Main Menu

२ हजार थान लागुऔषध सहित २ जना पक्राउ

 

drug-traffickers-arrestedसाउन ८, काठमाडौँ । प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आज पक्राउ गरेको छ ।

नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका– ७ बाट पक्राउ गरेकामा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ घर भई नयाँ बजार बस्ने पदम आले मगर रहेको लागुऔषध ब्युरोका प्रमुख धिरु बस्नेतले जानकारी दिए ।

निजहरुका साथबाट रु. ४७ हजार नेपाली र १ हजार ९२० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।

मुलुकमा हाल लागुऔषध प्रयोगकर्ताको संख्या करिब १ लाख रहेको प्रहरीले जनाएको छ । काठमाडौँ, पोखरा, बुटवल, धरानलगायत सहरमा लागुऔषध दुर्व्यसनीको संख्या अरु शहरको तुलनामा बढिरहेको जनाइएको छ ।

लागुऔषध प्रयोगकर्ता खासगरी १४ देखि २५ वर्ष उमेर समूहका भएको पाइएको छ । पछिल्लो ६ वर्षमा लागुऔषध दुर्व्यसनीको संख्या दोब्बर पुगेको तथा ७ प्रतिशत महिला रहेको जनाइएको छ ।

पछिल्लो समय विद्यार्थीका अतिरिक्त यातायात मजदूरले पनि यसको प्रयोग गरेको पाइएको ब्युरोले जनाएको छ । लागुऔषधका दुर्व्यसनीले हाल स-साना समूहमा यसको प्रयोग र व्यवसाय गर्दै आएको तथ्यांक प्रहरीले फेला पारेको छ । एक पटक दुर्व्यसनमा परिसकेका व्यक्तिलाई लागुऔषधको व्यवसायमा पुनःसंलग्न हुन यसको ओसारपसारमा संलग्न गिरोहले प्रोत्साहन गर्ने गरेको प्रहरीको ठम्याइ छ ।

अवैध हातहतियारको व्यापारपछि दोस्रो ठूलो व्यवसायका रुपमा गिरोहले लागुऔषध ओसारपसारलाई चलाउँदै आएको छ । हातहतियारको अवैध ओसारपसार र लागुऔषधको व्यवसाय अन्तर्राष्ट्रिय समस्याका रुपमा रहँदै आएको छ ।

(Visited 115 times, 1 visits today)

टिप्पणी

comments