Main Menu

अक्टोबर क्रान्ति शताव्दी वर्ष उत्सव काठमाडौंमा

कार्तिक २३, काठमाडौं

राजनीतिक पार्टीका तथा युवा नेताहरुको उपस्थितिमा सेमिनार कार्यक्रमलाई उद्घाटन गर्दै एउटी ५ वर्षकी बच्ची ।

विश्वमा पहिलो पटक समाजवादी क्रान्ति लेनिन र वोल्शेविक पार्टीको नेतृत्वमा रुसी श्रमिक वर्गले सन् १९१७ अक्टोबरमा (नोभेम्बर ७) रुसमा सम्पन्न गरेको थियो । त्यस क्रान्तिले हिजोको दिनबाट १ सय वर्ष पार गरेको छ । त्यस्तै गरी कार्ल मार्क्स र फ्रेड्रिक एङ्गेल्सले संयुक्त रुपमा लेखेको मार्क्सवादको मूल ग्रन्थको रुपमा रहेको ‘पुँजी’ अर्थात् ‘दास क्यापिटल’ प्रकाशित भएको १ सय ५० वर्ष भयो । श्रमिक वर्गले पुँजीजिवी वा बुर्जुवा वर्गको शोषणको चङ्गुलबाट आफूलाई मुक्त गरी सम्पूर्णमा मानवले मानवलाई शोषण गर्ने प्रथालाई नै अन्त्य गर्न सक्छ भन्ने सन्देशका साथ सम्पन्न सो क्रान्तिको शताव्दी उत्सव विश्वभरि नै श्रमिक वर्ग र त्यसको पक्षधरका जनताहरुले मनाइरहेको सन्दर्भ र ‘पुँजी’ को १ सय ५० औं प्रकाशन वर्षलाई लिई काठमाडौंमा पनि हिजोबाट एक अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ ।

नेपाल, भारत र चीनका श्रमिक वर्गीय बौद्धिकहरुको सहभागितामा सुरु भएको सो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन हिजो काठमाडौंमा एउटी पाँच वर्षीय बालिकाको हातबाट भयो । नेपाल वैकल्पिक अध्ययन समाजले आयोजना गरेको सो सेमिनारको विषय ‘अक्टोबर क्रान्ति शताव्दी उत्सव : समकालीन विमर्श’ रहेको छ । उद्घाटनको समयमा नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत बिभिन्न पार्टीका नेताहरु, युवा–विद्यार्थी नेताहरु र अन्य प्रतिष्ठित बौद्धिकहरुसमेत मञ्चमा उपस्थित भएका थिए ।
प्रख्यात जनकलाकारहरु रामेश र रायनले ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई’ भन्ने बोलको गीतबाट सहभागीहरुलाई स्वागत गरिएको उक्त सेमिनार उद्घाटन कार्यक्रमलाई समाजका महासचिव हरि रोकाले एक छोटो मन्तव्यबाट स्वागत गरेका थिए ।

“गाउँगाउँबाट उठ” बोलको गीत गाउँदै रामेश र रायन ।

कार्यक्रममा आयोजक संस्थाको तर्फबाट मन्तव्य व्यक्त गर्दै नेपाल वैकल्पिक अध्ययन समाजका सल्लाहकार समितिका अध्यक्ष प्रोफेसर पिताम्वर शर्माले रुसी अक्टोबर समाजवादी क्रान्तिले तत्कालीन अवस्थामा सामन्ती राजतन्त्रबाट बुर्जुवा गणतन्त्रमा प्रवेश गरेको रुसलाई बुर्जुवा राज्सत्ताबाट पनि मुक्त गरी समाजवादी राज्यसत्ता स्थापना गरेको मात्र नभई त्यो क्रान्ति समस्त विश्वका श्रमिक वर्गीय आन्दोलनको प्रेरणाको केन्द्र पनि बनेको उनले बताए । उनले रुसी अक्टोबर क्रान्ति अहिले पनि पुँजीवादका लागि ठूलो चुनौति र श्रमिकहरुको आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताए ।

प्रोफेसर प्रभात पटनायक

मन्तव्य व्यक्त गर्ने क्रममा भारतीय मार्क्सवादी बौद्धिक एवं जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर प्रभात पटनायकले विश्वमा रुसी समाजवादी क्रान्ति नभएको भए औपनिवेशीकरणलाई अन्त्य गर्ने काम इतिहासमा हुन कठिन हुने बताए । उनले सोभियत समाजवादको अस्तित्व अहिले नभए पनि तत्कालीन अवस्थामा विश्वलाई साम्राज्यवादी दबदबाबाट रोक्न त्यसले खेलेको महत्वपूर्ण भूमिकाले गर्दा त्यसको महत्व विशाल रहेको बताए ।

चिनीया बौद्धिक रेनमिन विश्वविद्यालयका प्रोफेसर फान जियान सिनले मन्तव्य दिँदै रुसी अक्टोबर क्रान्तिबाटै प्रेरणा लिई चीनमा चिनीया कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति भएको र अहिले त्यहाँ चिनीया चरित्रको समाजवाद लागु भइरहेको बताए । उनले समाजवादी क्रान्ति एक देशबाट अर्को देशमा निर्यात त हुन्न तर चिनीया क्रान्तिले रुसी अक्टोबर क्रान्ति सही छ भन्ने पुष्टि गरेको बिचार व्यक्त गरे । उनका अनुसार हरेक ठाउँमा आ–आफ्नै किसिमले समाजवादी क्रान्ति हुन सम्भव छ र त्यो दक्षिण एसियाका लागि पनि सत्य हुन्छ । उनले साम्राज्यवादलाई रोक्न समाजवादले मात्र सक्ने बिचार पनि व्यक्त गरे ।

प्रोफेसर फान जियान सिन

कार्यक्रममा भारतबाट आएका समकालीन तीसरी दुनिया पत्रिकाका सम्पादक एवं चर्चित वामपन्थी बौद्धिक व्यक्तित्व आनन्द स्वरुप वर्माले हिन्दी र अङ्ग्रेजी भाषा दुबै मिसाई साम्राज्यवादी अमेरिकाले कम्युनिस्टहरुलाई सखाप गर्नका लागि नै धार्मिक कट्टरपन्थीहरुलाई जन्माएको तथ्यलाई सविस्तार प्रस्तुत गरे । उनले इन्डोनेशिया देश विश्वको सबभन्दा ठूलो मुस्लिम देश भएर पनि १९६५ तिर त्यहाँ रुस र चीनका सत्ताधारी कम्युनिस्ट पार्टीहरुपछि सत्ताबाहिरको विश्वकै सबभन्दा ठूलो कम्युनिस्ट पार्टी रहेको इतिहास सुनाए । उनले इन्डोनेशियामा १९६५ तिर जनताले चुनेर नै कम्युनिस्ट नेता सुकार्नोलाई राष्ट्रपति बनाएको र उनले संविधान अन्तर्गत रहेर नै समाजवादको विकास गर्न खोजेको बताए । त्यतिखेर इन्डोनेशियाको जनसङ्ख्या ११ करोड रहेको र तिनमा ३ करोड मानिसहरु त कम्युनिस्ट पार्टीभित्र रहेको तथ्य उनले प्रस्तुत गरे । त्यो कम्युनिस्ट पार्टी र त्यहाँको कम्युनिस्ट आन्दोलनलाई पूर्णतः सखाप पार्न अमेरिकाले इन्डोनेशियाका सेनापति सुहार्तोलाई किनी सैनिक ‘कू’ गराएर उनी मार्फत् ३० लाखभन्दा बढी कम्युनिस्टहरुको हत्या गराएको बताए । कम्युनिस्ट सुकार्नोलाई हटाइसकेपछि सेनापति सुहार्तोले अमेरिकाको निर्देशनमा त्यसपछिका ३० वर्ष निरंकुश तानाशाही शासन चलाएको र त्यसपश्चात नै विश्वमा इस्लामिक कट्टरपन्थीहरुको बिगबिगी सुरु भएको भारतीय पत्रकार वर्माले बताए । पत्रकार वर्माले इन्डोनेशियाको कम्युनिस्ट पार्टी ठूलो भए पनि ऊसँग आफ्नो सेना नभएकोले राज्यसत्तालाई जोगाउन नसकेको र त्यसैले क्रान्तिका लागि कम्युनिस्टहरुसँग आफ्नै सेना हुनुपर्ने पुष्टि भएको बिचार व्यक्त गरे ।

भारतीय पत्रकार आनन्द स्वरुप वर्मा

उनले अफगानिस्तामा बिन लादेन र तालिवान अमेरिकाले नै जन्माएको बताए । उनका अनुसार विश्वमा अहिले भएका मुस्लिम कट्टरपन्थी आतङ्कवादी समूहरुका पछाडि अमेरिका नै रहेको तथ्य प्रस्तुत गरे । पत्रकार वर्माले विश्वमा साम्राज्यवादीहरुले नै युद्ध जन्माउने हो र शान्तिको लागि समाजवादी क्रान्तिको विकल्प नभएको जिकीर गरे । र, उनले विश्व समाजवादी क्रान्तिका लागि महान रुसी अक्टोबर क्रान्ति सबैको लागि प्रेरणा भएको बताए ।
अर्का चिनीया बौद्धिक डा. हान फेन वाङले चिनमा अहिले चिनीया शैलीको समाजवादी बजार अर्थतन्त्र रहेको बताए । र, उनले चिनीया समाजवाद अहिले पनि प्राथमिक चरणमै रहेको बिचार व्यक्त गरे ।

डा. महेश मास्के

कार्यक्रमलाई समापन गर्दै नेपाल वैकल्पिक अध्ययन समाजका अध्यक्ष एवं उक्त उद्घाटन कार्यक्रमका सभापति डा. महेश मास्केले अहिलेको भूमण्डलीकृत विश्वमा वित्तीय पुँजीवादले विश्वव्यापी रुप लिएको बताए । उनले मार्क्स र एङ्गेल्सले ‘दास क्यापिटल’ मा बताएको कुरा अहिले आएर पनि सत्य सावित भएको बताए । डा. मास्केले अहिले हामीले मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन, रोजा लक्जेम्बर्ग, माओ, टङ् सियाओपिङ र सिजिन पिङसमेतलाई पढ्नुपर्ने बताए ।

हिजो उद्घाटित भएको सो अन्तरराष्ट्रिय सेमिनार आज र भोलि काठमाडौंमा हुने आयोजक संस्थाले बताएको छ ।

 

(Visited 246 times, 1 visits today)

टिप्पणी

comments