Main Menu

मनसुन सक्रिय भएसँगै देशैभर वर्षा

 

monsoon-creates-rain-countrywideअसार २०, काठमाडौँ । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षात् भएको छ ।

एक साताअघि मनसुन सक्रिय भए पनि काठमाडौँ उपत्यकासहित कतिपय भेगमा वर्षा हुनसकेको थिएन । वर्षा नहुँदा उपत्यका आसपासका फाँटमा रोपाइँ गर्न समस्या भएको थियो । गत जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन असार १३ गतेदेखि देशभरि नै फैलिएको छ ।

मध्यअसारमा पानी नपर्दा किसान छटपटीमा थिए । पूर्वका धेरै स्थानमा प्रर्याप्त वर्षात हुनसकेको थिएन । तर, सोमबारदेखि मनसुन पुनः सक्रिय भई उपत्यकासहित देशैभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन न्यूनचापीय रेखा साधारण रहने स्थानभन्दा उत्तरतिर सरेकाले केही दिनयता मनसुनी वर्षा राम्रो भइरहेको मौमसविद् सुवास रिमाल बताउँछन् । उनका अनुसार बङ्गालको खाडीबाट आउने जलबास्प पूर्वी वायुले देशको प्रायःसबै ठाउँमा वितरण गरेको छ, यसले गर्दा देशभर नै वर्षा गराउने जलबास्प प्रशस्त मात्रमा देखिएको छ ।

मध्यतराईमा भारी वर्षात् हुने

भारतको पूर्वी उत्तर प्रदेशमा न्यूनचापीय क्षेत्र विकास भएको छ । यसको गति उत्तर पश्चिमतिर रहेकाले आज, भोलि र पर्सी देशभर बदली र वर्षा हुने मौसमी अनुमान छ । अहिले पूर्वी उत्तर प्रदेशमा घना बादल विकास भइरहेको र यसको असर स्वरुप आज दिनभर र राति देशका मध्यतराई चितवन, नवलपरासी, बारालगायत आसपास क्षेत्रमा भारी वर्षात् हुने सम्भावना रहेको मौसमविद् रिमालले बताए ।

त्यसैगरी बुधबार बिहानीपख सुदूरपश्चिमका तराई क्षेत्र कैलाली, कञ्चनपुरलगायत स्थानमा भारी वर्षात् हुने सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी धनगढीमा ९३ र सबैभन्दा कम पोखरामा ४ मिलिमिटर वर्षात् भएको छ । यस्तै नेपालगन्जमा ६६, दाङमा ६५, वीरेन्द्रनगरमा २६, डडेल्धुरामा २४ र दिपायलमा ४ तथा पूर्वको धनकुटामा ३३, ओखलढुङगामा १५, ताप्लेजुङमा १४, विराटनगरमा १० मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा २५ मिलिमिटर र भैरहवामा २४ मिलिमिटर वर्षा भएको छ ।

वर्षासँगै देशैभर बढेको तापक्रम केही घटेको छ । आज सबैभन्दा बढी सिमरा र दाङमा ३१ तथा सबैभन्दा कम जुम्लामा १७ डिग्रिसेल्सियस तापक्रम रहेको छ । काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ ।

(Visited 108 times, 1 visits today)

टिप्पणी

comments