Main Menu

नारायणगढ मुग्लिन सडकखण्डको ठेक्कामा तेस्रो पटक मिति थप

 

narayangarh-muglin-deadline-increasedसाउन ५, चितवन । निर्माण सम्पन्न गर्नुपर्ने समयमा ५० प्रतिशत मात्रै काम गरेको नारायणगढ–मुग्लिन सडकखण्डका ठेकेदार कम्पनीलाई तेस्रो पटक म्याद थप गरिएको छ, जसका कारण यात्रुले अर्काे वर्ष पनि सडकका कारण दुःख पाउने भएका छन् ।

सन् २०१५ को अप्रिलमा २ वर्षभित्रमा काम सम्पन्न गर्ने गरी ३ वटा निर्माण कम्पनीलाई सो सडक ठेक्कामा दिइएको थियो । राजधानी प्रवेश र बाहिरिने मुख्य मार्ग भएकाले सरकारको उच्च प्राथमिकताको सडक भनिए पनि विभिन्न बहानामा निर्माण कम्पनीले काममा ढिलाइ गरिरहेका छन् ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार तेस्रो पटक मिति थप गरेपछि पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीको ठेक्का अवधि आगामी फेब्रुअरी २०१८ सम्म पुगेको छ । पहिलो खण्डको मिति १४ फेब्रुअरी र तेस्रो खण्डको २० फेब्रुअरीसम्म मिति थप गरिएको हो ।

दोस्रो बीचको सडकखण्ड निर्माणको जिम्मा पाएको उड हिल तथा लामा निर्माण कम्पनीको भने समय थप गरिएको छैन । अन्य दुई कम्पनीको भन्दा लामाको निर्माणमा प्रगति नदेखिएको भन्दै समय थप नगरेर दबाब दिएको भए पनि मिति थपको विकल्प नरहेको आयोजनाले जनाएको छ । असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गरेपछि दिनभर सवारी चापका कारण काम हुन सकेको छैन । निर्माण कम्पनीले यो समयको समेत मिति थप माग्ने भएकाले मिति लम्बिँदै जाँदा आउँदो बर्सातसम्म पुग्न सक्ने देखिएको छ ।

आयोजनाका इञ्जिनियर खनालका अनुसार निर्माण कम्पनीले भूकम्पका समयमा काममा अवरोध पुगेको भन्दै ८ महिना मिति थप मागेका थिए । त्यतिबेला दुई महिना १५ दिन मात्रै मिति थप गरिएको थियो ।

नारायणगढबाट २२ किलोमिटर मुग्लिनतर्फ घुमाउनेमा रातिमा हेलोजिन बत्ती बालेर भित्तो काट्ने काम भइरहेको छ । सो ठाउँमा २ सय मिटर लामो र ४४ मिटर अग्लो भित्तो काटेर सडक फराकिलो बनाउनुपर्ने हुन्छ ।

इञ्जिनियर शिव खनालका अनुसार असार ३ गतेसम्म ५१.८ प्रतिशत मात्रै काम भएको छ ।

(Visited 73 times, 1 visits today)

टिप्पणी

comments