Main Menu

विष्णु भण्डारीको पहिलो उपन्यास ‘पहेँलो घाम’

असोज २०, काठमाडौं । कवि विष्णु भण्डारीको पहिलो उपन्यास पहेँलो घाम प्रकाशित भएको छ । उपन्यास जनयुद्धमा सहभागी महिला छापामारको जनयुद्धपछिको जीवनमा आधारित भएको उपन्यासकार भण्डारीले मूल्याङ्कन अनलाइनलाई बताए ।Pahenlo Gham by Bishnu Bhandari

दश वर्ष लामो माओवादी जनयुद्धमा सहभागी महिला छापामारको सेना समायोजनपछिको जीवनलाई कथामा बुनिएको उनले बताए । ‘जनयुद्धमा साहसिक योद्धाको रुपमा परिचित छापामार युवतीको कथा उपन्यासमा बुनिएको छ,’ उनले भने, ‘युवतीले युद्धकालमा भोग्नुपरेको सघन पीडा र देखाएको साहसको रोमाञ्चसँगै उपन्यास अघि बढ्छ । पार्टी शान्तिप्रक्रियामा आएपछि उसले देखेको सपना कसरी भत्किन्छ ? ऊ कसरी अयोग्य बन्छे ? के ऊ अयोग्य नै थिई त ? उपन्यासका घटनाक्रम यिनै प्रश्नको वरिपरि घुमेका छन् ।’

उपन्यासमा अयोग्य भनेर सेना समायोजनमा नपारिएका छापामारले गरेको सङ्घर्ष र समकालीन राजनीतिलाई सँगसँगै उतारिएको भण्डारीले बताए ।

भारतले गरेको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएको भन्दै प्रकाशक प्राइम बुक्सले भण्डारीको उपन्यासको विमोचन कार्यक्रम गर्न नसकेको जनाएको छ ।

भण्डारी प्रगतिशील लेखक संघका केन्द्रीय कोषाध्यक्ष तथा अखिल नेपाल लेखक संघको केन्द्रीय सदस्य हुन् । उनका यसअघि सात कविता कृति प्रकाशित छन् । पछिल्लो पटक उनका ‘उत्सर्ग’ (महाकाव्य–२०६७) र ‘घाइते ह्विलचेयर’ (कविता संग्रह–२०६९) चर्चामा थिए ।

(Visited 560 times, 1 visits today)

टिप्पणी

comments