Main Menu

जनताको अधिकारका पक्षमा छौँ – अध्यक्ष दाहाल

कात्तिक १५, काठमाडौँ

left-coalition-peoples-right-prachandaनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई मधेसको अधिकार स्थापित गराउन आफ्नो पार्टी अझै बढी क्रियाशिल भएर लाग्ने बताएका छन् ।

मंगलबार आफ्नै निवास लाजिम्पाटमा राष्ट्रिय जनता पार्टीका विभिन्न स्तरका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले भने, “वाम गठबन्धन भएपछि तराई मधेसको विषयमा के हुन्छ भन्ने आशंका र भ्रम फैलाइएको छ, जनतालाई अधिकार सम्पन्न बनाउने विषयमा कुनै पनि सम्झौता हुँदैन ।”

अध्यक्ष दाहालले आफ्नो पार्टी र नेकपा(एमाले)बीच चुनावी तालमेल र पार्टी एकताको निर्णय भएपछि त्यसविरुद्ध अनेकन प्रचार भएको उल्लेख गर्दै त्यस्तो प्रचार गर्नेले आफ्नो कमजोरी लुकाउन खोजेको बताए ।

“आर्थिक समृद्धि र जनताको अधिकार स्थापित गराउने लक्ष्यका साथ वामगठबन्धन भएको छ,” उनले भने, “हामी जनताको अधिकारका पक्षमा छौँ, आर्थिक समृद्धिका पक्षमा छौँ । गलत प्रचारले कुनै अर्थ लाग्दैन । अझ हामी जनताको पक्षमा दृढताका साथ उभिन्छौँ ।”

अध्यक्ष दाहालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको घडीमा जनपक्षीय उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्व आएको बताउँदै मधेसको मुद्दालाई थप सशक्त बनाउन जरुरी रहेको बताए ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको क्रममा आफूले तराई मधेसका विभिन्न स्थानमा सहभागी भएको र जनताको भावनालाई बुझ्ने मौका पाएको स्मरण गर्दै उनले आगामी निर्वाचनमा विजय हासिल गर्न प्रतिवद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि १ हजार ३०० बढी मधेसी नेता तथा कार्यकर्ताले बलिदान गरेको स्मरण गर्दै अधिकार प्राप्तिको संघर्षमा आफू निरन्तर लागिपर्ने स्पष्ट पारे ।

कार्यक्रममा राजपा सिराहाका अध्यक्ष दिनेशराय यादव र सो पार्टीसंग आवद्ध सुरेश राय, राजकुमार राय, तेजनारायण राय, नरेश राय, सुरेन्द्र महत्तो, नागेन्द्र रायलगायत ३० जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

(Visited 81 times, 1 visits today)

टिप्पणी

comments