Main Menu

नारीको सम्मान र मर्यादाले मात्र सभ्य समाज

वैशाख १२, बर्दिवास

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा प्रबुद्ध बुद्धिजीवी र नागरिक समाजका अगुवाले नारीको सम्मान र मर्यादाले मात्र सभ्य समाजको कल्पना गर्न सकिने बताएका छन् ।

मैथिली दिवस पनि भनिने जानकी नवमी पर्वका अवसरमा मंगलबार नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सभाहलमा सम्पन्न कार्यक्रममा यहाँका बुद्धिजीवी र नागरिक समाजका अगुवाले मधेशको अपेक्षित विकास हुन नसक्नुमा परिवार र समाजमा नारीको उच्च र मर्यादितस्थान हुन नसक्नुलाई औँल्याएका हुन् ।

मिथिला सांस्कृतिक विकास केन्द्र, महोत्तरीको आयोजनामा सम्पन्न ‘मैथिली दिवस समारोह’ मा वक्ताले अबको समाज खुला र सुसभ्य देखिनु पर्नेमा बालविवाह, बहुविवाह, अनमेल विवाह, बोक्सी र दाइजोका नाउमा महिला (नारी) प्रताडित भइरहने स्थितिले अझ कुरुप र क्रुर देखिएको औँल्याएका छन् ।

“हाम्रा पौराणिक गाथामा जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता रमाउँछन् भनिएको छ”, वरिष्ठ अधिवक्ता गुणबहादुर राउतले दिक्क हुँदै भने, “तर, हाम्रो समाजमा दिनहुँ महिला प्रताडित भइरहेका मुद्दा हामी लडिरहेका छौँ, यसले हामीलाई कहाँ पु¥याउला ?” वरिष्ठ अधिवक्ता राउतको प्रश्न थियो ।

समारोहमा प्रेस स्वतन्त्रता सेनानी कुँवरकान्त झा, पूर्वसांसद वसन्तीदेवी झा, जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंह, जिल्लाका प्रबुद्ध बुद्धिजीवी राजकिशोर झा र राजेश्वर ठाकुरसहितका वक्ताले आफ्नो कुरुप र असभ्य अनुहार लुकाउन मात्र अचेल सीता, गार्गी, अनसुया, अरुन्धति र माण्डवीजस्ता विदुषीका नाम चर्चामा ल्याइने गरिएको कडा टिप्पणी गरेका थिए ।

“हामी नयाँ सन्देश र नयाँ संकल्पका लागि कार्यक्रममा हुँदैनौँ”, जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सिंहले भने, “परम्परा थेग्न आयोजना गरिने कार्यक्रमले समाज अगाडि बढाउने आशा गर्न सकिँदैन ।” अहिलेको अवस्थाको जस्ताको तस्तै चित्र उतार्ने हो भने मिथिलामा अहिले पौराणिक र ऐतिहासिक पात्रको वर्णन गरेर ब्याज खाने चलन बसेको वक्ताको टिप्पणी थियो ।

कार्यक्रममा बाल कवयत्री आकृति झा र साक्षी झाले गौरवपूर्ण मिथिलाको अतितबाट शिक्षा लिनु पर्ने सन्देश समेटिएको मैथिली भाषामा रचित कविता वाचन गरेका थिए । त्यसैगरी राजकिशोर सिंह, पूजा सिंह र कुमरनाथ झासहितका मैथिला कलाकारले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रम मिथिला सांस्कृतिक विकास केन्द्रका अध्यक्ष प्राध्यापक ताराकान्त झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

(Visited 357 times, 1 visits today)

टिप्पणी

comments