Main Menu

लेखकले त सत्यको निरन्तर खोज्ने हुनुपर्छ-निनु चापागाईं

फागुन २, पोखरा

समालोचक निनु चापागाईं

मार्क्सवादी चिन्तक एवं समालोचक निनु चापागाइँले वर्तमानमा कम्युनिस्ट आन्दोलनमा लागेकाहरु नपढ्ने रोगबाट ग्रसित भएको बिचार व्यक्त गरेका छन् । छैठौं घनश्याम ढकाल स्मृति दिवसको अवसरमा पोखरामा सम्पन्न लेखक–साहित्यकारहरुको ‘वर्तमान सन्दर्भमा लेखकहरुको दायित्व’ विषयक  एक गोष्ठी कार्यक्रममा बोल्दै उनले सो बिचार व्यक्त गरेका हुन् ।

२०६८ फागुन १ गते जनयुद्ध दिवसमा सहभागी हुन राजधानी काठमाडौंको खुलामञ्चतर्फ जाँदै गर्दा प्रदर्शनी मार्गमा मोटरसाइकलको ठक्करबाट निधन भएका साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष बितेका घनश्याम ढकालको स्मृतिमा सो गोष्ठी ‘घनश्याम ढकाल साँस्कृतिक प्रतिष्ठान’ को आयोजना र ‘गण्डकी साहित्य सङ्गम’ को सहआयोजनामा हिजो सम्पन्न भएको थियो । गोष्ठीमा बोल्दै समालोचक चापागाइँले भने, “पहिले सबैभन्दा बढी पढ्नेहरु मार्क्सवादीहरु हुन्थे, तर अहिले तिनीहरु सबैभन्दा नपढ्ने भएका छन् । किनभने, उनीहरुलाई अहिले नपढ्दानि पुगेको छ । सबैभन्दा जान्ने नै उनीहरु आफूलाई ठान्ने भएका छन् । मानवतावाद पुँजीवादीहरुबाट नै आएको हो । उनीहरु मानवतावादी किन भए भने, ‘मान्छे नै सबभन्दा माथि हो, त्यसभन्दा माथि केही पनि छैन’ भन्न अवधारणा उनीहरुले ल्याए । अर्को, भौतिकवाद पनि उनीहरुबाट नै आयो । धर्म निरपेक्षता पनि उनीहरुबाट नै आएको हो । तर, अहिले हामीकहाँ कम्युनिस्टहरु त्यतिमा पनि अडिन सकेनन् ।”

समालोचक चापागाईंले बितेका साहित्यकार घनश्याम ढकाललाई सम्झँदै ‘उनी कम्युनिस्ट आन्दोलनमा देखा परेको साँस्कृतिक अधोपतनबाट निकै चिन्तित भएको’ कुरा उनका भनाइहरु उदृत गरी सविस्तार सुनाए । उनले कम्युनिस्ट आन्दोलनका नेताहरुलाई इङ्गित गरी भने, “भन्ने बेलामा चाहिँ ‘हामी नै हौं मानवतावादी, हामी नै हौं भौतिकवादी, हामी नै हौं धर्मनिरपेक्षतावादी, हामी हौं सबथोक’ भनेर भन्ने । तर, गर्ने बेलामा केही पनि नगर्ने । यस्तो भइरहँदा पनि हामी बुद्धिजीबि लेखकहरु टुलुटुलु हेरी मात्र रहने । त्यसबारे कुनै आलोचना हामीलाई गर्नु नपर्ने । समस्या अहिले यो भइरहेछ ।”

उनले आफ्नोबारे प्रष्ट पार्दै भने, “मैले पढेर जानेको कुरो भनेको ‘म आफूले कम्युनिस्ट आन्दोलनलाई के दिन सक्छु भनेर आएको हुँ । विगतको कुरा गर्ने हो भने म राल्फा आन्दोलनबाट आएको हुँ । राल्फा आन्दोलनले ‘प्रजातन्त्र पनि ठीक होइन, साम्यवाद पनि ठीक होइन ।’ भन्थ्यो । म माथिल्लो वर्गबाट आएको हुँ । म त पढेर कम्युनिस्ट सबभन्दा राम्रो कुरो हो भनी बुझी यस आन्दोलनमा लागेको हुँ । र, आन्दोलनमा लाग्दा मैले सोचेको भनेको मैले आन्दोलनबाट लिने होइन दिने हो । तर, हाम्रो आन्दोलनमा अहिले ‘पद पाइन्छ कि, प्रतिष्ठा पाइन्छ कि, सांसद पाइन्छ कि, या पाइँदैन भन्ने सिवाय कसैलाई केही चिन्ता छैन । यस्तो चिन्ता सबैभन्दा बढी बुद्धिजीबीलाई नै छ । यस्तो मानसिकताबाट माथि हामी जबसम्म उठ्न सक्दैनौं, तबसम्म हामीले गलत कुरालाई आलोचना गर्न सक्दैनौं । अर्थात् हामी आलोचनात्मक विवेक राख्न सक्दैनौं । र, जबसम्म आलोचनात्मक विवेक हुँदैन त्यो बेलासम्म न राम्रा खालका साहित्यकार हुन्छौं न त लेखक नै । लेखकले त सत्यको निरन्तर खोज्ने, सत्यको पक्षपोषण गर्ने र त्यसको उद्घाटन गर्ने हुनुपर्छ । त्यो सँगसँगै झूठको पनि विरोध गर्ने, खराबी कुराहरुको पनि विरोध गर्ने लेखकको काम हुनुपर्छ ।”

सो गोष्ठीमा त्यसअघि बोल्दै अर्का वक्ता प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयले भने, “मान्छेको उद्देश्य आफूलाई सुन्दार, असल, सम्यक र पूर्ण मानव बनाउने हो । मान्छेमा अपूर्णता हुन्छ । जीवन जिउने क्रममा प्रकृति र समाजसँग सङ्घर्ष गर्दै उसले आफूलाई पूर्ण बनाउने प्रयास गर्छ । मान्छेको जीवन यात्राको लक्ष्य यही हो । आफ्नो उद्देश्य प्राप्त गर्नका लागि उसले आफूलाई उत्पादन प्रक्रियामा अभिव्यक्त गर्दछ । यही क्रममा उसले समाजलाई पनि बुझ्दछ, सामाजिक यथार्थलाई पनि वोध गर्दछ । यी कुराहरुलाई मिसाएर नै मान्छेले आफूलाई प्रकटीकरण गर्छ, आफूलाई वाहिरीकरण गर्छ र आफूलाई पूर्ण बनाउन प्रयत्न गर्दछ । मलाई लाग्छ लेखकको दायित्व पनि यही नै हो ।”

प्रा. डा. पाण्डेयले ‘लेखकले वर्तमानलाई वोध गरेर मात्र पुग्दैन, उसले भविष्यप्रति आशा पनि जगाउनुपर्ने’ बिचार पनि व्यक्त गरे ।

गोष्ठीमा अर्का वक्ता प्रा.डा.पशुपतिनाथ तिमल्सेनाले ‘आफू बाँचेको युगलाई स्वीकार गरेर, राम्रो र नराम्रो पक्ष छुट्याई राम्रोलाई ग्रहण गर्दै इतिहासको आवश्यकता ठम्याई अगाडि बढ्नुपर्ने’ बिचार व्यक्त गरे । त्यस्तै गरी साहित्यकार सरिता तिवारीले लेखकले सधैँ प्रतिपक्षमा रही सत्ताको गलत प्रवृत्तिको बिरोध गरिरहनुपर्ने बिचार व्यक्त गरिन् ।

गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा.कृष्णराज अधिकारीको सभापतित्वमा सम्पन्न सो बिचार गोष्ठीको सञ्चालन ‘घनश्याम ढकाल साँस्कृतिक प्रतिष्ठान’ का सदस्य सचिव एवं साहित्यकार बलराम तिमल्सिनाले गरेका थिए । सो कार्यक्रमलाई मूल्याङ्कन अनलाईनको फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो ।

तस्विर : रसना महर्जन

(Visited 439 times, 1 visits today)

टिप्पणी

comments