Main Menu

वर्षातको याममा इन्फ्लुएन्जाबाट जोगिऔं

टेकूस्थित राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रको हलमा भएको पत्रकार सम्मेलनमा सहभागीहरु । तस्विर : कमल गिरी

साउन १९, काठमाडौं । सधैँझैं वर्षातको समयमा रुघाखोकीबाट धेरै मान्छेहरु पीडित हुने गर्छन् । रुघाखोकी भाइरस नामको जीवाणुको कारणले लाग्ने एक किसिमको इन्फ्लुन्जा नामक रोग हो । रुघाखोकी मात्र इन्फ्लुन्जा होइन । स्वाइन फ्लूजस्ता घातक रोग पनि एक किसिमको इन्फ्लुन्जा हो । भर्खरै मात्र यस रोगबाट झापामा दुई महिलाको मृत्यु भएको खबर छ । यो एक किसिमको सरुवा रोग हो । यही सन्दर्भमा आजै स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक प्रेस विज्ञप्ती निकाल्नुका साथै इन्फ्लुन्जाबारे जानकारी सार्वजनीकरण गर्न पत्रकार सम्मेलनको आयोजना गर्यो ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा जनाइएको छ, “इन्फ्लुएनजा (फ्लू) एक प्रकारको मौसमी रुघाखोकी ज्वरो हो । यो रोगको प्रकोप वर्षायामको शुरु तथा अन्त्य र जाडोयामको शुरु तथा अन्त्यमा नेपालका बिभिन्न भूभागमा समय समयमा देखिँदै आइरहेको छ । यो रोगबाट बिभिन्न उमेर समूहका व्यक्तिहरु विशेष गरी छ वर्ष मुनिका बालबालिकाहरु, गर्भवति महिलाहरु, बृद्धबृद्धा र दीर्घ रोगीहरु बढी प्रभावित हुने गर्दछन् । यस रोगमा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने श्वास फेर्न गाह्रो हुने र झाडापखालाजस्ता लक्षणहरु देखिन्छन् । यस रोगलाई मौसमी रुघाखोकी भने तापनि सबै रुघाखोकी इन्फ्लुएन्जा रोग होइनन् र सबै इन्फ्लूएन्जाले जटिलता पनि निम्त्याउँदैन । इन्फ्लुएन्जा A र B भाइरस प्रजातिहरु जटिल रोग सार्नका मुख्य कारकहरु हुन् । १८ शताव्दीबाट प्रकोपको रुपमा देखिँदै आएको इन्फ्लुएन्जा हरेक १०–४० वर्षको दौरानमा पुनः प्रकोपकै रुपमा देखा पर्ने गर्दछ ।”

विज्ञप्तीमा उल्लेख भए अनुसार इन्फ्लुएन्जाका लक्षणहरु ज्वरो आउने (१००.४ डिग्री फरेनहाइटभन्दा बढी), टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र बच्चाहरुलाई झाडापखालासमेत हुन सक्छ ।

कार्यक्रममा डा.भिम आचार्यले जानकारी गराए अनुसार नेपालमा यो वर्ष सन् २०१७ को जनवरीदेखि अगस्टसम्म ६ जना व्यक्तिहरुले इन्फ्लुएन्जा (H1N1) बाट ज्यान गुमाइसकेका छन् । सरकारले यस घातक रोगलाई नियन्त्रण तथा उपचारका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य बिभाग, सरुवा रोग तथा नियन्त्रण कार्यक्रममार्फत आमजनतामा सूचना प्रवाह गर्नुका साथै निःशुल्क उपचार सेवाको व्यवस्था गर्दै गरेको जानकारी कार्यक्रममा गरियो ।

डा. भिम आचार्यले आम जनताको जानकारीका लागि इन्फ्लुएन्जाबाट बच्ने उपायहरु आफ्नो प्रस्तुतिमा उल्लेख गरे । उनका अनुसार इन्फ्लुएन्जाबाट बच्न खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गर्नुपर्छ । त्यस्तै गरी साबुन पानीले मिचीमिची हात धुने गर्नुपर्छ । इन्फ्लुएन्जा लाग्न सक्ने याममा पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गर्न पनि डा. आचार्य सुझाव दिन्छन् । उनी भन्छन्, “यदि कसैलाई ज्वरो आउँछ भने उसले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम लिनुपर्छ ।”

डा. आचार्यका अनुसार यस्तो बेलामा अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा जानु हुँदैन । त्यस्तै गरी ज्वरो रुघाखोकी लागेको बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्ने उनी सुझाव दिन्छन् । उनले सबैलाई शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्न सल्लाह दिन्छन् ।

धेरैको बानी बस्दा हिँड्दा आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात लैजाने हुन्छ । इन्फ्लुएन्जा फैलिने याममा त्यस बानीमा नियन्त्रण गर्न पनि डा. आचार्य सल्लाह दिन्छन् । उनी सकभर अरु व्यक्तिहरुसँग हात नमिलाई नमस्कार मात्र गर्ने बानी उत्तम हुने बताउँछन् । त्यस्तै गरी उनले अरुले प्रयोग गरेका रुमाल, कपडा आदि प्रयोग नगर्न पनि सुझाव दिन्छन् । उनका अनुसार इन्फ्लुएन्जाबाट बच्न नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने बानी बसाल्नु पर्छ ।

काठमाडौं, टेकूस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको हलमा सम्पन्न उक्त पत्रकार सम्मेलन सरुवा रोग नियन्त्रण महाशाखाको आयोजनामा भएको थियो । पत्रकार सम्मेलनमा इन्फ्लुन्जाबारे सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख भिम आचार्यले जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. राजेन्द्र पन्तको पनि उपस्थिति रहेको थियो ।

(Visited 188 times, 1 visits today)

टिप्पणी

comments