Main Menu

बिना जमिन छतमा पनि तरकारी खेती

rooftop-farming-palpaसाउन १३,पाल्पा । जमिन छैन, तर उनले ७० किलो तरकारी उत्पादन गरी बेचे । श्रम, ज्ञान र सीपको प्रयोग गरेर पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२, पोखराथोकका एक किसानले घरको छतमा राखिएका ड्रममा गरिएको तरकारी उत्पादन जमिन बिना पनि उत्पादन सफल हुँदोरहेछ भन्ने एक नमूना हो ।

तरकारी खेती गर्नका लागि प्रशस्त जमिन चाहिन्छ भन्ने मान्यतालाई उनले गलत साबित गरे । पाल्पा पोखराथोकका ५७ वर्षीय कवि नेपालले प्लास्टिकका ड्रममा तरकारी खेती गरी सफलता पाएपछि श्रम र पसिना पोखेको अवस्थामा प्रशस्त जमिनको अभावमा पनि तरकारी खेती गरी आम्दानी गर्न सकिने बताए ।

एउटा सिङ्गो ड्रमलाई काटेर उनले दुईओटा भाँडा बनाएका छन् । माटोले भरिएका ड्रमका दुईओटा भाडामा सिमी ४० किलो, लसुन १५ किलो, प्याज १५ किलो र बोडीसमेत उत्पादन भएको नेपालले बताए । बारीमा झैँ बाँसका झिक्रामा झाल बेरिएर सीमी फलेका छन् ।

मुटुको बाइपास सर्जरी गरेका बिरामी नेपाल बिहान बेलुका छतमा चढछन्, कहिले तरकारी खेतीमा चाहिने पानी हाल्छन् त कहिले ड्रममा झार गोडछन्, यसरी घरमा नै विषादीविहीन तरकारी उत्पादनमा उनि केन्द्रित छन् । यो समयमा उनि रु. १५ हजार आम्दानी गर्नसमेत सफल भएका छन् ।

जमिन नभएकोमा चिन्ता लिनु पर्दैन । नेपालले घरको छतमा तरकारी खेती गरेर बूढेसकालमा समयको सदूपयोग गरी शरीरलाई नियमित कसरत गर्ने र भान्छामा विषादीविहीन तरकारी पकाउने उनलाई दोहोरो फाइदा भएको छ । यो उनको समय बिताउने काम मात्र होइन, दुई–चार रुपैयाँ पनि कमाउने र शरीरलाई स्वच्छ र स्वस्थ राख्न समेत सफल हुने विधि पनि हो ।

उनको दुईतले पक्की घरको छतमा ड्रममा गरिएको तरकारी खेती वन्यजन्तुबाट पनि सुरक्षित रहेको उनि बताउँछन् ।

सिमी, बोडी, प्याज, लसुन लगायतका तरकारीले घरको सौन्दर्यसमेत बढाएको छ । ग्रामीण तथा शहरी क्षेत्रमा बसोबास गर्ने जो कोहीले पनि जमिनको अभावमा घरमा नै तरकारी खेती गरेर आत्मनिर्भर बन्दै दुई–चार पैसा कमाउन सकिने सम्भावना उनले देखाएका छन् । 

(Visited 243 times, 1 visits today)

टिप्पणी

comments