Main Menu

विज्ञान

अन्धविश्वास चिर्न वैज्ञानिक संस्कार

डा. दिनेश भुजु

नेपाली समाज अझ पनि किंवदन्तीबाट मुक्त हुनसकेको छैन । वैज्ञानिक समुदाय, विज्ञान अध्यापन हुने विद्यालयहरु र विश्वविद्यालय लगायतका प्राज्ञिक संस्थाको सर्वोपरी जिम्मेवारी यही रहनेछ कि तिनले वैज्ञानिक संस्कारको उज्यालो छरुन्, न कि मौनता साँधेर अन्धविश्वासलाई प्रश्रय दिइरहुन् ।

विज्ञान आर्थिक समृद्धिको इञ्जिन हो । आफ्नो परिवेश र प्रकृतिको गहन अवलोकनबाट विज्ञानका सिद्धान्त तयार हुन्छन्, ती सिद्धान्त व्यावहारिक प्रयोगमा आउँदा प्रविधि बन्दछन्, प्रविधिको प्रयोग आर्थिक विकासको सोपान बन्दछ । योभन्दा बढी विज्ञानको योगदान सामाजिक रूपान्तरणमा छ । जीव विकासको सिद्धान्त चार्ल्स डार्विन, (सन् १८५९) ले हजारों वर्षदेखि एकाधिकार जमाएको सृष्टिवादलाई पाखा लगाइदियो र मानिसलाई उसको पुर्खा चिनाइदियो । वैज्ञानिक चिन्तनले जेलिएका प्राकृतिक नियमहरूको गाँठो फुकाउँछ। उसले अन्धविश्वासको रूपमा रहेका मान्यताहरूलाई च्यातिदिन्छ। नेपालको स्कूल पाठ्यक्रममा विज्ञान विषयले कक्षा १ देखि नै प्रवेश पाएको छ, तर अवैज्ञानिक मान्यताहरू भनेझैं हट्न सकेका छैनन् ।

वेलाबखत सुन्छौं, भक्तपुरको बिस्केट जात्रामा लिङ्गो भाँचियो, साह्रै अशुभ भयो । पाटनमा मत्स्येन्द्रनाथको रथ भाँचियो, केही नराम्रो अवश्य हुन्छ, यस्तै यस्तै । केही समय अघि पसिनाले भिजेको दोलखा भीमसेनलाई शान्त पार्न कालो बोको चढाइएको र जमीन भासिंदा पोखराको अर्मलामा नागपूजा गरिएको खबर सञ्चारमाध्यममा आए । देशका ठूलाबडाहरू सोही कार्य सम्पादन गर्न भेटी चढाउँदै पूजा अर्चनामा सरिक भए र राज्यको टुकुटीबाटै नियम पुर्याएर बोको खरीद गरी निकासा गरे । नेपाली समाज यसरी वेलावेला अन्धविश्वासको प्रतिनिधित्व गर्दै किंवदन्तीको मुलुक बन्दछ। त्यतिखेर, हाम्रो विज्ञान कहाँ हराउँछ ?

जाडोको समयमा तपाई बिहान बस वा माइक्रोबसको यात्रामा निस्कनुहोस्, बसभित्रको गुम्स्याइसंगै सिसाका झ्यालहरू धमिलो भएर भिजेका हुन्छन्। थोरै घाम लाग्नुपर्दछ त्यही सिसामा त्यही वाफको पानी रसाएको तपाई देख्नुहुन्छ । बसका कर्मचारीले सिसा पुछदै गाडी अगाडि बढाउँछन्। वैज्ञानिक व्याख्या थाहै नहुँदा पनि जाडोयाममा हुने यो सामान्य घटना र सिसाको व्यहोराबाट कोही पनि आत्तिदैन। पहिलोपल्ट अनुभव गर्ने बालकलाई भने त्यो जिज्ञासाको विषय बन्न सक्दछ। तर, उसलाई पनि दोलखा भीमसेनमा जस्तै बसको सिसामा पसिना आएछ भनी तर्साइदिएको खण्डमा त्यो जीवनभरि व्यहोरिने अन्धविश्वासमा बदलिन सक्दछ।

दोलखा भीमसेनलाई शान्त पार्न कालो बोको चढाइएको र जमीन भासिंदा पोखराको अर्मलामा नागपूजा गरिएको खबर सञ्चारमाध्यममा आए । देशका ठूलाबडाहरू सोही कार्य सम्पादन गर्न भेटी चढाउँदै पूजा अर्चनामा सरिक भए र राज्यको टुकुटीबाटै नियम पुर्याएर बोको खरीद गरी निकासा गरे । नेपाली समाज यसरी वेलावेला अन्धविश्वासको प्रतिनिधित्व गर्दै किंवदन्तीको मुलुक बन्दछ। त्यतिखेर, हाम्रो विज्ञान कहाँ हराउँछ ?

काठमाडौंदेखि करीब १३५ किमी पूर्वमा रहेको दोलखा बजार पुरानो पहाडी बस्ती हो र भीमेश्वरलाई बजारकै सबभन्दा पुरानो मन्दिर मानिन्छ । महाभारतको कथाका पाण्डव दाजुभाइमध्येका माहिला भीमसेनको मूर्तिलाई व्यापारीहरू व्यवसायमा नाफा होस् भनेर पूजा गर्दछन्। दोलखा भीमसेनको मूर्ति कालो प्रस्तरबाट बनेको छ, कहिलेकाहीँ त्यो भिज्दोरहेछ र त्यसैलाई मानिसहरू पसिना आएको भन्दा रहेछन्। यसरी पसिना आउँदा पुजारीले कुनै अनिष्ट नहोस् भन्दै घण्टा बजाई भक्तजनहरूलाई जानकारी गराउने चलन रहेछ। हाम्रा सञ्चारमाध्यमहरूले त्यो खबरलाई जस्ताको तस्तै सम्प्रेषण गर्दछन्। अनि मानिसमा त्यस्तो किन भयो भन्ने जिज्ञासा भन्दा त्यो अनिष्टको सूचक हो भन्ने भयले बास जमाउँछ, अनि कारणपट्टि भन्दा भयको निराकरणमा ऊ जुट्दछ।

सन् १९९५ सेप्टेम्बर २१ का दिन एउटा समाचारले बेस्सरी प्रचारप्रसार पायो। समाचार थियो गणेशजीले दूध खाएको। पहिलो घटना नयाँदिल्लीको दक्षिणमा अवस्थित मन्दिरमा श्रद्धालुहरूले गणेशको मूर्तिमा दूध चढाउँदा त्यो बिलाएर गएछ अर्थात् गणेशले त्यो दूध पिएछन् । झिसमिसेतिर भएको त्यो घटनाले दिउँसो हुँदा नहुँदासम्म देशभरि चर्चा पाएछ र भारतबाहिर बेलायत, क्यानडा यूएई र नेपालसमेतका हिन्दू मन्दिरहरूमा मानिसको ताँती लाग्यो। दिल्लीमा मात्रै दूधको बिक्री ३० प्रतिशतले वृद्धि भएछ। घटनाको वास्तविकता पत्ता लगाउन भारतको विज्ञान मन्त्रालयबाट तत्काल एउटा टोली गठन भयो र वैज्ञानिकहरूले त्यसलाई ‘क्यापिलरी एक्सन’ भनेर व्याख्या गर्दै मूर्तिले दूध खान नसक्ने बताए। बुझ्न सजिलोको लागि यसरी व्याख्या गरेँ, तपाई हातमा एक टुक्रा मसिनो धागो समात्नोस् र त्यसको अर्को छेउलाई गिलासको पानीमा डुबाइदिनोस्। गिलासको पानी विस्तारै धागोमा चढ्न थाल्छ, त्यसनिम्ति त्यसलाई कुनै दैवी शक्ति चाहिँदैन। नेपालका पनि नास्टका वरिष्ठ वैज्ञानिक डा. रमेशमान सिंहको टोलीले यस्तै व्याख्या गरी आमजनताको जिज्ञासा मेटाइदिएको थियो। त्यस उप्रान्त पनि गणेशको मूर्तिले दूध निलेको कुरा कमसेकम दुईपल्ट (सन् २००६ र सन् २०१० मा) प्रचारमा आए तर पहिलेजस्तो तिनले व्यापकता पाउन सकेनन्।

यसैबीच नेपालमा अर्को एउटा आपत् आइपरेको छ। पोखरा शहरभन्दा डेढ किलोमिटर टाढाको अर्मलाको ठूलीबेसी फाँटमा पहिले धाँजा फाट्न थालेछ र पछि जमीन भासिँदै त्यहाँ ठूल्ठूला खाडल बने। अहिले त्यहाँ साना ठूला गरी ४० वटा जति भ्वाङ भएको र ती ५ मिटरसम्म गहिराइका भएको बताइन्छ। जमीन भासिएबाट आसपासका घर-परिवारहरू प्रभावित भएका छन्। कोही कोही त सरेर अन्यत्र पनि गइसके। यसरी जमीन भासिएर बनेको खाडललाई अंग्रेजीमा ‘सिन्कहोल’ भनिन्छ। ‘सिन्क-होल’ को समस्या संसारका धेरै देशमा छ।

चीनको चोङछिङमा रहेको शियाआचाइ सम्भवतः संसारकै सबभन्दा गहिरो खाडल हुनुपर्दछ जसको गहिराइ ६६२ मिटर छ। चीनकै बासी प्रान्तको दासिबेइ खाडलको गहिराइ पनि ६१६ मिटर छ। क्षेत्रफलको हिसाबले इजिप्टको काटारा खाडल । निकै ठूलो छ, जसको लम्बाइ ८० किमी र चौडाइ १२० किमी छ। वैज्ञानिकहरूका अनुसार पानीको सतहभन्दा ठीक मुनिको भागलाई चर्को हावाले छियाछिया पार्टी काटारामा त्यस्तो खाडल बन्न पुगेको हो। मेक्सिकोमा पनि जमीन भासिएर थुप्रै खाडल बनेका छन् । संयुक्त राज्य अमेरिकामा त्यहाँको झण्डै २० प्रतिशत भूभागमा खाडल उत्पत्ति हुनसक्ने अनुमान गरिएको छ । खाडलका हिसाबले फ्लोरिडा त्यहाँको सबभन्दा जोखिममा परेको राज्य हो । यस्ता धेरैजसो खाडल जमीनमुनि रहेको चुनडुङ्गा वा यस्तै प्रकारको चट्टानलाई अम्लीय वर्षाले गलाइदिंदा जमीन माथिको बोझलाई थाम्न नसकी बन्ने हुन्। सन् २०१० मा ग्वाटेमालामा भासिएको खाडलका कारण भने अनौठो थियो। अगाथा भनिने ठूलो आंधी पसेर ग्वाटेमाला शहरको ढल फुटेको रहेछ । फुटेको ढलबाट फोहोराजस्तो निस्केको पानीले जमीनमुनिको माटोलाई बगाइदिंदा जमीनभित्र खाल्डो बनेछ । त्यसैमाथि बनेका ठूल्ठूला भवनहरूको बोझले त्यो नराम्रोसित भासिन पुगेछ।

पोखरा उपत्यकाको भूबनोटबारे त्यति धेरै अनुसन्धान र गहकिला सुझावहरू भएर पनि त्यहाँको बस्ती विस्तार र विकास निर्माणमा किन हाम्रो ध्यान पुग्न सकेन? हाम्रो बेवास्ता र असक्षमता माथिका यी प्रश्न त छँदैछन्, तर अर्को उदेकलाग्दो कुरा समस्या समाधानमा वैज्ञानिक उपायतिर नलागी स्थानीयवासीहरू नागपूजा र होममा जुटे।

पोखराको हकमा अर्मलाको जमीनमा देखापरेका खाडलबारे वैज्ञानिकहरूले तीनवटा कारण प्रस्तुत गरेका छन्, क) खुकुलो र कमेरो मिसिएको माटो हुनु, ख) निकास नपाएको लगातारको पानीले माटो बगाउनु, र ग) कमजोर ग्राभेलयुक्त जमीनमाथि बनेका अग्ला घरहरूको बोझ पर्छ। पोखरा उपत्यकामा बस्ती विस्तार गर्न र हवाई मैदानलगायतका आधारशिलाहरू निर्माण गर्न त्यहाँको विकासका भूबनोटको अत्यन्तै ख्याल राखिनुपर्ने कुरा हो। डा. हर्क गुरुङले सन् १९६५ मा एडिन्बरा विश्वविद्यालयमा पेश गरेको विद्यावारिधिको शोधपत्र (थेसिस) पोखरा उपत्यकाको भूबनावट सम्बन्धी थियो। उनीभन्दा अघिल्ला अनुसन्धानकर्मीहरूले पोखरा उपत्यका ठूलो ताल सुकेर निर्माण भएको भनेका थिए । तर, त्यहाँको भूबनोट, नदी, ताल आदिको गहिरो अध्ययनपश्चात् डा. हर्क गुरुङ के निष्कर्षमा पुगे भने पोखरा उपत्यकाको उत्पत्ति कुनै ठूलो ताल सुकेर भएको होइन, बरु एउटा असामान्य अवस्थाबाट भएको थियो । उनका अनुसार पोखरादेखि दक्षिणका डाँडाहरू उठ्न थालेपछि दक्षिणतिर बगिरहेको सेती नदी उत्तर पश्चिमबाट दक्षिणपूर्वतिर मोडियो। यसो हुँदा नदीको वेग घट्यो र अन्नपूर्ण हिमालदेखि उसले बोकेर ल्याएका ढुङ्गा, गेग्रान त्यहीं थुप्रिन थाल्यो, जुन आज पनि हामी देख्न सक्दछौं। यी सबै चट्टान हिमयुग (करीब १५ हजार वर्ष पहिले) को अन्ततिर निर्माण भएको अनुमान गरिन्छ।

पोखरा उपत्यकाको भूबनोटबारे त्यति धेरै अनुसन्धान र गहकिला सुझावहरू भएर पनि त्यहाँको बस्ती विस्तार र विकास निर्माणमा किन हाम्रो ध्यान पुग्न सकेन? हाम्रो बेवास्ता र असक्षमता माथिका यी प्रश्न त छँदैछन्, तर अर्को उदेकलाग्दो कुरा समस्या समाधानमा वैज्ञानिक उपायतिर नलागी स्थानीयवासीहरू नागपूजा र होममा जुटे। त्यस्तो व्यवहार भय र आक्रान्तले मनमा बास लिएपछिको प्रतिक्रिया हुनुपर्दछ ।

सन् २०१० को अक्टोबर २६ को कुरा हो- काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुवोध शर्मा लाङटाङ हिमालको छेउछाउमा रहेको नागकुण्डको अनुसन्धानमा थिए । उनको टोलीमा विद्यार्थीसमेत २० जना वैज्ञानिक र अनुसन्धानका लागि डुङ्गा लगायत अन्य उपकरण पनि थिए । तर, स्थानीयवासीले भन्न थाले कि नागकुण्डमा जाने कोही जिउँदै फर्केका छैनन् । मनमा केही भय हुँदाहुँदै सुवोध शर्माले आफ्नो वैज्ञानिक विश्वासलाई डगमगाउन दिएनन्, उनी आफैं डुङ्गा खियाउँदै नागकुण्ड पसे, उनलाई साथ दिने अरु तीनजना थिए । कुण्डको बीचभागतिर पुगेपछि उनीहरुले विशाल नागको टाउको जस्तो आकृति देखे । राम्ररी नियालेर हेरेपछि शर्माले पत्तालगाए- आखिरमा, त्यो कञ्चन पानीभित्रको विशाल शिला रहेछ, जुन घाम टल्किँदा नागको आकृतिझैं देखिने र अरु पानीको हल्का छालमा चलेझैं हुने । सुवोध शर्माको वैज्ञानिक खोजले यसरी एउटा अन्धविश्वास छिचोलियो र भ्रम निवारण गरिदियो ।

सन् २०१४ को वर्षायाममा सोन्धुपाल्चोकको जुरेमा पहिरो गयो । बिहान साढे दुई बजे गएको सो पहिरोमा परि १५६ जनाको ज्यान गयो, कैयौं मानिस पहिरोमा हराए । अजय दीक्षित, जो एकजना वरिष्ठ इञ्जिनियर र विद्युत व्यवस्थापन विषयका विशेषज्ञ पनि हुनुहुन्छ, घटनास्थल पुग्नुहुन्छ । देख्नुभएछ, एकजना जटाधारी मान्छे नाग रिसाएर सल्बलाउँदा त्यहाँ पहिरो गएको भन्दै त्यसलाई शान्त पार्न नाग पूजाको ढोङ गरिरहेको । वैज्ञानिक मन थाम्न नसकेर झोकिनुभएछ, ‘नाग कत्रो हुन्छ ?’, जवाफ आएछ, ‘१०-१२ फिट’ । अजयजीले भन्नुभएछ, ‘अनी १०-१२ फिटको नागले यत्रो पहाड खसाल्न सक्छ ?’ जटाधारी त्यहाँबाट लुसुक्क भागेछन् । अजयजीको आँटिलो प्रश्नले कैयौं मानिस ठगिन पाएनन् । उहाँलाई आँटिलो विज्ञानप्रतिको निष्ठाले बनायो ।

दोलखा भिमसेनको क्रोध शान्त पार्न पशु बली चढाउन क्षमा पूजा र पोखरा अर्मलामा जमिन नभासियोस भनी नाग पूजा गरेबाट यही स्पष्ट हुन्छ- नेपाली समाज अझ पनि किंवदन्तीबाट मुक्त हुनसकेको छैन । वैज्ञानिक समुदाय, विज्ञान अध्यापन हुने विद्यालयहरु र विश्वविद्यालय लगायतका प्राज्ञिक संस्थाको सर्वोपरी जिम्मेवारी यही रहनेछ कि तिनले वैज्ञानिक संस्कारको उज्यालो छरुन्, न कि मौनता साँधेर अन्धविश्वासलाई प्रश्रय दिइरहुन् ।

साभार : ‘शिक्षक’ मासिक, २०७४ कात्तिक । 

(Visited 378 times, 1 visits today)

टिप्पणी

comments