Main Menu

परिचय

मानव समाज परिवर्तनशील छ । यो निरन्तर निम्नावस्थाबाट उच्चावस्थातिर अग्रसर हुन्छ । हरेक सामाजिक व्यवस्थाले यो परिवर्तनको, यो विकासप्रक्रियाको एउटा चरणको प्रतिनिधित्व गर्दछ । त्यसकारण हरेक सामाजिक व्यवस्था आफूभन्दा पहिलेको सामाजिक व्यवस्थाको तुलनामा उत्कृष्ट हुन्छ, तर आफूभन्दा पछि आउने सामाजिक व्यवस्थाको तुलनामा निकृष्ट हुन्छ । समाजविकासको क्रममा हरेक सामाजिक व्यवस्था आवश्यक हुन्छ । तर आफ्नो अवधि पूरा भएपछि त्यसले अर्को सामाजिक व्यवस्थाको लागि स्थान छोड्नुपर्दछ । हरेक सामाजिक व्यवस्था ऐतिहासिक आवश्यकताले आउँदछ र ऐतिहासिक आवश्यकताले नै जान्छ । मानव समाजको इतिहासमा अहिलेसम्म चारवटा सामाजिक व्यवस्थाहरु आइसकेका छन् । र, यिनीहरुले मानव समाजको विकास वर्तमान स्तरमा आउनको लागि आवश्यक विभिन्न चरणहरुको प्रतिनिधित्व गरेका छन् । यिनीहरुमध्ये प्रथम आदिम साम्यवाद थियो । त्यसले मानव समाजलाई जंगली अवस्थाबाट सभ्यातामा प्रवेश गरायो । त्यसपछि दास व्यवस्था आयो । दास व्यवस्थाले मानव श्रमलाई समाजको आधार बनायो ।त्यसले मानव सभ्यताका सम्पूर्ण विषयहरुको जग हालेको थियो । त्यही जगमा उभिएर त्यसपछि प्रगति भएको थियो, आधुनिक सभ्यताको निर्माण सम्भव भएको थियो ।

“दास व्यवस्थाकै कारण पहिलो पटक अपेक्षाकृत ठूलो मात्रामा उद्योग र कृषिको बीचमा श्रम–विभाजन संभव भयो, र त्यसको साथसाथै युनानको सभ्यताको विकास हुन सक्यो, जसमा प्राचीन संसार प्रस्फुटित भएको थियो । दास व्यवस्था नभएको भए, युनानी राज्य पनि हुँदैनथियो; युनानी कला र विज्ञान पनि हुँदैनथिए । दास व्यवस्था नभएको भए, रोमन साम्राज्य कहिल्यै पनि असितत्वमा आउँदैनथियो । र, यदि युनानी कला तथा रोमन साम्राज्यले त्यसको जग नहालेको भए, आधुनिक युरोप पनि हुँदैनथियो । हामीले यो कहिल्यै पनि बिर्सनु हुँदैन कि हाम्रा सम्पूर्ण आर्थिक, राजनीतिक र बौद्धिक विकास एउटा यस्तो व्यवस्थाको जगमा उभिएको छ, जसमा दास व्यवस्था त्यति नै आवश्यक थियो, जति त्यसलाई सार्वत्रिक मान्यता प्राप्त थियो । र, यस अर्थमा हामीलाई यो भन्ने अधिकार पनि छ कि यदि प्राचीन कालमा दास व्यवस्था नभएको भए, आधुनिक कालमा समाजवाद पनि हुँदैनथियो ।” (फ्रेडरिक एंगेल्स, ड्युहरिङ् मत–खण्डन)

सामन्तवादले मानव समाजलाई विभिन्न जातिहरुमा र श्रेणीहरुमा विभाजन गरेर त्यसको विशिष्टीकरण गर्यो; मानवीय मूल्यहरुलाई दैवीकरण गरेर तिनीहरुलाई स्थायी,शाश्वत बनायो; र सबैभन्दा बढी मानव श्रमलाई सामाजिक स्तरमा विभाजन गरेर (सामाजिक श्रम–विभाजन गरेर) त्यसको विशिष्टीकरण गर्यो । यो नै मानव सभ्यताको लागि सामन्तवादको विशेष योगदान थियो ।

दास व्यवस्थापछि आएको सामन्तवादले मानव श्रमको परिष्कार, जातीय आधारमा श्रम–विभाजनद्वारा मानव कार्यहरु र श्रमका विषयहरुको विशेषीकरण तथा उत्पादक शक्तिको रुपमा भू–सम्पत्ति (जमिन)को विकास गर्यो । अर्थात् त्यसले श्रमको परिष्कार तथा विशेषीकरण गर्यो थप उत्पादक शक्तिको रुपमा भू–सम्पत्तिको विकास गर्यो ।

मानव समाजको विकासको क्रममा अर्को चरण पूँजीवाद हो । यो सर्वाधिक क्रान्तिकारी चरण सिद्ध भएको छ । यसमा मानव सभ्यताको उच्च विकास भएको छ । पूँजीवादले मानवको व्यक्तित्व, क्षमता,श्रम, कार्य, बुद्धि र उत्पादक शक्ति तथा साधनहरुको चौतर्फी विकास गरेको छ । यसले मानवको ज्ञान–विज्ञानमा अभूतपूर्व विकास गरेको छ । यसले मानवको कर्म र योग्यतालाई सवै कुरा प्राप्त गर्ने आधार र साधनको रुपमा स्थापित गरेको छ ।
पूँजीवादले मानवको क्षमतालाई असीमित बनाइदिएको छ । मानवश्रम र श्रमको विषयको विशिष्टतालाई अन्त्य गरेर तिनीहरुलाई सार्विक बनाएको छ । सबै प्रकारका प्राकृतिक सीमाहरु तथा विभाजनहरुको अन्त्य गरेको छ ।
अब समाजवाद आउँदै छ । यसको उदय वर्तमान पूँजीवादको अनिवार्य परिणामको रुपमा हुँदै छ । विगतको हरेक सामाजिक व्यवस्थाको जस्तै समाजवादको पनि आफ्नो ऐतिहासिक औचित्य वा महत्व छ । मानव समाजको विकास क्रममा आगामी चरण समाजवाद हो । समाजवादले आजसम्म विभिन्न वर्गहरुमा समाजको विभाजनलाई अन्त्य गर्नेछ र त्यसको स्थानहरुमा समाजका सम्पूर्ण सदस्यहरुको एकता, संघबद्धता स्थापित गर्नेछ । मानवजातिले आजसम्म आर्जन गरेको सम्पूर्ण सम्पदामाथि एउटा वर्गको एकाधिकारलाई अन्त्य गरेर त्यसलाई समाजका सम्पूर्ण सदस्यहरुको हातमा सुम्पिनेछ, एउटा वर्गको सम्पन्नता नै अर्को वर्गको विपन्नताको शर्त हुने अवस्थालाई, अर्को वर्गको दुर्गतिको शर्त हुने अवस्थालाई अन्त्य गर्नेछ र त्यसको स्थानमा हरेकको स्वतन्त्र विकास सवैको स्वतन्त्र विकासको शर्त हुने अवस्था स्थापित गर्नेछ । तब मात्र मानव समाज बाध्यताको संसारबाट स्वतन्त्रताको संसारमा जानेछ ।

“जब समाजले उत्पादनका साधनहरुमाथि अधिकार गर्दछ, तब मालहरुको उत्पादन समाप्त हुन्छ, र त्यसैसँग उत्पादकमाथि उत्पादनको प्रभुत्व पनि समाप्त हुन्छ । सामाजिक उत्पादनमा अराजकताको स्थान योजनाबद्ध, सचेतन संगठनले ग्रहण गर्दछ । त्यसपछि व्यक्तिहरुले आफ्नो–आफ्नो अस्तित्वको लाीग संघर्ष गर्नुपर्दैन । तब वास्तविक अर्थमा मानवले पहिलो पटक बाँकी पशुजगतबाट आफूलाई अन्तिम रुपमा अलग गर्दछ, र केवल पाशविक अस्तित्वका परिस्थितिहरुलाई छोडेर वास्तवमै मानव अस्तित्वका परिपिस्थतिहरुमा, जसबाट मानिसको पर्यावरण बन्दछ, र जुन अहिलेसम्म मानिसमाथि शासन गर्दैआइरहेका थिए, तिनीहरु अब मानिसको शासन तथा नियन्त्रणभित्र आउँदछन्, र मानवजाति आफ्नो सामाजिक संगठनको स्वयं मालिक बन्नुको कारण पहिलो पटक प्रकृतिको वास्तविक तथा सचेत स्वामी बन्दछ । अहिलेसम्म उसका आफ्ना सामाजिक कार्यहरुका नियमहरुले बाह्य प्राकृतिक नियमहरुको रुपमा उसमाथि शासन गर्ने गदर्थे । अब ऊ स्वयंले तिनीहरुको पूर्ण विवेकपूर्वक उपयोग गर्दछ र तिनीहरुलाई आफ्नो नियन्त्रणमा ल्याउँदछ । अहिलेसम्म मानिसको आफ्नो सामाजिक संगठनले प्रकृति र इतिहासद्वारा थोपरिएको एउटा अनिवार्य आवश्यकताको रुपमा मानिसको मुकाविला गर्दथ्यो, अब त्यो स्वयं मानवको स्वतन्त्र कार्यको परिणाम बन्दछ । अहिलेसम्म जुन बाह्य वस्तुगत शक्तिहरुले इतिहासमाथि शासन गर्दैआएका थिए, तिनीहरु अब स्वयं मानवको नियन्त्रणमा आउँदछन् । यही त्यो बिन्दु हो, जसको अगाडि मानिसले जब कुनै सामाजिक कारणहरुलाई गतिशील बनाउनेछ, तब तिनीहरुका मुख्य रुपमा र निरन्तर बढ्दो मात्रामा इच्छित परिणाम हुनेछन् । यो मानवको आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ्ग हुनेछ ।” (फ्रेडरिक एंगेल्स, ड्युहरिङ्ग मत–खण्डन)

समाजवादको यात्रा आरम्भ भइसकेको छ, तर पूरा भएको छैन । यो यात्रा पछाडितिर फर्किएर हँदैन, न त यथास्थितिमा रहेर नै हुन्छ । यो यात्रा त निरन्तर अगाडि बढेर मात्र हुन्छ । यसको लागि हरेक युगका प्रगतिशील तथा क्रन्तिकारी वर्गहरुको आफ्नो ऐतिहासिक कार्यभार हुन्छ । त्यो कार्यभार हो– विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजना ।

विगतको समीक्षा
वर्तमानको विश्लेषण
भविष्यको योजना

(Visited 246 times, 1 visits today)

टिप्पणी

comments



« (Previous News)