Main Menu

गोरखा दरबार पुनःनिर्माण सुरु

 

gorkha-durbar-reconstruction-startsसाउन ४, गोरखा । वि.सं. २०७२ को भूकम्पबाट क्षति पुगेको ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको गोरखा दरबारको पुनःनिर्माण थालिएको छ ।

दरबार भत्काएर जगैदेखि पुनःनिर्माण गर्न लागिएको हो । गोरखा दरबार हेरचाह अड्डाका नायब सुब्बा रामेश्वर कट्टेलका अनुसार दरबारलाई चारैतिरबाट जस्ता पाताले घेरेर भत्काउन सुरु गरिएको छ । सो कार्यका लागि रु. २० लाख बजेट उपलब्ध भएको उनले बताए ।

पुरातत्व विभागले जगैदेखि दरबार पुनःनिर्माण गर्न भनेपछि भत्काउन सुरु गरिएको हो । पुरातत्व विभागले पुनःनिर्माणका लागि रु. ५ करोड ५० लाख उपलब्ध गराएको छ ।

दरबारका मूल पूजारी प्रदीपनाथ योगीले गोरखा दरबारलाई पुनःनिर्माण गरेपछि भावी सन्ततीलाई गोरखाको इतिहासबारे जानकारी गराउन सकिने भन्दै खुशी व्यक्त गरे ।

भूकम्पले दरबारको गारो चर्कनुका साथै आँगन दबेको थियो ।

गोरखा राज्यका तत्कालीन राजा पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा राज्याभिषेक गरेको गोरखा दरबारसँगै रहेको गोरखकाली मन्दिर (राजपरिवारको कुलदेवता), गोरखनाथ गुफा, रोट पोल्ने ठाउँ, चौधेरा दरबार (राजपरिवार आउँदा बस्ने ठाउँ), विद्यामन्दिर, पण्डित पाटी, पशुपतिनाथको मन्दिर, शीत्तल पाटीलगायतलाई भूकम्पले क्षति पुर्याएको थियो ।

गोरखनाथ गुफास्थित मन्दिरको पुनःनिर्माण सकिएको छ । भूकम्पपछि एक महिनासम्म दरबारमा पूजाअर्चनाका लागि भक्तजनलाई रोक लगाइएको थियो । भूकम्पबाट क्षति पुगेका संरचना हटाएपछि अहिले निर्वाध रुपमा पूर्जाअर्चना हुँदै आएको छ । गारो चर्किएकाले जुनसुकै बेला भत्कन सक्ने खतरा थियो । भूकम्पपछि प्राप्त भएको रु. ३६ लाख बजेटमा भत्किएका केही संरचना पुनःनिर्माण गरिएका छन् ।

दरबारको पुनःनिर्माण गर्न करिब ३ वर्ष लाग्ने छ । पुनःर्निर्माण गरिँदा पूजाआजा नरोकिने गरी व्यस्थापन गर्न लागिएको छ ।

(Visited 269 times, 1 visits today)

टिप्पणी

comments