Main Menu

‘पहिचानको नाममा आन्दोलन गर्ने, अनि हिन्दी भाषामा सम्बोधन गर्ने ?’

महेन्द्रनगर, धनुषा

hindi-language-dispute-province-2

प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेपछि भएको विवाद चर्किंदै गएको छ ।

बैठकमा हिन्दी भाषामा सम्बोधन गरेको विरोधमा मंगलबार साँझ जनकपुरको जानकी चोकमा ‘परिवर्तनका लागि युवा अभियान’का अध्यक्ष बिट्टु पञ्जियारको अध्यक्षता र रोशन यादवको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका प्रदेशसभा सांसदहरूको पुत्ला जलाइएको छ ।

संसद्मा मातृभाषामा शुभकामना मन्तव्य नदिई हिन्दी भाषालाई प्राथमिकता दिएको विरोधमा पुत्ला जलाएको युवाहरूले बताएका छन् । युवाले केहीबेर नाराजुलुस गर्दै ‘मातृभाषाको प्रयोग र अन्तर्राष्ट्रिय भाषाको सम्मान गर’ भन्ने नारासमेत लगाएका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहीबेर तनावसमेत उत्पन्न भएको थियो ।

मातृभाषालाई भुलेर हिन्दीलाई प्राथमिकता दिएपछि आफ्नो भाषा संरक्षणका लागि विरोध गर्न बाध्य भएको अभियानका संयोजक सुशील कर्णले बताए ।

“प्रदेश नम्बर २ मा मैथिली, भोजपुरी, बज्जिका लगायतका भाषालाई प्राथमिकता दिनु पर्दछ र यी भाषाहरूलाई नै सरकारी कामकाजी भाषा बनाउनुपर्छ,” अभियानका संयोजक कर्णले भने ।

कर्णका अनुसार पहिचानको नाममा आन्दोलन गर्ने अनि मातृभाषा जस्तो आत्मीय पहिचानलाई बिर्सिने दलहरुलाई खबरदारी गर्न पुत्ला जलाइएको हो । कर्णले प्रदेश २ मा बोलिने मैथिली, भोजपूरी, बज्जिका, थारू सहितका मातृभाषामा मात्र बोल्न प्रदेशसभा सदस्यहरुसँग आग्रह गरे ।

‘परिवर्तनका लागि युवा अभियान’का बिट्टु पंजियारले भने, “मातृभाषाको अपमान तथा बाहिरी भाषाको सम्मान हामी सहन गर्न सक्दैनौँ, हामी आन्दोलनमा उत्रन्छौँ ।”

गत आइतबार सम्पन्न प्रदेश २ को पहिलो बैठकमा संघीय समाजवादी फोरमका लालबाबु राउत र राष्ट्रिय जनता पार्टीका जीतेन्द्र सोनलले हिन्दीमा सम्बोधन गरेका थिए भने भने नेपाली काँग्रेसका रामसरोज यादव, एमालेका सत्यनारायण मण्डल र शत्रुघ्न महतो तथा माओवादी केन्द्रका भरत साहले मैथिलीमा सम्बोधन गरेका थिए ।

मातृभाषासम्बन्धी विवाद यसअघि सम्पन्न प्रदेशसभा सदस्यहरुको शपथग्रहणमा समेत देखिएको थियो । शपथग्रहणमा ४७ ले मैथिली, २५ ले भोजपुरी, २४ ले नेपाली तथा ११ जना सदस्यले हिन्दीमा शपथग्रहण गरेका थिए । हिन्दीमा शपथ लिने सम्पूर्ण प्रदेशसभा सदस्य राजपाका थिए ।

(Visited 246 times, 1 visits today)

टिप्पणी

comments