Main Menu

किसान व्यावसायिक बाख्रापालनतर्फ

 

farmers-interested-goat-farmingसाउन ११, भद्रपुर । बुद्धशान्ति–१ बुधबारेका कुमार श्रेष्ठ बाख्रापालन व्यवसायबाट सन्तुष्ट छन् । उनले विशाल कृषि फार्म स्थापना गरेका छन् । अहिले श्रेष्ठको फार्ममा २०५ वटा बाख्रा र पाठा छन् ।

बुधबारेकै हर्कबहादुर तामाङले दामा अँधेरी कृषि फार्म सञ्चालन गरेका छन् । उनको फार्ममा करिब १५० बाख्रा र पाठा रहेका छन् । चुरे क्षेत्रसँग जोडिएको बुधबारेमा बाख्रापालन गर्न चरीचरनको समस्या छैन ।

श्रेष्ठ र तामाङसँगै हल्दीबारीका गणेश पराजुली र जलथलका जयप्रकाश दाहाल पनि बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका छन् । पराजुलीले ८४ वटा र दाहालले ४० वटा बाख्रा पालेका छन् । यहाँका अन्य किसान समेत बाख्रापालनतर्फ आकर्षित बनेका छन् ।

जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक कुमारसिंह खत्री किसानलाई बाख्रापालनतर्फ आकर्षित गर्न सरकारले व्यावसायिक बाख्रा प्रवर्द्धन राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गरेको बताउँछन् ।

“प्रोत्साहन र सहयोग गर्न थालेपछि किसानको हौसला बढेको छ,” उनले बताए ।

सरकारले मासुको आयात प्रतिस्थापन गर्न अनुदानको व्यवस्था गरेको हो । जिल्लामा गत वर्षदेखि बाख्रापालनमा अनुदान दिन थालिएको हो । पाँचवर्षे अभियानको मध्यावधिमा समीक्षा गरी बाख्रा प्रवर्द्धनात्मक कार्यक्रमलाई दीर्घकालीन रुपमा सञ्चालन गरिने पशु सेवा कार्यालयका प्रमुख डा. माधव दाहाल बताउँछन् ।

गत वर्ष २० वटा फार्मलाई अनुदान उपलब्ध गराएको छ । अनुदान पाउनेमा गौरीगञ्जको ब्यालेन्स एग्रिकल्चर, पृथ्वीनगरको बेदन बाख्रा फार्म र महालक्ष्मी कृषि फार्म, बुधबारेको विशाल कृषि फार्म र दामा अँधेरी कृषि फार्म, होक्से कृषि सहकारी संस्था, दामा अँधेरी कृषि सहकारी संस्था, दामाटार बाख्रापालन र प्रगति कृषि फार्मलगायत छन् ।

यस्तै हल्दीबारीको शिवानी कृषि तथा पशुपक्षी फार्म र डाँफे कृषि फार्म, गरामनीको शिखर कृषि परियोजना र समुन्नत झापा कृषि प्रालि, जलथलको प्रगति मिश्रित कृषि फार्म, गोलधापको प्रगति बोयर बाख्रापालन, चकचकीको गोवद्र्धन पशुपालन फार्म, खुदुनाबारीको नेपाल बाख्रापालन फार्म र मनकला बाख्रापालन फार्म, शनिअर्जुनको अङ्कित बाख्रा फार्म र विर्तामोडको शिवशक्ति कृषि फार्मले समेत अनुदान प्राप्त गरेका छन् । 

(Visited 169 times, 1 visits today)

टिप्पणी

comments