Main Menu

दक्षिण एशियामा बढ्दो फासिवादको विरोध गरौं—विद्वत वर्ग

असोज  १, काठमाडौं
भारतमा गत भदौ १२ गते महाराष्ट्र राज्यको भाजपा सरकारले एक्कासी अगुवा बौद्विक एवं अधिकारकर्मीहरुको गिरफ्तार गरेर भारतभरिका वामपन्थी लेखक, पत्रकार, साहित्यकार, प्राध्यापक एवं आम बौद्धिक वर्गलाई नै आतङ्कित पार्ने प्रयासले दक्षिण एशियामा उग्रदक्षिणपन्थले खतरनाक फासिवादी चरित्र धारण गरेको हिजो भदौ ३१ गते काठमाडौंमा भएको एक अन्तर्क्रिया कार्यक्रममा निष्कर्ष निकालियो । ‘साम्राज्यवादविरोधी मोर्चा’ ले आयोजना गरेको उक्त अन्तर्क्रियामा लेखक, पत्रकार, अधिकारकर्मी, साहित्यकार, प्राध्यापक एवं अन्य आम बौद्विक वर्गको उपस्थिति रहेको थियो ।

अन्तर्क्रियामा बोल्दै लेखक एवं वाम अभियन्ता हरि रोकाले अहिले भारतमा ‘शहरीया नक्सल’को बिल्ला लगाई घरघरबाट घिसारेर पक्राउ गरिएका भारतीय अधिकारकर्मी बौद्धिकहरुसँग सन् २००१ देखि नै आफ्नो चिनाजानी भएको र उनीहरु भारतमा अपहेलित अल्पसंख्यक दलित, आदिवासी, महिला तथा सीमान्तकृत वर्गको हक र अधिकारका लागि आवाज उठाइरहेका व्यक्तित्वहरु भएको बताउनुभयो । उहाँले अहिले ‘शहरीया नक्सल’को बिल्ला लगाई दिल्ली प्रहरीले पक्राउ गरेका गौतम नव्लखा सन् १९८० को दशकमा प्रतिष्ठित Economic Weekly जर्नलका consultative editor भएको र विगत १० वर्षदेखि उहाँ त्यस जर्नलबाट छुट्टि लिई काश्मिरमा त्यहाँको जनताको अधिकारको पैरवी गर्दै गरेका व्यक्तित्व भएको जानकारी दिनुभयो । लेखक रोकाले गौतम नव्लखा ०६२/६३ को आन्दोलनताका नेपालमा आई आन्दोलनका लागि सहयोग गरेको स्मरण गराउनुभयो ।

हरि रोका

वाम अभियन्ता हरि रोकाले अहिले मोदी नेतृत्वको हिन्दूवादी उग्रदक्षिणपन्थी भारतीय सरकारले गैर कानुनी रुपमा अन्यायपूर्वक गिरफ्तार गरेका प्रसिद्ध अभियन्ता एवं बौद्धिकहरु सुधा भारद्वाज, वेर्नन गोन्साल्भस, गौतम नव्लखा, वारावारा राव, अरुण फेरेइरा, क्रान्थि टेकुला आदिहरुजस्ता पक्राउ पर्नुमा अरु केही कारण नभई सीमान्तकृत भारतीय जनताको न्यायका लागि लडिरहेकाहरुलाई आतङ्कित पार्ने उनीहरुको प्रयास मात्र भएको बताउनुभयो । उहाँले भाजपा सत्तामा आउँदा नै राष्ट्रवादको नारा लिई आएको र उनले आफू गुजरातका मुख्यमन्त्रीको रुपमा रहँदा धनाढ्यहरुको संलग्नतामा लागु गरेको  corporate capitalism लाई नै अहिले भारतमा लागु गरेको बताउनुभयो । अहिले नरेन्द्र मोदीले बढीमा तीनजनाको टोलीको सहयोगमा एक्लै नै भारतलाई उग्रदक्षिणपन्थी हिन्दूवादी दिशामा अगाडि बढाइरहेको लेखक रोकाको भनाइ रह्यो । उहाँले नरेन्द्र मोदी अहिले निर्वाचित तानाशाह भएको बिचार व्यक्त गर्नुभयो । चार वर्षअगाडि आफू सत्तामा आउँदा जेजे गर्ने भनेर बाचा गरेको हो, नरेन्द्र मोदीले ती कुनै पनि पूरा गर्न सकेका छैनन् । अहिले एक वर्षपछि २०१९ मा अर्को निर्वाचन हुँदैछ । त्यस निर्वाचनमा भारतीय जनताको ध्यान अन्यत्र मोड्नका लागि अहिले मोदी सरकारले ‘शहरीया नक्सल’को नाममा नक्कली शत्रु खडा गरी जनताको आँखा धुलो छर्कन लागेको लेखक रोकाको कथन रह्यो ।

अन्तर्क्रियामा अहिले पक्राउमा परी थुनामा रहेकी भारतीय कवि वरवरा रावको कविताबाट सुरु गर्दै कवि निभा शाहले विगतमा नेपालमा चलेको ०६२/६३ को जनआन्दोलनमा भारतीय बौद्धिकहरुले कसरी सहयोग गरेका थिए भनेर त्यसबारे दिल्लीमा रहँदाको आफ्नो अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘सन् २००२ को जुन÷जुलाइको समय थियो, दिल्लीको त्रिवेणी हलमा गौतम नव्लखा, आनन्द स्वरुप वर्मालगायतका बौद्धिकहरुसँग नेपालमा चलिरहेको जनआन्दोलनबारे छलफल चलिरहेको थियो । त्यस छलफलमा नेपालको तर्फबाट राम कार्की, महेश्वर दाहाल, मोती रिजाल र म थिएँ । साँझ सादा पोशाकका प्रहरीहरु हल प्रवेश गरी हामी नेपालीहरुलाई पक्राउ गरी सिबिआइको हेड अफिसमा पुर्याइए । प्रहरीले हामीलाई आतङ्कवादी भनी गाली गर्यो । मैले तिनीहरुलाई यदि हामीहरु आतङ्कवादी कहलिन्छौं भने भगतसिंहलाई पनि आतङ्कवादी भन्नुपर्ने हुन्छ । के त्यस्तो भन्न सकिन्छ भनी मैले प्रश्न गरेँ’ ।

निभा शाह

‘प्रहरीले पक्राउ गरी सिबिआइको हेड अफिसमा हामीलाई राखिएको खबर पाउँनासाथ प्रतिष्ठित वकिल नीताकृष्ण हामीलाई भेट्न दौडेर त्यहाँ आइपुग्नुभयो । उहाँले प्रहरीहरुलाई हप्काएर हामीलाई थुनामा राखेको कारण र त्यसको कानुनी आधारबारे प्रश्न सोध्नुभयो । एउटी महिला वकिलले त्यस्तो साहसका साथ प्रहरीहरुसँग हाम्रो गिरफ्तारीलाई लिई कड्किएको देख्दा म चकित भएँ । उहाँपछि मात्र आनन्द स्वरुप वर्मा, गौतम नव्लखा र अन्य बौद्धिकहरु हामीलाई भेट्न आउनुभयो’ । कवि निभा शाहले दिल्लीको वृतान्त सुनाउनुभयो ।

कवि शाहले भन्नुभयो, ‘संकट परेको बेला त्यत्रो जोखिम उठाई हामीलाई सहयोग गर्नेहरुलाई आज ज्यादती भएको बेला त्यसबिरुद्ध राम कार्की, बाबुराम भट्टराई कोही पनि बोलिरहेका छैनन् । यस्तो किन ? मलाई लाग्छ उनीहरु साम्राज्यवादी कम्युनिस्ट भइसकेका छन्’ ।

उनले जनयुद्धको बेला आफूलाई भारतीय लेखिका अरुन्धती रायकहाँ बाबुराम भट्टराई र राम कार्कीले पठाएका थिए, तर आज उहाँहरुलाई अन्याय परेको बेला उनीहरु केही पनि नबोलेको भनी त्यस्ता मानिसहरुको सङ्गतमा लागेकोमा आफूलाई पछुतो भएको बताउनुभयो । उनका अनुसार बाबुरामले अहिले महल र छाप्रोको एकसाथ प्रतिनिधित्व गर्ने भनी हिँडिरहेका छन्, त्यो कुनै सम्भवको कुरा होइन ।

एन बि गिरी

कार्यक्रममा भुटानी शरणार्थी एन.बि. गिरीले आफूहरु अस्त्विहीन जिन्दगी बाँचिरहेको यथार्थ आम मानिस समक्ष राख्न अन्तर्क्रियाम भाग लिन आएको बताउनुभयो । उहाँले नेपाल देशको नेतृत्वमा कमी आउँछ भने देशभित्र बाहिर सबै ठाउँका नेपालीहरुले दुःख पाउने बिचार व्यक्त गर्नुभयो । आफूहरुले बोल्न मात्र सक्ने अवस्था भएको तर भुटानका राजाले बन्दूकले दबाउने भएकोले जीवन रक्षाका लागि पनि तत्काल आफ्नो देश फर्कने स्थिति नबनेको भुटानी शरणार्थी गिरीले बताउनुभयो ।

उक्त अन्तर्क्रियामा ‘यदि तिमी अरुको लागि लड्दैनौ भने तिम्रो लागि पनि लड्ने कोही हुन्न’ भन्ने हरफ वाचन गर्दै लेखक, पत्रकार एवं अभियन्ता नरेन्द्रजङ्ग पिटरले भारतीय अभियन्ताहरुको समर्थनमा केही नबोल्ने अहिले सत्तामा पुगेका नेताहरुलाई भविष्यमा उनीहरुलाई संकट परेको बेलामा बोल्ने कोही पनि नहुने चेतावनी दिनुभयो । उहाँले उदारीकरण, वहिष्करण, उदारवाद र निजीकरणले भारतलगायत दक्षिण एशियामा उग्रदक्षिणपन्थहरुको अतिवाद मौलाउन थालेको दृष्टान्त सुनाउनुभयो । भारतमा हिन्दू अतिवाद, श्रीलङ्कामा सिंंहाली अतिवाद, पाकिस्तान र बङ्गलादेशमा इस्लामिक अतिवाद र म्यान्मारमा बौद्ध अतिवादले उग्रदक्षिणन्थको बाटोबाट फासिवाद जन्माइरहेको बिचार पत्रकार पिटरको रह्यो । उहाँले बङ्गलादेशमा धर्म निरपेक्षतावादी ब्लगरहरुको हत्याले फासिवादको संंकेत दिएको बिचार व्यक्त गर्नुभयो । पिटरले भूगोल, भाषा, अनुहार अलगअलग भए पनि फासिवादीहरुको चरित्र एउटै भएको र हुने बिचार व्यक्त गर्दै उनीहरुबाट यस क्षेत्रका आम श्रमिक वर्ग, सीमान्तकृत जनता, आदिवासी, दलित र पछाडि पारिएको क्षेत्रमा रहेका आम जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

नरेन्द्रजङ्ग पिटर

कार्यक्रममा बोल्दै मूल्याङ्कन मासिक र मूल्याङ्कन अनलाइनका सम्पादक तुल्सीदास महर्जनले पुँजीवादमा संकट पैदा हुँदा उग्रदक्षिणपन्थ हावी हुने र त्यसले फासिवादी चरित्र ग्रहण गर्ने भएकोले अहिले दक्षिण एशियालगायत विशवभरि नै फासिवाद देखापर्न थालेकोबाट पुँजीवाद संकटमा रहेको संकेत दिएको बिचार व्यक्त गर्नुभयो । उहाँले फासिवादले विश्वमा युद्ध निम्त्याउने भएकोले अहिले युद्धको खतरा बढ्दै गइरहेकोले विश्वभरका युद्धविरोधी जनता सचेत हुनुपर्ने र फासिवादविरुद्ध एकसाथ उभिनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार महर्जनले पुँजीवादी सत्ता दक्षिणपन्थ हुनु र संकट परेको बेलामा त्यो उग्रदक्षिणपन्थमा विकसित हुनु स्वाभाविक र बुझ्न सकिने कुरो भएको तर वामपन्थी र मार्क्सवादीहरु दक्षिणपन्थमा पतन हुँदा सर्वसाधारणले भेउ नै नपाउने स्थिति बनेको हुन्छ र यो अत्यन्तै भयावह स्थिति हुुन्छ भन्ने बिचार व्यक्त गर्नुभयो । उहाँले नेपालको सन्दर्भमा हिजो जनयुद्ध र जनआन्दोलन गर्दै गणतन्त्र ल्याउन अगुवाइ गर्ने शक्तिहरुमा नै दक्षिणपन्थी रुझानको आधिक्यता हुँदा अहिले नेपाली क्रान्ति संकटग्रस्त भएको बताउनुभयो । यसो हुनुमा क्रान्तिकारी आन्दोलनमा मूलतः आर्थिक र साँस्कृतिक हिसाबले निम्न मध्यम र मध्यम वर्गको परिवारबाट आएका बौद्धिकहरु नै अगुवा हुने गरेको तर तिनीहरुले आफ्नो विरासतको सँस्कृतिलाई छाड्न नसकेको आधारभूत कारणको रुपमा रहेको बिचार व्यक्त गर्नुभयो । क्रान्तिकारी आन्दोलनमा साँस्कृतिक रुपान्तरणको प्रक्रिया सुरुदेखि नै नहुँदा यस्तो स्थिति देखा परेको उहाँको तर्क रह्यो ।

तुल्सीदास महर्जन

उहाँले फासिवाद र साम्राज्यवादको बिरुद्धमा अहिले चौतर्फी आवाज उठ्नुपर्ने आवश्यक भएको बताउनुभयो । भारतीय राज्यसत्तामा अहिले फासिवादको जुन चरित्र देखा परिरहेछ, त्यो नेपालमा पनि देखा नपर्ला भन्न सकिन्न, किनकि दक्षिणपन्थी सिद्धान्त, बिचार र व्यवहारले सत्ताधारीहरुलाई अन्ततः त्यही बाटोमा पुर्याउँछ भन्ने बिचार पत्रकार तुल्सीदास महर्जनको रह्यो ।

साम्राज्यवादविरोधी मोर्चाका अध्यक्ष बिनोद अधिकारीको सभापतित्वमा भएको सो अन्तर्क्रिया कार्यक्रमलाई मोर्चाका नहेन्द्र खड्काले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको सुरुवातमा बव डिलनको Masters of war शिर्षकको कविता वाचन गर्दै मोर्चाका नरेश ज्ञवालीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

फोटो : हीरा महर्जन/मूल्याङ्कन अनलाइन

(Visited 478 times, 1 visits today)

टिप्पणी

comments