Main Menu

राजपा निर्वाचनमा सहभागी हुन तयार छ : राजपा संयोजक ठाकुर

पर्साको बहुदरामाई गाँउपालिकामा शनिबार राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) पर्साले आयोजना गरेको पार्टी प्रवेश तथा विरोध सभालाई सम्बोधन गर्दै राजपा नेपाल अध्यक्ष महन्थ ठाकुर । तस्बिर : विजय कुमार महता, रासस, पर्सा

असार ३१, पर्सा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताएका छन् ।

उनले संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।

राजपा, पर्साले आज पर्साको बहुदरामाई गाउँपालिकाको विश्रामपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक ठाकुरले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई उपचार खर्च र मुद्दा फिर्ता सरकारले गरे निर्वाचनमा सहभागी हुने वातावरण बन्ने धारणा व्यक्त गरे ।

उनले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ नपुगेको अवस्थामा सरकारको निर्णयबाट हुन सक्ने कार्यलाई पूरा गरे राजपा स्थानीय तहको निर्वाचनमा सहभागी हुनसक्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले तराईमा स्वास्थ्य र शिक्षामा सरकारले लगानी कम गरेका कारण मधेसी पछि पर्दै गएको आरोप लगाए । उनले शक्तिका रुपमा रहेको स्वास्थ्य र शिक्षामा जनसंख्याका आधारमा सरकारले लगानी नगरेका कारण मधेसी पछि पर्दै गएको दाबी गरे ।

राजपा पर्साका संयोजक पुरुषोत्तमलाल झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका प्रवक्ता एवम् प्रभावशाली नेता विमल श्रीवास्तव, नेजामुदिन समानी, शशिकपुर मियाँलगायतले यथास्थितिमा स्थानीय तह निर्वाचनमा सहभागी नहुने प्रस्ट पारेका थिए ।

विभिन्न पार्टी परित्याग गरी राजपा नेपालमा प्रवेश गरेकाहरुलाई संयोजक ठाकुरले फूलमाला र टीका लगाई स्वागत गरेका थिए ।

रासस

(Visited 225 times, 1 visits today)

टिप्पणी

comments