Main Menu

नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा शपथ तथा पदभार ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजना गरिएको विशेष समारोहमा नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनु हुँदै । तस्बिर, सौजन्य : राष्ट्रपति कार्यालय, रासस

साउन २, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, मुख्य सचिवलगायतको उपस्थिति रहेको थियो ।

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले आइतबार प्रस्तावित प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

गत जेठ २४ देखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका पराजुली प्रधानन्यायाधीशमा नियुक्त भएपछि उनले आगामी २०७५ वैशाख १५ गतेसम्म कार्यभार सम्हाल्नेछन् ।

विसं २०१० वैशाख १६ गते तनहुँको काहुँ शिवपुरमा जन्मेका पराजुली लामो समयसम्म कानुन व्यवसायमा संलग्न रहेका थिए । विसं २०४७ मंसिरमा तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रुपमा अदालतमा उनको प्रवेश भएको हो ।

सर्वोच्च अदालतमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानन्यायाधीस गोपाल पराजुली ।

शपथ ग्रहणपछि लगतैको पत्रकार भेटघाटमा नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र कम खर्चमा न्याय दिने गरी आफूले काम गर्ने बताए ।  सर्वोच्च अदालतमा आएर प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गर्दै उनले छिटो र कम खर्चमा न्याय दिनका लागि कर्मचारीलाई समयभन्दा बढी काममा लगाएर भए पनि काम गर्ने योजना रहेको बताए ।

“सूचना प्रविधिको प्रयोग गरी अनलाइनबाटै म्याद तामेली, तारेख कम खर्चमा गर्न सकिने, असहाय मानिसलाई अदालत शुल्क नलिए हुन्छ कि, कसरी न्यायिक सुधार गर्न सकिन्छ भन्नेतर्फ सोचेको छु” – प्रधानन्यायाधीश पराजुलीलले भने ।

आफूले न्यायिक सुधारसम्बन्धी ३९ बुँदे कार्ययोजना तय गरेको र सोहीअनुसार काम गर्ने उल्लेख गर्दै अदालत र बार एशोसिएसनबीच आपसी छलफलबाट काम गर्ने उनको भनाइ रह्यो ।

“जता गयो त्यतै गुनासो छ, न्याय ढिला भयो, ढिला न्याय दिनु भनेको न्याय नदिनुसरह हो भन्ने तर संविधानले दिएको जिम्मेवारीभित्र रहेर काम गर्नेछु” – प्रधानन्यायाधीश पराजुलीले थपे ।

(Visited 132 times, 1 visits today)

टिप्पणी

comments