादन सुरु भएको केही वर्ष मात्र भएको छ । यस बहुउद्देश्यीय फलको माग विदेशी बजारमा उच्च भएकोले यस फलको व्यवसायिक खेतीको लागि ठूलो संख्यामा कृषकहरुलाई आकर्षित गरिरहेको छ । हालसालै मात्र नेपालमा याकोन फलसँग सम्बन्धित कृषि उद्योगको स्थापना भएको छ । नेपाले नाम गरेको कीर्तिपुरस्थित याकोन प्रशोधन उद्योगले याकोन सिरप बनाएर नेपाली बजारमा पहिलो चोटी भित्र्याउने प्रयास गरेको छ । हालांकि यस फलको उपादेयताको जानकारी आम नागरिकलाई निकै कम भएकोले सो याकोन सिरपको बजारीकरणमा निकै चुनौती भएको सो उद्योगका व्यवस्थापकहरु भन्दछन् ।

अन्तराष्ट्रिय नियमन तथा सेवन गर्ने तरिका

संयुक्त राज्य अमेरिकाको स्वास्थ एवं मानव सेवा विभाग (फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन, FDA) ले यस फल तथा फलबाट प्रशोधित सिरपलाई सामान्य हिसाबमा सुरक्षित (Generally Recognized As Safe, GRAS) पहिचान गरेको छ । नेपालमा भने खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागबाट यकोन सिरपको गुणस्तर परीक्षण गराई उद्योगले अनुज्ञापत्र प्राप्त गरिसकेको अवस्था छ । प्रयोग अनुभव अनुसार याकोन सिरपको सेवन दैनिक २० – २५ ग्राम प्रतिदिन (४ – ५ चिया चम्चा प्रतिदिन) गर्दा यसले स्वास्थ्य मा अनुकूल असर गर्ने गरेको पाइएको छ । तर, एकै चोटी निश्चित मात्राभन्दा बढी सेवन गर्नाले कसैकसैलाई पखाला लाग्ने तथा पेट फुल्न सक्ने पनि हुने गर्दछ ।

निष्कर्ष

याकोन फल वा सोबाट प्रशोधित खाद्यपदार्थ जस्तै याकोन सिरप स्वास्थ्यको लागि एकदमै फाइदाजनक रहेको कुरा सपष्ट छ । यो फल एक भए पनि यसका फाइदाहरु अनेक रहेको विभिन्न वैज्ञानिक अनुसन्धान तथा अन्वेषणबाट जानकारी हुन्छ । विशेष गरेर मधुमेह तथा उच्च रक्तचापबाट पीडित रोगीहरुका लागि यो फल वा याकोन सिरप निकै उपयुक्त देखिन्छ । यस फलको माग बिदेशी बजारमा पनि उच्च रहेकोले यसको व्यवसायिक खेतीमा पनि जोड दिनुपर्ने आवश्यकता देखिएको छ र यसमा नेपाल सरकार तथा सरोकारवाला संघ संस्थाहरुको भूमिका महत्वपुर्ण हुन जान्छ । अन्त्यमा, स्वास्थ्यप्रति सचेत आम नागरिकले पनि यस फल वा स्वस्थ र स्वच्छ तरिकाबाट प्रशोधित यसको सिरपको सेवन गर्नाले आफू मात्र नभएर समाज पनि स्वस्थ बन्न मद्दत पुग्दछ भन्ने कुरा बुझ्न आवश्यक छ । रोगको रोकथाम नै रोगको ईलाज भन्दा उत्तम हो (Prevention is better than cure) ।

 

(लेखक बिगत १० वर्षदेखि नेपाली तथा बिदेशी जडिबुटीमा अध्ययन तथा अनुसन्धानरत हुन्।)
atul616@yahoo.com

(Visited 939 times, 1 visits today)

टिप्पणी

comments