Main Menu

सर्वोच्चको पुन: मतदान गराउने फैसलापछि

आज भरतपुर–१९ मा पुनः मतदान शुरु

भरतपुर महानगरपालिकामा मतदाताहरु मतदान गर्न लाइनमा बस्दै । (फाइल फोटो)

साउन २०, चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान शुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए । 

सो वडामा किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २ सय ४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३ सय ६ र शारदानगर माविमा एक हजार २ सय ४३ गरी कुल तीन हजार ७ सय ९७ मतदाता छन् । 

मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबारदेखि नै सो वडामा बर्सात भइरहेको छ । बर्सात र हिलो भएपछि मतदाता आउन ढिलाइ गरेको जीवनज्योति स्कुल, गुञ्जनगरमा रहनुभएका तत्कालीन गुञ्जनगर गाउँ विकास समितिका उपाध्यक्ष विष्णु ढकालले बताए । 

यद्यपि, मतदाता आउने क्रम ७ बजेपछि बढेको उनले बताए । राष्ट्रियरुपमा चर्चामा रहेको यस वडामा निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । एउटा वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४ सय ६१ र सशस्त्र प्रहरीका २ सय ९५ जना परिचालन गरिएको छ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएका छन् । 

गए राति १२ बजेदेखि सो वडामा प्रवेश गर्ने नाकाहरु बन्द गराइएको थापाले बताउनुभयो । थापाका अनुसार तीनवटा मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रत्येकमा ३५ जनाको टोली परिचालन गरिएको छ । प्रहरी निरीक्षककै नेतृत्वमा तीनवटा मोबाइल टोली पनि परिचालन गरिएको छ भने प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीनवटा स्ट्राइकिङ टोली परिचालन गरिएका छन् । थप सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथीमा राखिएको छ । 

मोबाइल टोली मतदान केन्द्रमा घुमिरहने छ भने स्ट्राइकिङ टोली समस्या परेको ठाउँमा तत्काल पुग्नेछ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछन् । जिल्लाका अतिरिक्त हेटौँडाको दङ्गा नियन्त्रण प्रहरी गणबाट पनि एकसय प्रहरी झिकाइएको छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्ला पूरै हेर्न सक्ने सुरक्षा जनशक्ति एउटा वडामा परिचालन गरिएकाले कुनै समस्या नहुने बताए । निर्वाचनको अनुगमनका लागि निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेल र सहन्यायाधिवक्ता कृष्णजिवी घिमिरे बिहीबार नै यहाँ आइपुग्नुभएको भट्टले बताए । 

गत जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले गत शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज पुनः निर्वाचन हुन लागेको हो । 

भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार नेकपा (एमाले)का नगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९ सय ८० मत प्राप्त गर्नुभएको थियो भने नेकपा (माओवादी केन्द्र) – नेपाली काँग्रेस गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ४० हजार १ सय ९४ मत प्राप्त गरेका थिए । 

यसअघि वडा नं. १९ मा दुई हजार ८ सय ९७ मत खसेको थियो । वडा नं १९ मा तीन हजार ८ सय ९७ मतदाता छन् । महानगरको वडा नम्वर २० को तीन हजार ३ सय २ मत पनि गणना गर्न बाँकी रहेको छ ।

रासस

(Visited 142 times, 1 visits today)

टिप्पणी

comments