Main Menu

बाढी गाउँ पस्न थालेपछि मिक्लाजुङवासी भयभीत

  • सुमन घिमिरे

flood-enters-village-villagers-frightenedअसार २७, उर्लाबारी (मोरङ) । नुनसरी बक्राहा खोलामा वर्षासँगै आएको बाढीले मानव बस्तीसँगै खेतीयोग्य जमिन कटान गर्न थालेपछि मोरङको मिक्लाजुङवासी त्रसित बनेका छन् ।

गत वर्षको असारमा बस्तीतिर पसेको बक्राहाको बाढी रोक्न तटबन्ध निर्माण हुन सकेको छैन । बाँध फुटाएर बस्तीमा पस्दा बक्राहाको बाढीले सो गाउँपालिकाको साविक मधुमल्ला गाविसका ५०० परिवार विस्थापित भएका थिए ।

केही दिनयता वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पस्दा स्थानीयवासी झनै त्रसित बनेका छन् । गत वर्ष बाढीले मिक्लाजुङ–६ को बेतेनी र धप्पर टोल गरेर दुई स्थानमा बाँध फुटाएको थियो ।

धप्पर टोलमा करिब ७०० मिटर फुटाएको बाँध निर्माण भएता पनि सोही वडाको बेतेनीमा फुटाएको करिब ८०० मिटर बाँध मर्मत हुन नसक्दा खोला बस्तीमा पसेको हो ।

सो बस्तीका करिब २५ परिवार नजिकैको मिक्लुङ सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् । बाँकी परिवार मधुमल्ला र उर्लाबारी बजारमा कोठा भाडा लिएर तथा आफन्तकामा आश्रय लिएर बसेका छन् ।

गत वर्ष बक्राहाको बाढीले १३० बिगाहभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको थियो ।

“मेरो डेढ बिगाह जमिन सबै बगर बन्यो,” मिक्लाजुङ–६ का अगम दाहाल भन्छन्, “७ जनाको परिवार पाल्न अहिले मजदुरी गर्न जानुपरेको छ ।”

उनले जङ्गल क्षेत्रको एउटै टहरामा सबै परिवार बस्न गाह्रो भएको दुखेसो सुनाए ।

वर्षा सुरु भएसँगै खोला गाउँमा पसेर त्रसित बनेका स्थानीयवासीले मिक्लाजुङ गाउँपालिका कार्यालयमा तारजाली र तटबन्धको व्यवस्था गरिदिन माग गर्दै निवेदनसमेत दिएका छन् ।

“वर्षाको समय सुरु भएसँगै रातभर जाग्राम बस्नुपर्ने अवस्था छ,” स्थानीय पूर्णकुमार बस्नेत भन्छन्, “हामी कहिलेदेखि ढुक्कले सुत्न पाउँछौँ ?”

अहिले खोलाले गतवर्ष बगेको ठाउँभन्दा केही पश्चिम खेतीयोग्य जमिन र मानव बस्तीतर्फ कटान सुरु गरेपछि गाउँपालिकामा तारजालीको माग गरिएको स्थानीय मोहन गौतमले बताए ।

खोलाले मानव बस्तीतर्फ कटान सुरु गरेपछि सोमबार मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, वडा नम्बर ६ का अध्यक्ष बृद्धिलाल निरौला र वडा नम्बर ९ का अध्यक्ष सोमनाथ अधिकारीसहितको टोलीले स्थलगत अवलोकन गरेको छ ।

स्थलगत अवलोकनपछि गाउँपालिकाका अध्यक्ष आचार्यले धार परिवर्तन गर्न चाँडै काम सुरु गर्ने र जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा लैजाने बताएका छन् ।

थप बस्ती र खेतीयोग्य जमिन कटानको समस्यालाई रोक्न पहल गरिनेसमेत अध्यक्ष आचार्यले जानकारी दिए ।

बक्राह खोला बस्तीको सतहभन्दा अग्लो बनेको छ । चुरे क्षेत्रबाट बगाएर ल्याएको लेदो, ढुङ्गा, गिट्टीका कारण खोलाको भाग अग्लो बनेको बक्राहा खोला नियन्त्रण दबाब समूहका संयोजक मानबहादुर श्रेष्ठले बताए । उनका अनुसार खोलाको भाग बस्तीको भन्दा समग्रमा डेढ मिटर अग्लो छ ।

(Visited 166 times, 1 visits today)

टिप्पणी

comments