Main Menu

सम्पूर्ण रुपमा क्रान्तिकारी नेता

गिरीराजमणि पोखरेल

२०३६ सालको आन्दोलनबाट पूर्णकालीन कार्यकर्ता भएर मैले विद्यार्थी संगठनको कामलाई अगाडि बढाएको थिएँ । २०४१ सालमा विद्यार्थीको केन्द्रीय अध्यक्ष भएर काठमाडौँमा कार्यक्षेत्र बनाउँदा त्यतिबेला मूल्याङ्कन पत्रिका साप्ताहिकको रुपमा निस्कन्थ्यो । संयोगवश म पनि पत्रिकाको भित्री टीममा आइपुगेँ, जहाँ प्रकाशजी सम्पादकको रुपमा हुनुहुन्थ्यो । आन्दोलनका क्रममा उहाँसँग सँगसँगै काम गर्ने प्रक्रिया बढ्यो । विद्यार्थीको अध्यक्षको हैसियतले केन्द्रीय समितिलाई अगाडि बढाउँदा मेरासामू केही समस्या आए । त्यतिखेर उहाँ सिद्धार्थ वनस्थली स्कुलमा पढाउनुहुन्थ्यो, पब्लिक एडमिनिष्ट्रेसनमा डिग्री पनि गर्दै हुनुहुन्थ्यो भने विद्यार्थी युनियनको सभापति पनि हुनुहुन्थ्यो । विद्यार्थी संगठनलाई महासचिवको आवश्यकता थियो । मैले पार्टी महासचिव निर्मल लामालाई भेटेर प्रकाशजीलाई विद्यार्थी संगठनको महासचिव बनाउन माग गरेँ । उहाँलाई त्यतिबेला पत्रिका, बुद्धिजीवी र शिक्षकको जिम्मेवारी थियो । उहाँलाई विद्यार्थी संगठनमा ल्याउन लामादाइ मान्नुभएन ।

वाह्य रुपमा पत्रिका नै हाम्रो भेटघाट र छलफल गर्ने माध्यम थियो । तर, आन्तरिक रुपमा हामी पार्टी संगठनमा गोलबन्द हुँदै गयौँ र छोटो समयमै आन्दोलन र क्रान्तिकारी पार्टी निर्माणसम्बन्धमा समान सोचका कारण एउटै केन्द्रमा पुग्यौँ । पछिल्लो क्रमलाई हेर्दा हामीहरु उहाँको वरिपरि नै जम्मा भएर काम गरेका छौँ । नेताहरुको पनि नेता बन्ने ठाउँमा उहाँ पुग्नुभयो । यो स्थिति त्यत्तिकै पैदा भएको छैन । गएको २४ वर्षदेखि हामीसँगै काम गर्दै आएका छौँ । सो कालखण्डको कामको अहिले समुच्च मूल्याङ्कन सम्भव छैन । मैले उहाँको भूमिका र योगदानका केही मुख्य पक्षको मात्र यहाँ चर्चा गर्नेछु ।

२०४६ को जनआन्दोलनपछि नेपालको कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारमा रहेका तर विविध समूहहरु बनाएर बसेकाहरुलाई २०४७ मा एकताबद्ध पार्ने कार्य भयो । नेकपा एकताकेन्द्र त्यही क्रममा जन्मियो । पार्टी एकता संयोजन समितिमा रहेर उहाँले त्यो एकताको जग तयार पार्न महत्वपूर्ण भूमिका खेल्नुभयो । पार्टी एकता घोषणा हुँदा उहाँ पूर्णकालीन कार्यकर्ता बनिनसकेकाले नेतृत्वमा बस्नुभएन । तर, २०४८ को महाधिवेशनमा आइपुग्दा उहाँ रुपान्तरणको एउटा चरण पार गर्दै नेतृत्वमा बस्नुभयो र पार्टीभित्रको अन्तरविरोध हल गर्ने र फुटलाई रोक्न कोशिस गर्नुभयो, तर २०५० मा आएर पार्टी विभाजित भयो । फुटको पीडा र २०५१ को मध्यावधि चुनावमा भएको नराम्रो पराजयपछि त पार्टीमा एक खालको निरासा र पलायनको सिलसिला नै सुरु भयो । त्यो ज्यादै अप्ठेरो अवधि थियो । पुराना नेताहरु तात्कालीन चुनौतीलाई हल गर्दै नेतृत्व दिने अवस्थामा हुनुहुन्थेन । यस्तो बेलामा उहाँले नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुभयो । त्यस क्रममा २०५१ मा केन्द्रीय सचिव र २०५४ मा महासचिव हुनुभयो । छिन्नभिन्न भएको र एउटा केन्द्रमा नढलेको संगठनलाई नयाँ ढंगको कम्युनिष्ट पार्टीमा बदल्ने प्रकृया प्रारम्भ भयो ।

संगठनात्मक रुपमा भिन्न मतलाई सम्मान गर्ने परिपाटीको सुरुवात, कामकारवाहीमा एकरुपता र अभिव्यक्तिको स्वतन्त्रतालाई व्यवहारमा लागु गर्ने र जनवादी केन्द्रियतालाई श्रृजनात्मक ढंगले प्रयोग गर्ने हुन थाल्यो । यसले संगठनात्मक रुपमा पनि पार्टीलाई पुनर्गठन गर्यो । पुनर्गठित पार्टीले क्रान्तिकारी शक्तिहरुको ध्रुवीकरण र एकताको निम्ति आफैले पहल गर्यो । २०५९ सालमा नेकपा मसालसंगको एकता त्यसकै उपज थियो । नेकपा एकता केन्द्र मसाल बनेपछि ठोस कार्यनीति तर्जुमा गर्ने र नेकपा माओवादीलाई हेर्ने सवालमा तीव्र मतभेद भयो । १२ बुँदे सहमति बनेपछि विशेषतः नेकपा माओवादीसँगको सहकार्यमा २०६२/६३ को जनआन्दोलन प्रारम्भ भएपछि क. मोहनविक्रम सिंह र अन्य कमरेडहरुले बहिर्गमनको बाटो समातेर पार्टी फुटाउन पुग्नुभयो । यो पछिल्लो फुट, विभाजनलाई पनि चिर्दै क. प्रकाशको अगुवाईमा क्रान्तिकारी सिद्धान्त, विचार र छविको रक्षा गर्दै राष्ट्रिय संकट समाधान गरेर नै पार्टीलाई एकताबद्ध गर्ने कार्य भयो ।

यसरी पार्टी एकताबद्ध हुन सक्नुमा क. प्रकाशले कम्युनिष्ट आन्दोलनको वैचारिक सवाल र नेपाली क्रान्तिको सिद्धान्तमा देखापरेका व्यवहारिक समस्याको हल गर्न सक्नु नै हो । जब अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन संशोधनवाद हुँदै नाङ्गो पुँजीवादमा जाने प्रक्रिया चल्यो, सोभियत संघको पतन भयो, त्यतिखेर नेपालमा पनि समाजवादी आन्दोलनका पराजयका कारणहरु केके हुन् भन्ने प्रश्न व्यापक रुपमा उठेको थियो । विचारधाराका सवालमा पनि अन्यौल सृजना भएको थियो । क. प्रकाशको नेतृत्वमा रहेको टीमले विचारधाराको यो समस्यालाई हल गर्यो । र नै, नेकपा एकताकेन्द्र मसालले तुलनात्मक रुपले वस्तुनिष्ट विचार विश्लेषण प्रस्तुत गर्न सकेको हो ।

२०५० सालपछि पार्टी जीवनमा आएका तत्कालीन निरासाहरुलाई चिर्दै पार्टीलाई एकताबद्ध गर्ने क्रममा नेपाली क्रान्तिको राष्ट्रिय सम्मेलनमा आइपुग्दा क. प्रकाशकै वरिपरि फौजी दिशासहितको कार्यदिशाको एउटा मोटो खाका तयार भयो । प्रचण्डजीहरु युद्धमा गइसकेपछि ०५७–०५८ सालमा आएर आफ्नो कार्यदिशालाई नेपालको यथार्थसँग जोड्दै अगाडि बढ्नुभयो । नेकपा माओवादी र एकताकेन्द्रको कार्यदिशा एउटै हो भनेर वक्तव्य पनि दिनुभएको थियो । त्यो कार्यदिशा निरुपण गर्नमा पनि क. प्रकाशको अत्यन्तै महत्वपूर्ण भूमिका छ ।

२०५४ सालमा भएको राष्ट्रिय सम्मेलनले माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको आलोकमा वस्तुनिष्ट राजनीतिक कार्यदिशाको अख्तियार गर्दै विचारधारात्मक रुपमा मार्क्सवादलाई पक्रेका, सम्पत्तिको कोणबाट सर्वहाराकरण भएका, सैद्धान्तिक र व्यवहारिक रुपबाट अगाडि बढेका नेताहरु र क्रान्ति नै पार्टी जीवन हो भनेर हिँडेका पूर्णकालीन कार्यकर्ताको डफ्फा तथा जनवादी केन्द्रीयता, जनदिशाको अवलम्बन र माथिबाट नै साँस्कृतिक आन्दोलनलाई अगाडि बढाउँदै गइयो भने मात्रै नेपालको सन्दर्भमा क्रान्तिको नेतृत्व गर्नसक्ने नयाँ ढंगको पार्टीका विशेषताहरुलाई विशेषीकृत गर्यो । क. प्रकाशले आफूबाटै सर्वहाराकरणको प्रकृया प्रारम्भ गर्नुभयो र पार्टी निर्माणको सोचलाई व्यवहारमा ढाल्न थाल्नुभयो ।

त्योबाहेक कम्युनिष्ट आन्दोलनका आधारभूत समस्याहरुलाई पहिचान गरेर आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका लागि पार्टी, नेताहरु र कार्यकर्ताहरुले खेल्नुपर्ने भूमिकाको सन्दर्भमा पनि सम्मेलनले स्पष्ट पार्यो । नेपालको कम्युनिष्ट आन्दोलनमा रहेका तीनवटा समस्यामा पहिलो, विचारधारा र सिद्धान्तको स्पष्टताको प्रश्न, दोस्रो, सर्वहाराकरण र साँस्कृतिक रुपान्तरणको प्रश्न र तेस्रो, पार्टीलाई आधारभूत वर्ग, समुदायमा कसरी पुर्याउने भन्ने प्रश्न । यी प्रश्नहरु पहिचान गरिए ।

क्रान्तिकारी आन्दोलनलाई बढाउन विशेष खालको संयुक्त मोर्चाको आवश्यकता पर्दछ । मोर्चाको बुझाइमा पनि केही यान्त्रिकता र केही जटिलताहरु थिए । तिनीहरुलाई स्पष्ट पार्दै रणनैतिक संयुक्त मोर्चा र कार्यनीतिक संयुक्त मोर्चालाई ठीकठीक ढंगले प्रयोग गर्दै क्रान्तिको साधनको रुपमा त्यसलाई अगाडि बढाउने ठोस दिशा दिइयो । अहिले हामी १२ बुँदे सहमति बनाउँदै पार्टीको एकतासम्म त्यतिकै आइपुगेका हैनौँ । संयुक्त मोर्चासम्बन्धी एउटा समझदारीका कारणले यो ठाउँमा आइपुगेका हौँ ।

क्रान्ति सम्पन्न गर्न हामीले विभिन्न चरण भएर गुज्रनुपर्छ । जनयुद्धको बाटोबाट अगाडि बढ्दा क्रान्तिकारी जनआधार निर्माण गर्ने आधारइलाका निर्माण गरेर जानेजस्ता विभिन्न चरण भएर अगाडि बढ्नुपर्ने हुन्छ । त्यसभित्र माथिबाट उठ्ने राष्ट्रिय आन्दोलन, तलबाट उठ्ने वर्गसंघर्ष र जनसंघर्ष तथा पार्टीको वरिपरि जनसमुदायका बीचमा चलाइने क्रान्तिउन्मुख जनवादी सुधारका कामहरुलाई अगाडि बढाउनुपर्दछ । जनवादी सुधारहरुको महत्व चाहिँ नेपालको सन्दर्भमा के छ त ? भन्ने कुरा त्यही सम्मेलनले अझ स्पष्ट पार्ने काम गर्यो । यसरी प्रतिक्रान्तिपछिको मार्क्सवाद, क्रान्तिसम्बन्धी बुझाइ, कार्यदिशाको प्रश्न, नयाँ ढंगको पार्टी निर्माणको प्रश्न, संयुक्त मोर्चाको प्रश्न, क्रान्तिउन्मुख जनवादी सुधारको महत्वको सन्दर्भमा सो सम्मेलनले स्पष्ट पार्ने काम गर्यो । साँच्चै, ०५४ सालमा सम्पन्न भएको त्यो राष्ट्रिय सम्मेलन कम्युनिष्ट आन्दोलनमा कोसेढुङ्गाका रुपमा रहेको छ । कम्युनिष्ट आन्दोलनमा विचारधारा, सिद्धान्त र राजनीतिसँग जोडिएका प्रश्नहरुलाई समाधान गर्ने कुरामा कम्युनिष्ट पार्टीका संस्थापकदेखि लिएर नयाँ पुस्ताका योद्धा कार्यकर्ता सबैलाई समेटेको पार्टी एकताकेन्द्र नै हो । यी सबै कार्य क. प्रकाशको नेतृत्वमा भएका हुन् ।

माओवादी जनयुद्धप्रतिका आफ्ना असहमति राख्दै तर जनयुद्धले गरेका उपलब्धीलाई जोगाउँदै जाने सन्दर्भमा विभिन्न क्रान्तिकारी शक्तिले खेलेको भूमिकामध्ये क. प्रकाशको नेतृत्वमा खेलिएको भूमिका विशेष छ ।

क. प्रकाशको योगदान र भूमिकाको सवालमा चर्चा गर्दा ठोस परिस्थितिको ठोस मूल्याङ्कन गरेर सही कार्यनीति तर्जुमा गर्नमा उहाँ एकदम निपूण हुनुहुन्छ । तात्कालिक राजनीतिक समस्याहरुलाई हल गर्न उहाँले हरेक समयमा सही विश्लेषण गर्नुभएको छ । यसले उहाँलाई समकालीन राजनीतिमा एउटा छुट्टै व्यक्तित्वको रुपमा स्थापित गरेको छ, यो उहाँको विलक्षण क्षमताकै कारणले हो । १२ बुँदे समझदारीदेखि संविधानसभाको चुनावसम्म आइपुग्दा क. प्रकाशले इतिहासका हरेक मोडमा सही नीति बनाउन, लागु गर्न र विभिन्न शक्तिबीच संयोजन गर्न महत्वपूर्ण व्यक्तिको रुपमा आफ्नो भूमिका पनि खेल्नुभएको छ ।

आफू राज्य सत्ताको दमनको माथिल्लो सूचिमा रहेका थाहा पाउँदापाउँदै पनि संघर्ष सफल पार्न उहाँ जस्तोसुकै जोखिम उठाउन पनि पछि पर्नुभएन । असोज १८ र माघ १९ का घटनापछि उहाँ देशभित्रै रहेर संघर्ष सफल पार्न जुट्नुभयो ।

कुन बेलामा कस्तो खालको संघर्षको रुप निर्धारण गर्ने ? जस्तो, १९ दिने जनआन्दोलनकै सन्दर्भमा चैत्र २४ गते बन्द आयोजना गर्ने कि नगर्ने ? आन्दोलनको रुप कस्तो निर्धारण गर्ने ? यी सम्बन्धमा पनि दलहरुका बीचमा गम्भीर मतभेद थिए । त्यो बेलामा क. प्रकाशले संघर्षका सही रुप र सही कार्यक्रम लिएर आउनुभयो, जसको कारण सबै दलहरु सहमतिमा पुग्न सके र २०६२÷६२ को जनआन्दोलनको महान काव्य सृजना भयो ।

क. प्रकाशसँगको लामो सहकार्यबाट मैले के देखेको छु भने उहाँसँग राम्रो बौद्धिक क्षमता छ, उहाँ अध्ययनशील हुनुहुन्छ, लेखन पनि उहाँको राम्रो छ, विषयवस्तुलाई राख्न सक्ने क्षमता पनि छ । यसका अतिरिक्त झूठलाई खप्न नसक्ने र भावुक हुने गुणहरु पनि उहाँमा छन् । सबैभन्दा ठूलो कुरा सम्पूर्ण रुपमा उहाँ क्रान्तिकारी हो । क्रान्ति नै भनेर उहाँले जीवनलाई त्यो दिशामा लैजानुभयो । हिजो म विद्यार्थीको अध्यक्ष हुँदा उहाँलाई महासचिव बनाउन भनेर हिँडेको मान्छे, आज उहाँको वरिपरि काम गर्ने ठाउँमा आइपुगेँ । क्रान्तिलाई केन्द्रविन्दुमा राखेर रुपान्तरित हुने उहाँको गुणकै कारणले यस्तो हुन सम्भव भएको हो ।

  • गिरिराजमणि पोखरेल

 

(Visited 155 times, 1 visits today)

टिप्पणी

comments