Main Menu

पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ नघटेसम्म यातायात भाडा नघट्ने

 

असार १९, काठमाडौँ । असारमै दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा नघट्ने भएको छ ।

पेट्रोलियम पदार्थको भाउ एक मुष्ट रु. ५ भन्दा बढी नघटेकाले विसं २०६५ मा लागू भएको वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक यातायातको भाडा नघट्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।

“वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक सवारीको भाडादर निर्धारणमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानिएकाले तत्काल भाडा घट्न सक्दैन,” पाण्डेले भने, “अन्य सूचकको मूल्य अहिले घटेको छैन । पेट्रोलियम पदार्थको भाउ पनि यो महिनामा दुई पटक गरी रु ३.५० मात्र घटेको हो ।”

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको थियो । पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलि रु. २ घटाइएको थियो । नयाँ मूल्यानुसार पेट्रोलको मूल्य प्रतिलि रु. ९८ बनाइएको छ । यसअघि पेट्रोलको मूल्य रु. १०० थियो ।

डिजेल र मट्टितेलको मूल्य पनि रु. दुई घटेर रु. ७४ कायम भएको छ । यसअघि पनि पटक-पटक पेट्रोलियम पदार्थको भाउ घट्दा सार्वजनिक यातायातको भाडा घटेको छैन । निगमले यसअघि पछिल्लो पटक यही असार २ गते पेट्रोलियम पदार्थको भाउमा रु. १.५ घटाएको थियो ।

पछिल्लो पटक विसं २०७२ माघ २४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । त्यसबेला घटाइएको भाडासमेत कार्यान्वयनमा नआएको उपभोक्तावादीको गुनासो छ ।

सरकारले २०७२ माघमा सार्वजनिक यात्रुवाहक सवारीतर्फ २.५३ प्रतिशत, सार्वजनिक मालवाहक सवारी साधन तराईमा ३.७६ प्रतिशत र पहाडमा ३.२८ प्रतिशत भाडा घटाएको थियो । यसैगरी मिटरजडित ट्याक्सी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटकीय सवारी साधनको भाडा १.६५ प्रतिशतले घटाएको थियो ।

सवारी चालक पेसा छाडेर सार्वजनिक यातायातको विकृतिविरुद्ध लागिपरेका भक्तपुरका रामबहादुर थापा सरकारी संयन्त्र यातायात व्यवसायीबाट प्रभावित भएकाले भाडा नघट्ने गरी वैज्ञानिक भाडा पद्धति बनाइएको आरोप लगाउँछन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा यातायात निरीक्षकको व्यवस्था भए पनि कार्यान्वयन नगरिँदा भाडादर लागू नहुने गरेको उनले सुनाए ।

मानिसको आवागमन एवम् वस्तुको ओसारपसारका लागि सुरक्षित, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउन विसं २०४१ मा विभागको स्थापना भएको थियो ।

(Visited 89 times, 1 visits today)

टिप्पणी

comments