Main Menu

काठमाडौँ ट्रिएनाले सुरू : दुई दर्जन देशका कलाकार सहभागी

चैत्र १२, काठमाडौँ । काठमाडौँ ट्रिएनाले हिजोदेखि राजधानीमा सुरु भएको छ ।

सिद्धार्थ आर्ट फाउन्डेसन नेपाल र स्माक (समकालीन कला सङ्ग्रहालय गेन्ट) बेल्जियमको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो । ‘द सिटी’ नाम दिइएको ट्रिनालेको वरिष्ठ कलाकार उत्तम नेपाली र नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्जे टिरिन्कले संयुक्त रुपमा उद्घाटन गरे ।

काठमाडौँ उपत्यका कला र संस्कृतिमा निकै धनी रहेको बताउँदै राजदूत टिरिन्कले भने, “नेपालमा भएको यो ट्रिएनालेले विश्वका कलाकारलाई एकै ठाउँमा ल्याउन सकेको छ ।”

ट्रिएनालेका संयोजक तथा फाउन्डेसनका संस्थापक सङ्गीता थापाले नेपालमा बृहत्स्तरमा कला प्रदर्शनी गर्नु चुनौतीपूर्ण रहेको बताइन् । प्रदर्शनीले नेपालमा विश्वका प्रसिद्ध कलाकारलाई जमघट गराएको र नेपाली कलाकारलाई पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गरेको बताउँदै उनी भन्छिन्, “कला र संस्कृति मानवता जोड्ने सशक्त माध्यम हुन् ।”

फिलिप भ्यान काउटरेन स्माक बेल्जियमका कला निर्देशक हुन् । ट्रिनालेमा २६ मुलुकका ७० कलाकारको सहभाािगता छ । तिनले कलामार्फत सबैलाई नजिक ल्याउन भूमिका खेलेको कार्यक्रमका निर्देशक निश्चल ओलीले बताए ।

ट्रिनालेको अवसरमा नेपालका प्रसिद्ध तथा अग्रज कलाकार वीरेन्द्रप्रताप सिंह र मेक्सिकोमा बस्ने बेल्जियमका विश्व प्रसिद्ध कलाकार फ्रान्सिस आलिसलाई सम्मान गरिएको थियो ।

नेपालमा पहिलो पटक ‘ट्रिएनाले इभेन्ट’ भएको हो । हरेक तीन वर्षको अन्तरालमा गरिने यस्तो कार्यक्रमले अन्तर्राष्ट्रिय रुपमा कलाकारलाई परिचित गराउन र संस्कृति आदानप्रदानमा सहयोग पुग्छ ।

‘काठमाडौँ ट्रिनाले’को पहिलो दिनमा तारागाउँ म्युजियममा अस्मिना रञ्जितको पर्फर्मेन्स आर्ट प्रदर्शन सुरु गरियो । ‘पवित्र स्थान’ विषयमा उनले पर्फर्मेन्स आर्ट प्रस्तुत गरिन् ।

त्यस्तै पृथ्वी श्रेष्ठले ‘अन्तर’ विषयमा मानवीय संवेगलाई सांस्कृतिक तथा सामाजिक विषयसँग तुलना गरी कला प्रस्तुत गरे । ट्रिएनाले नेपाल कला परिषद् बबरमहल, तारागाउँ म्युजियम बौद्ध, सिद्धार्थ आर्ट ग्यालरी, पार्क ग्यालरी, पाटन सङ्ग्रहालय, टङ्गाल उड, नेपाल पर्यटन बोर्डलगायत राजधानीका विभिन्न आठ स्थानमा हुनेछ । कार्यक्रम यही चैत १७ दिनसम्म चल्ने छ ।

(Visited 178 times, 1 visits today)

टिप्पणी

comments