Main Menu

पर्यटन

निकुञ्ज चिनारी : शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज

  • गुरुप्रसाद ढकाल

national-park-intro-shey-phoksundo-npशे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित छ । यसले डोल्पा र मुगु जिल्लामा ३ हजार ५ सय ५५ वर्ग कि. मी. क्षेत्रफल ओगटेर रहेको छ । यो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो ।

समुद्र सतहबाट २ हजार २ सय मि. देखि ६ हजार ८ सय ८३ मि. सम्मको उचाइमा रहेको यस क्षेत्रमा माथिल्लो शितोष्ण, उप–हिमाली र हिमाली हावापानी पाइन्छ । फोक्सुन्डो, जगदुल्ला, दुधकुण्डजस्ता मुख्य तालहरु, काञ्जिरोवा, क्रिष्टल माउन्टेन, शे–शिखर, शिकाल्पो खाङ्ग, वेज चुचुरोजस्ता मुख्य हिमश्रृखलाहरु र शे–गुम्बा, चाकाङ गुम्बा, साम्लिङ गुम्बाजस्ता प्रसिद्ध गुम्बाहरुले यो निकुञ्ज सजिएको छ ।

देशको कुल क्षेत्रफलको २.४१ प्रतिशत क्षेत्रफल ओगटेको यस निकुञ्जको नाम विश्वविख्यात गुम्बा ‘शे’ र नेपालको सबैभन्दा गहिरो ताल ‘फोक्सुन्डो’–को नामबाट राखिएको हो । सन् १९८१ मा राष्ट्रिय निकुञ्जको रुपमा मान्यता पाएको यस निकुञ्जको औपचारिक घोषणा भने १९८४ अगस्त ६ मा गरिएको थियो । यस निकुञ्जको विकासक्रमलाई हेर्दा यो सन् १९९६ मा उत्तरी पहाडी क्षेत्र संरक्षण आयोजनाको रुपमा शुरु भयो । र, यसलाई सन् १९९८ मा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको रुपमा घोषणा गरियो ।

यहाँको भू–बनोट हेर्दा नाङ्गो जमिन, चरण क्षेत्र, झाडी तथा वन, ताल–तलैयाहरु अनि थोरैमात्रामा कृषियोग्य जमिन पनि रहेको पाइन्छ । यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा सानो संख्यामा मानिसहरुको बस्ती पनि छ ।

जैविक विविधतामा धनी यस निकुञ्जमा ३२ प्रजातिका चराहरु, २ सयभन्दा बढी प्रजातिका पंक्षीहरु, २८ प्रजातिका पुतलीहरु, ६ प्रजातिका घस्रने जीवहरु, ४ सय १७ प्रजातिका वनस्पतिहरु पाइन्छन् ।

हिउँचितुवा, ध्वाँसेचितुवा, कस्तुरीमृग, याक, व्वाँसोजस्ता दुर्लभ वन्यजन्तुको अतिरिक्त नाउर, यार, बँदेल, हिमाली कालोभालु, स्याल, लुंगुरबाँदर, रतुवामृग, वनकुखुराजस्ता वन्यजन्तुहरुका साथै डाँफे, मोनाल, चीर, विभिन्न प्रकारका हाँसहरु, रानीचरी, हिमालीकाग, भँगेरा, चिल, गिद्धजस्ता चराहरु पाइन्छन् । विश्वकै संकटापन्न चराहरु जस्तो चीर, हड्सन, बुशचाट, उड स्नाईप, यलो थ्रोटेटटिट अदि पनि यस क्षेत्रमा पाइन्छन् भने वनस्पतिहरुमा ग्रोबेसल्ला, लोंठसल्ला, लाँलीगुराँस, यार्सागुम्बा, पाँचऔले, जटामसी, भुत्ले, विष, जस्ता महत्वपूर्ण वनस्पतिहरु पाइन्छन् ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका विशेषताहरु :

  • नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज
  • नेपालको सबैभन्दा गहिरो तथा दोस्रो ठूलो ताल फोक्सुन्डो ताल (जहाँ कुनै पनि जलचरहरु पाइँदैनन् )
  • विश्वकै सबैभन्दा बढी हिँउचितुवाको जनघनत्व भएको लुङ्ग उपत्यका– मुगु
  • नेपालको अति दुर्गम र सवैभन्दा कम जनघनत्व भएको क्षेत्र
  • तिब्बतीय संस्कृति तथा धर्ममा आधारित ‘बोन पो’ धर्म मानिने स्थल
  • विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव वस्तीहरु (घो तराप, शे–गुम्बा, साल्दाङ आदि)
  • प्राकृतिक तथा साँस्कृतिक क्षेत्रको लागि विश्व सम्पदा सूचिमा प्रस्तावित क्षेत्र
  • तिब्बती वातावरणमा पाइने वन, वनस्पति तथा वन्यजन्तुहरु पाइने

सन्दर्भ स्रोतः

१) शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज संरक्षणका प्रयासहरु– रेग्मी युवराज, प्रकाशकः शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
२) शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज संरक्षण डायरी,) भ्यू नेपाल डट कम

(Visited 861 times, 1 visits today)

टिप्पणी

comments