Main Menu

किन पाए गिरिराजमणिले शिक्षा मन्त्रालय ?

चैत्र २, काठमाडौं

giriraj-mani-pokhrel-education-minister

सार्वजनिक शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुग्ने गरी शिक्षा ऐन–२०२८ लाई संशोधन गरी चर्चा कमाएका पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल पुनः शिक्षामन्त्रीमा नियुक्त भएका छन् । वामगठबन्धन सरकारभित्र मन्त्री भागबन्डामा शिक्षा मन्त्रालय एमालेको भागमा परे पनि विगतमा मन्त्री पोखरेलले गरेका कामहरुको उच्च मूल्याङ्कन गर्दै पुनः उनलाई सोही मन्त्रालय जिम्मा दिन एमाले र माओवादी केन्द्रको नेतृत्व तयार भएको स्रोतले बतायो ।

शिक्षामा निजीकरणले ल्याएको चर्को विसंगतिले आमजनताको पहुँचबाट गुणस्तरीय शिक्षा अलग हुँदै गएको, सार्वजनिक विद्यालयहरुमा शिक्षाको गुणस्तर खस्कँदै गएको र निजी विद्यालय एवं कलेजहरुकै कारणले मुलुकमा दुईखाले शिक्षा लागु हुन गई त्यसको कारणले नै धनी र गरिब वर्गबीचको खाडल झनझन बढ्दै गएको तथ्यलाई मध्यनजर गर्दै निजी शिक्षालाई निरुत्साहित र सार्वजनिक शिक्षालाई प्रोत्साहित एवं राज्यद्वारा संरक्षणको प्रत्याभूति हुने गरी विगतमा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मन्त्री पोखरेलले शिक्षा ऐन–२०२८ लाई संशोधन गरेका थिए । अहिले मुलुकमा संघीय संविधान लागु भई राज्यको कार्यकारी अधिकार केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरुमा अधिकारको बाँडफाँड भइसकेको अवस्थामा संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख समाज निर्माणका लागि त्यस अनुरुपको राज्यको शिक्षा नीति निर्माण गर्ने र त्यसलाई लागु गर्ने चुनौतिका साथ मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा मन्त्रालय पुनः एक पटक सम्हाल्न पुगेका छन् ।

को हुन् मन्त्री पोखरेल ?

बुबा चन्द्रमणि पोखरेल र आमा कनककुमारी पोखरेलको कोखबाट २०१५ फागुन २५ गते खोटाङ, खार्पामा जन्मेका मन्त्री गिरिराजमणि पोखरेलको हालको स्थायी बसोबास बर्दिबास नगरपालिका, वार्ड नं.३, गौरीडाँडास्थित आधारशिला सामुहिक वस्तीमा रहेको छ । २०२६ सालमा विख्यात साहित्यकार बितेका पारिजात, समालोचक निनु चापागाईं, लेखक–संगीतकार–गायकहरु रामेश, रायन, मञ्जुललगायतले चलाएको बिद्रोही साहित्यिक–साङ्गितिक अभियान ‘राल्फा’बाट प्रभावित बनी २०३६ सालबाटै बिद्यार्थी आन्दोलनमा सक्रिय सहभागी बनेका उनले त्यतिखेरबाटै साम्यवादी बिचारधारालाई अङ्गालिसकेका थिए । साम्यवादी आदर्शलाई अङ्गालेको २३ वर्षपछि उनले २०५९ सालमा साम्यवादी समाजको भ्रूणको रुपमा कम्युन निर्माण गर्ने दिशान्मुख सामुहिक वस्ती सुरुका लागि ‘आधारशिला’ सामुहिक वस्तीको स्थापना गरे । क्रान्तिकारी आन्दोलनमा लागेका १६ परिवारलाई आ–आफ्नो सम्पत्ति एकै ठाउँमा जम्मा गरी निर्माण गरिएको उक्त आधारशिलामा नै उनले जीवनका १५ वर्ष बिताइसकेका छन् । आम जनताका समस्याहरुलाई मसिनोसँग हेर्ने र त्यसलाई समाधानका लागि जनपरिचालन गर्न उच्च सिप हासिल गरेका मन्त्री पाखरेललाई उनी बस्ने सामुहिक वस्ती ‘आधारशिला’ रहेको क्षेत्र अर्थात् महोत्तरी क्षेत्र नं.१ का जनताले तीन पटक निर्वाचनमा जिताइसकेका छन्, २०६४ सालको संविधानसभा सदस्य निर्वाचन, २०७० सालको संविधानसभा सदस्य निर्वाचन र २०७४ सालको संघीय संसदको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा । उनी २०६४ र २०६५ मा स्वास्थ्यमन्त्री बनेका थिए भने २०७२ सालमा शिक्षामन्त्री । र, पुनः हाल उनी शिक्षामन्त्री बनेका छन् ।

शिक्षा र राजनीतिक जीवन

जन्मथलो खोटाङ, खार्पा रहेका मन्त्री गिरिराजमणि पोखरेले सोही ठाउँको शारदा विद्यालयबाट प्राथमिक शिक्षा पाएका थिए । त्यस्तै गरी खोटाङकै बुइपास्थित चम्पादेवी माविबाट माध्यमिक र विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका थिए । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।

२०३६ सालको ऐतिहासिक राष्ट्रव्यापी बिद्यार्थी आन्दोलबाट राजनीतिमा क्रियाशील बनेका उनी एक वर्षपछि नै २०३७ सालमा पूर्णकालीन बिद्यार्थी राजनीतिकर्मी बने । त्यही क्रममा नै २०३७ सालमा अनेरास्ववियुका केन्द्रीय सदस्यमा उनी नियुक्त भए । बिद्यार्थी आन्दोलनमा अत्यन्त क्रियाशील उनी छोटो समयमै २०४१ सालमा बिद्यार्थीको केन्द्रीय नेता बने । अर्थात् उनी अनेरास्ववियुका अध्यक्ष बने । २०४१ सालको सातौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भई नेतृत्व सम्हालेका गिरिराजमणि पोखरेल २०४३ सालमा सम्पन्न अनेरास्ववियुको आठौं राष्ट्रिय सम्मेलनमा पुनः एक अर्को कार्यकालका लागि सोही पदमा निर्वाचित भए ।

उनी २०४७ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) निकट अखिल नेपाल जनवादी युवा लिगका संस्थापक सदस्य बने भने सो संगठनको २०५० सालमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भए ।

राजनीतिक पार्टीको नेतृत्व तहको जिम्मेवारीको कुरा गर्दा गिरिराजमणि पोखरेल २०४४ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (चौम) का केन्द्रीय सदस्य, २०४८ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) का केन्द्रीय सदस्य, २०५४ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य, २०५५ सालमा तत्कालनि नेकपा (एकता केन्द्र) को पोलिटव्यूरो सदस्य, २०५९ सालमा तत्कालीन नेकपा (एकता केन्द्र मसाल) को केन्द्रीय पोलिटब्यूरो सदस्य, २०६३ सालमा तत्कालनि संयुक्त जनमोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष, २०६५ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी) का स्थायी कमिटी सदस्य, २०७१ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी) केन्द्रीय समिति सचिव र हाल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय सदस्य रहेका छन् ।

राजनीतिमा सक्रिय रहँदारहँदैकै स्थितिमा पनि गिरिराजमणि पोखरेलले एक समय पत्रकारितामा पनि क्रियाशील बने । उनले २०४१ साल यता बिभिन्न काल खण्डमा मूल्याङ्कन साप्ताहिक, बिलौना साप्ताहिक र गर्जन साप्ताहिकमा आवद्ध भई काम गरे भने २०५२ देखि २०५७ सालसम्म जनएकता साप्ताहिकका सम्पादक/प्रकाशक भई काम गरे । उनले ‘संघियता बारे’, ‘जनवादी केन्द्रीयता बारे’ र ‘भारतीय सेना कुटियाङ्दी पारी जा’ शिर्षकका राजनीतिक पुस्तकलगायत दर्जनौं सङ्ख्यामा समसामयिक राजनीतिक लेख रचनाहरु लेखी प्रकाशित गरेका छन् ।

(Visited 738 times, 1 visits today)

टिप्पणी

comments