असार २२, रत्ननगर (चितवन) । बाह्र बिगाहामा केराखेती गर्दै आउनुभएका पूर्वी चितवनका रामचन्द्र दवाडीको हावाहुरीले ढलाउँदा यसपालि ९०० बोट केरा क्षति भयो ।
पहिलोपटक केराखेती गरेका उनलाई बीमाको बारेमा जानकारी भएन । बीमाबारे जानकारी नुहँदा उनलाई रु. ३ लाख ६० हजार बराबर घाटा लाग्यो ।
दवाडीले जस्तै स्थानीय ३० केरा किसानका केरा हावाहुरीले क्षति गर्यो । उनीहरुको करिब रु. १ करोड बराबरको केरा नष्ट भएको छ । तर राहत भने शून्य छ ।
जिल्लामा बीमा नगरेका कारण केरा किसान प्रभावित हुँदै आएका छन् । बीमा गर्ने किसानले क्षतिको ९० प्रतिशत क्षतिपूर्ति पाउँदै आएका छन् । तर बीमा नगरेका किसान उक्त सेवाबाट वञ्चित हुनुपरेको छ ।
चितवन केरा उत्पादक सङ्घले बीमाका लागि केरा किसानलाई पटकपटक आग्रह गर्दै आएको छ । सङ्घका अध्यक्ष विष्णुहरि पन्त बीमा गर्न आग्रह गर्दा पनि कतिपयले नगरेका कारण क्षतिपूर्ति पाउन नसकेका बताउँछन् ।
“पटकपटक ताकेता गर्दा पनि ६३० जना मध्ये २१९ केरा किसानले मात्र बीमा गरेका छन्,” उनी भन्छन् । गएको जेठ महिनामा जिल्लामा भीषण हावाहुरी आएपछि रु. ४ करोडको केरा क्षति भएको अनुमान छ । त्यसमध्ये ४० प्रतिशतको हाराहारीमा बीमा नगरेका किसानको क्षति भएको छ ।
यस्तै गत जेठ ३१ गते आएको हावाहुरीले रु. १ करोड बढीको ५० हजार केराको बोट क्षति पुर्याएको थियो । करिब १५ देखि २० हजार बोट बीमा नगर्ने किसानको क्षति भएको छ । कहीँबाट राहत नपाउने हुँदा ती किसान आफैँले क्षति बेहोर्नुपर्ने बाध्यता छ । अन्य बीमा भएका किसानको हकमा भने विभिन्न बीमा कम्पनीले क्षतिको विवरण सङ्कलन गरिरहेको केरा व्यवसायी यज्ञ सुवेदी बताउँछन् ।
बीमा गर्ने किसानका लागि क्षतिको ९० प्रतिशतसम्म बीमाबाट रकम आउने गर्छ । कृषि बीमामा सरकारले ७५ प्रतिशत प्रिमियम दिन्छ । अझै समूह या सहकारीमार्फत बीमा गरे प्रिमियम बढ्ने भएकाले किसानलाई न्यून भार पर्छ । पछिल्लो एक वर्षमा जिल्लामा २०० बिगाहामा केराखेती थपिएको छ । चितवन केरा उत्पादक सङ्घका अनुसार अघिल्लो वर्ष २ हजार ४०० बिगाहामा केराखेती भएकामा यस वर्ष क्षेत्रफल विस्तार भई २ हजार ६२० बिगाहा पुगेको छ भने जिल्लामा रु. १ अर्बको केराको कारोबार हुँदै आएको छ ।