Main Menu

पहिचान संरक्षण गर्नेलाई भोट–राना थारु

rana-tharu-identity-local-electionजेष्ठ २६, भीमदत्तनगर । दशकौँदेखि कञ्चनपुर र कैलाली जिल्लामा मात्रै बसोवास गर्दै आइरहेका राना थारु समुदायका मतदाताले आफ्नो कला, संस्कृति र पहिचान संरक्षण गर्ने उम्मेदवारलाई मात्र मत दिने बताएका छन् ।

समाजमा राना थारु समुदायको छुट्टै पहिचान रहेको बताउँदै उनीहरुले थारु संस्कृति संरक्षणका लागि कञ्चनपुरमा थारु सङ्ग्राहालय समेत स्थापना गर्नुपर्ने माग अघि सारेका छन् ।

‘‘हरेक पार्टीका उम्मेदवारले गाउँमा विकासको कामलाई बढी प्राथमिकता दिने भन्दै मत मागिरहेका छन् ।’’ कञ्चनपुरको बेलौरी नगरपालिका– २ गोकुलपुरका वासुदेव रानाले भने–“पहिचान संरक्षण र थारु समुदायको शिक्षामा पहुँच बढाउनेलाई भोट दिन्छौँ ।”

स्नातक तह पूरा गरेर गाउँकै लक्ष्मी मा.वि.मा लेखापालका रुपमा कार्यरत् रानाले थारु समुदाय शिक्षाबाट टाढा रहेकै कारण पछि परेको बताए ।

“उच्च शिक्षा नपुग्दै स्कुल छाडेर भारत मजदुर गर्न जाने राना युवाको क्रम बढ्दै गइरहको छ ।” उनी भन्छन्, “शैक्षिक चेतना वृद्धि गर्नु हाम्रो समुदायका लागि अतिआवश्यक विषय बनेको छ ।”

परिवारको आर्थिक अवस्थाका कारण धेरैजसो राना थारु विद्यार्थी मा.वि. स्तरमै पढाइ छाड्ने गरेकाले पनि उच्च शिक्षा पाउन नसकेकाले स्थानीय तहको निर्वाचनपछि राना थारुका लागि विशेष आरक्षणको व्यवस्था गरिनुपर्नेमा लेखापाल रानाले जोड दिए ।

त्यसैगरी गोकुलपुरकै ७० वर्षीय दुलारा रानाले गाउँमा सडकको प्रमुख समस्या रहेको बताउँदै घरदैलोमा आउने नेतालाई सडक बनाइदिन माग गरेको जानकारी दिए ।

“वर्षामा त सडकको अवस्था निकै विजोग हुन्छ ।” दुलारा भन्छन्, “हाम्रो चाहना बुझ्नेलाई मात्र भोट दिन्छौँ ।”

“चुनावका बेला घरदैलोमा आउँदा गर्न सकिँदैन त केही पनि भन्दैनन् ।” रामराज राना भन्छन्, “तर गाउँको विकासका लागि अझैसम्म दरिलो पहल भएको छैन ।

‘‘अन्य समुदायको उम्मेदवार बनाउँदा समावेशीतालाई ख्याल गर्ने हामीलाई वडा सदस्यमा पनि टिकट दिन समस्या ठान्नेलाई भोट दिन्नौँ । थारु बाहुल्य नगर र गाउँपालिकामा राना थारु समुदायलाई नेतृत्व गर्ने अवसर दिए मात्रै हाम्रो समुदायलाई न्याय हुनेछ ।’’

राना थारु समुदायका नागरिक आस्थाले विभिन्न राजनीतिक दलसित आवद्ध रहेपनि समुदायको हित र अधिकार प्राप्तिका निम्ती एक ठाउँमा उभिने उनको भनाइ थियो ।

(Visited 513 times, 1 visits today)

टिप्पणी

comments