Main Menu

मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो

मेलम्ची खानेपानी परियोजना अन्तर्गतको सुरुङ ।

असार  २२, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो भएको छ ।

सिन्धु–ग्याल्थुम सुरुङखण्डमा भूमिगत पानी मिसिएको कमजोर चट्टान भेटिएकाले हाल दैनिक १७ मिटरमात्र काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रामचन्द्र देवकोटाले बताए ।

“सुरुङमा यस्तो भौगर्भिक स्थिति भेटिँदा कामदारको सुरक्षाको चिन्ता छ, कमजोर चट्टान आएपछि माटो, ढुङ्गा नआओस् भनी अड्याउन काम गर्नुपर्छ, यसले काममा ढिलाइ भएको हो” – उनले भने ।

हाल सिन्धुबाट ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु र मुहानतिर एवम् मुहानबाट ग्याल्थुमतिर गरी चार स्थानबाट सुरुङको काम भइरहेको छ । २७ दशमलव पाँच किमी सुरुङमध्ये अहिलेसम्म २५ किमीको काम सकिएको तर दुई दशमलव पाँच किमी सुरुङको काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

सरकारले असोजसम्म मेलम्चीको पानी उपत्यकामा ल्याउने लक्ष्य राखे पनि पूरा हुन कठिन छ । पुससम्ममा सुरुङको काम सक्ने गरी काम भइरहेको कार्यकारी निर्देशक देवकोटाले बताए ।

रासस

(Visited 78 times, 1 visits today)

टिप्पणी

comments