Main Menu

विगतको समीक्षा

युरोपमा प्रजातान्त्रिक क्रान्ति सम्पन्न भएपछि सवै समस्याहरुको समाधान हुन्छ भन्ने मान्यता स्थापित भएको थियो । तर त्यो मान्यता भङ्ग हुन धेरै समय लागेन । सन् १७८९ मा सम्पन्न फ्रान्सेली क्रान्तिको आदर्श स्वतन्त्रता, समानता र भातृत्वको परिणाम ठीक विपरित भयो । स्वतन्त्रता लुटतन्त्रमा बदलियो, समानता असमानतामा बदलियो र भातृत्व मत्स्य न्यायमा बदलियो । समाजका अधिकांश मानिसहरु सर्वहारामा परिणत भए । प्रजातन्त्रअल्पतन्त्रमा फेरियो । समाजमा एकातिर अति सम्पन्नता र अर्कोतिर अति विपन्नता एकत्रित भयो ।

तब मानिसहरुले यसको विकल्प खोज्न थाले । केही विचारकहरुले यसको विकल्प समाजवाद हो भन्ने धारणा अगाडि ल्याए । तिनीहरुमध्ये प्रमुख सेन्ट साइमन, चार्ल्स फूरिये र रोबर्ट ओवेन थिए । सेन्ट साइमनले निजी स्वामित्वको अन्त्यको प्रस्ताव अगाडि सारे । साथसाथै उनले समाजका सवै मानिसहरुले श्रम गर्नुपर्ने आवश्यकता औंल्याए । चाल्र्स पूmरियेले निजी सम्पत्ति र त्यसमा आधारित पूँजीवादको तीव्र आलोचना गरे । रोबर्ट ओवेनले सहकारी आन्दोलन चलाए र सामूहिक स्वामित्वअन्तर्गत सामूहिक रुपमा काम गर्दा कति धेरै प्रगति गर्न सकिन्छ र कति धेरै मानिसहरुलाई सुखी तथा सम्पन्न बनाउन सकिन्छ भन्ने कुरा व्यावहारिक रुपमै देखाए ।

सेन्ट साइमन, चार्ल्स फूरिये र रोबर्ट ओवेनले पूँजीवादको विकल्पमा ल्याएको समाजवाद सही थियो, तर उनीहरुले प्रस्ताव गरेको विधि गलत थियो । फलस्वरुप उनीहरु कहिल्यै पनि सफल हुन सकेनन् । उनीहरुको सपना सपनामै सीमित रह्यो ।

काल्पनिक समाजवादीहरुले शोषित–उत्पीडित वर्गहरुको बीचमा समाजवादको विचारलाई फैल्याउने र मुक्तिको आशा जगाउने कार्यमा ठूलो योगदान गरे । तर उनीहरुको समाजवाद काल्पनिक स्वरुपको हुनुको कारण त्यो साकार हुनसकेन ।

त्यसबेला जर्मनीमा वैचारिक आन्दोलन उत्कर्षमा पुगेको थियो । त्यसका प्रतिनिधिहरु थिए जर्ज विल्हेल्म हेगेल र लुडविग फायरबाख । हेगेलले द्वन्द्ववादलाई सम्पूर्ण अंगहरुसहित पूर्णता प्रदान गरेका थिए र फायरबाखले अध्यात्मवाद (आदर्शवाद) लाई अन्तिम रुपमा अन्त्य गरेका थिए र त्यसको स्थानमा भौतिकवादलाई प्रतिष्ठापित गरेका थिए । त्यसबाट के निष्कर्ष निस्किन्थ्यो भने संसार निरन्तर परिवर्तनशील छ र संसारको मूल आधार भौतिक तत्व हो । तर एउटा उच्चतम प्रगतिको बावजुद जर्मन शास्त्रीय दर्शनका केही कमजोरीहरु थिए । हेगेलको द्वन्द्ववाद आदर्शवादभित्र कैद थियो । उता फायरबाखको भौतिकवाद अधिभूतवादको शिकार थियो । त्यसकारण दुवै अपांग र अपूर्ण थिए ।

उता बेलायतमा (इंग्ल्याण्डमा) औद्योगिक क्रान्ति सम्पन्न भएको थियो, जसले पूँजीवादलाई उत्कर्षमा पु¥याएको थियो । त्यसले पूँजीवादको स्वरुप, सीमा तथा पूँजीवादभित्र पूँजीपति वर्ग र श्रमिक वर्गको स्थितिलाई स्पष्ट पारेको थियो । पूँजीवादको समुच्च विकासलाई अध्ययन गरेर पूँजीवादी अर्थशास्त्रीहरुले, जसमा एडम स्मिथ र डेविड रिकार्डो प्रमुख थिए, के निष्कर्ष निकालेका थिए भने पूँजीवादको संकट अवश्यम्भावी छ । तर उनीहरुले त्यसको सही कारण बताउन सकेका थिएनन् ।

इतिहासको त्यो निर्णायक चरणमा एउटा यस्तो व्यक्तिको आवश्यकता थियो, जसले यी सम्पूर्ण कुराहरुलाई संश्लेषण गरेर भविष्यको दृष्टि (vision) दिन सकोस् । यस्तो व्यक्तित्वको रुपमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स आए । उनीहरु दुवै जर्मन थिए र आफ्नो जमानाका प्रमुख वैचारिक (बौद्धिक) उपलब्धिहरुसँग पूर्णतया परिचित थिए । विचार, मार्ग र उद्देश्य (लक्ष्य) एउटै भएको हुँदा उनीहरुको छिट्टै भेट पनि भयो र घनिष्ठ मित्रता पनि कायम भयो । त्यसपछि उनीहरुको सहकार्य आजीवन चलिरह्यो । त्यसकै परिणाम थियो माक्र्सवादको उदय ।
मार्क्स र एंगेल्सले सर्वप्रथम त्यसबेला सवैभन्दा अगाडि बढेका तीन देशहरुका प्रमुख उपलब्धिहरुलाई आलोचनात्मक परिष्कार गरे । तिनीहरु थिए– जर्मन शास्त्रीय दर्शन, अंग्रेजी शास्त्रीय राजनैतिक अर्थशास्त्र र फ्रान्सेली काल्पनिक समाजवाद । त्यसपछि तिनीहरुलाई तार्किक निष्कर्षमा पुर्याएर उनीहरुले एउटा सुस्पष्ट नयाँ दृष्टि (vision) संसारको सामु प्रस्तुत गरे– वैज्ञानिक समाजवाद ।

काल्पनिक समाजवादलाई वैज्ञानिक समाजवादमा बदल्नको लागि मार्क्स र एंगेल्सले चारवटा कुराहरु थपेका थिए– (१) इतिहासको भौतिकवादी धाराणा, (२) वर्ग–संघर्षको सिद्धान्त, (३) अतिरिक्त मूल्यको सिद्धान्त, र (४) क्रान्तिकारी शक्तिको रुपमा सर्वहारा वर्ग ।

१. इतिहासको भौतिकवादी धारणा

काल्पनिक समाजवादीहरुले पूँजीवादलाई अतर्कसंगतभनेर आलोचना गरेका थिए र त्यसको स्थानमा एउटा तर्कसंगत, आदर्श समाजकोस्थापना गर्ने प्रस्ताव गरेका थिए, जुन समाजवाद थियो। उनीहरुको लागि समाजवाद समाज विकासको अनिवार्य परिणाम थिएन, त्यसको विपरित यो कुनै महान व्यक्तिको चिन्तनको परिणाम थियो । समाजवादमा, त्यति मात्र होइन, सम्पूर्ण ऐतिहासिक विज्ञानमा (समाजशास्त्रमा) व्याप्त यो आदर्शवादी धारणालाई हटाएर मार्क्स र एंगेल्सले भौतिकवादी धारणा अगाडि ल्याए ।

इतिहासको भौतिकवादी धारणाअनुसार मानवजीवनको लागि आवश्यक साधनहरुको उत्पादन र विनिमय प्रणाली प्रत्येक सामाजिक व्यवस्थाको आधार हो । सवै सामाजिक परिवर्तनहरु र राजनीतिक क्रान्तिहरुका अन्तिमकारण मानिसको मस्तिष्कमा होइन, उसको चिन्तनमा होइन, बरु उत्पादन तथा विनिमय प्रणालीमा हुने परिवर्तनहरुमा निहित छन् । तिनीहरुको खोज प्रत्येक युगको दर्शनमा होइन, बरु अर्थव्यवस्थामा गरिनु पर्दछ । यदि कुनै सामाजिक व्यवस्था अविवेकपूर्ण, अतर्कसंगत र अन्यायपूर्ण छ भने त्यसको कारण उत्पादन तथा विनिमय प्रणालीमा भित्र–भित्रैै यस्ता परिवर्तनहरु हुनु हो, जससँग पुरानो आर्थिक प्रणालीमा आधारित सामाजिक व्यवस्थाको संगति रहेको छैन । यसको साथसाथै जुन असंगति, अव्यवस्थाहरु उत्पन्न भएका हुन्छन्, तिनीहरुलाई हटाउने साधनहरु पनि धेर–थोर विकसित अवस्थामा, तिनै परिवर्तित उत्पादन प्रणालीमा निहित हुन्छन् । त्यस्ता साधनहरुलाई आदर्श, निरपेक्ष सिद्धान्तहरुको निष्कर्षको रुपमा दिमागबाट निकाल्न सकिँदैन, बरु तिनीहरुलाई विद्यमान उत्पादन प्रणालीका ठोस तथ्यहरुमै पाउन सकिन्छ ।

त्यसपछि समाजवाद कुनै महान व्यक्तिको चिन्तनको परिणाम रहेन, त्यसको विपरित यो विद्यमान पूँजीवादी व्यवस्थामा विकसित उत्पादक शक्तिको परिणाम सिद्ध भयो, जसको कारण पूँजीवाद अन्यायपूर्ण, दोषपूर्ण र अतर्कसंग बनेको थियो । अब समाजवाद यही उत्पादक शक्तिको आधारमा स्थापित हुन सक्दथ्यो ।

२. वर्ग–संघर्षको सिद्धान्त

अतर्कसंगत र अन्यायपूर्ण पूँजीवादको स्थानमा तर्कसंगत र निर्दोष समाजवादको स्थापना गर्ने विधिको रुपमा काल्पनिक समाजवादीहरुले वर्ग–समन्वयलाई मानेका थिए । तर वर्गीय समाजमा वर्गहरुका हितहरु विपरित स्वरुपका हुन्छन् । त्यसकारण यस्ता विपरित हितहरु भएका वर्गहरुको बीचमा समन्वयको अपेक्षा गर्नु आदर्श कल्पनाबाहेक अरु केही हुन सक्दैनथ्यो । यसको बदला माक्र्स र एंगेल्सले इतिहासको गम्भिर अध्ययनबाट वर्गीय समाजमा सामाजिक रुपान्तरणको विधिको रुपमा वर्ग–संघर्षको खोज गरेका थिए । यसअनुसार वर्गीय समाजमा वर्ग–संघर्ष समाज रुपान्तरणको उत्तोलक हो

अब यसबाट यो कुरा सिद्ध भयो– समाजवाद स्थापना गर्ने विधि धनी र गरीबको बीचमा, उत्पीडक र उत्पीडितको बीचमा, शोषक र शोषितको बीचमा, शासक र शासित वर्गको बीचमा मेल–मिलाप, समन्वय वा सम्झौता होइन, बरु अनवरत संघर्ष हो । शोषक वर्गको रुपमा रहेको पूँजीपतिलाई बलपूर्वक निषेध गरेर नै समाजवादको स्थापना हुनसक्दछ । शासक पूँजीपति वर्गलाई सत्ताच्युत गर्नु समाजवादको अनिवार्य शर्त हो ।

“आजसम्म उत्पन्न सम्पूर्ण समाजको इतिहास वग–संघर्षहरुको इतिहास रहेको छ । संक्षेपमा उत्पीडक र उत्पीडितले निरन्तर एक–अर्कोको विरोध गर्दै आएका छन् । उनीहरु कहिले अप्रत्यक्ष र कहिले प्रत्यक्ष रुपमा निरन्तर एक–अर्कोसँग संघर्ष गर्दै आएका छन्, जुन संघर्षको अन्त्य हरेक पटक या त सम्पूर्ण समाजको क्रान्तिकारी रुपान्तरणमा, अथवा संघर्षरत दुवै वर्गहरुको बर्बादीमा भएको छ ।” (मार्क्स–एंगेल्स, कम्युनिस्ट घोषणापत्र)

३. अतिरिक्त मूल्यको सिद्धान्त

काल्पनिक समाजवादीहरुले पूँजीवादी अन्यायपूर्ण, शोषणमूलक छ, भनेर यसको आलोचना गरेका थिए र यसलाई त्याज्य घोषित गरेका थिए । तर उनीहरुले यसमा हुने अन्याय, शोषणलाई दर्शाउन सकेका थिएनन्, किनभने त्यो प्रत्यक्ष रुपमा हुँदैन । त्यसलाई माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्तले उद्घाटित गर्यो ।

अतिरिक्त मूल्यको सिद्धान्तबिना पूँजीवादको सुन्दर आवरणभित्र लुकेको अन्याय, शोषण, कुरुप पक्षलाई दर्शाउन संभव थिएन । पूँजीपति वर्गले श्रमिक वर्गलाई प्रत्यक्ष रुपमा शोषण गर्दैन । उसले रुपमा श्रमको उचित मूल्य तिर्छ, कामअनुसार दाम दिन्छ । तर उसले अप्रत्यक्ष रुपमा श्रमिकलाई दिएको ज्यालाभन्दा बढी काम गराउँदछ, जसबाट उसले नाफा कमाउँदछ । यही अतिरिक्त श्रमबाट पूँजीपति वर्गको नाफा र पूँजी बन्दछन् । त्यसकारण पूँजीवादी उत्पादनको लक्ष्य यही अतिरिक्त मूल्य हो ।

पूँजीवादी व्यवस्थाको यो रहस्यको उद्घाटनबाट पूँजीवादको अन्यायपूर्ण, शोषणमूलक, कुरुप स्वरुप स्पष्ट भयो ।
अतिरिक्त मूल्यको सिद्धान्तले पूँजीवादी व्यवस्थामा न्यायको आवरणभित्र हुने अन्याय, ‘कामअनुसार दाम’को आवरणभित्र हुने शोषण र औपचारिक समानताभित्र हुने वास्तविक असमानतालाई सवैको सामु खोलेर राखिदियो ।
यही अतिरिक्त मूल्यको शोषणबाट पूँजीपति वर्ग निरन्तर धनी सम्पन्न हुँदै जान्छ र श्रमिक वर्ग निरन्तर गरीब, विपन्न बन्दै जान्छ । एकातिर धन र अर्कोतिर गरीबी, दरिद्रता चुलिन्छ । एकातिर सम्पन्नता र अर्कोतिर दरिद्रता थुप्रिन्छ ।

४.क्रान्तिकारी शक्तिको रुपमा सर्वहारावर्ग

वर्गीय समाजमा हरेक सामाजिक व्यवस्थाको एउटा प्रतिनिधि वर्ग हुन्छ, जुन शासक वर्ग हुन्छ । उदाहरणको लागि, दास व्यवस्थामा दासमालिक, सामन्तवादमा सामन्त र पूँजीवादमा पूँजीपति प्रतिनिधि र शासक वर्ग हुन्छन् । यसैगरी समाजवादमा पनि एउटा प्रतिनिधि वर्ग हुन्छ । त्यो वर्गले नै पुरानो सामाजिक व्यवस्थाको प्रतिनिधि शासक वर्गको विरुद्ध संघर्ष गर्दछ र त्यसलाई पराजित गरेर र पुरानो व्यवस्थालाई अन्त्य गरेर नयाँ सामाजिक व्यवस्थाको स्थापना गर्दछ । तर काल्पनिक समाजवादीहरुले वर्ग–संघर्ष र कुनै पनि प्रतिनिधि वर्गको अस्तित्वलाई मान्दैनथिए । उनीहरु सम्पूर्ण समाजको मुक्तिको आदर्शवादी कुरा गर्दथे । उनीहरुको दृष्टिमा समाजका सम्पूर्ण सदस्यहरुको संयुक्त प्रयत्नबाट, जुन कुनै महान चिन्तकको योजनाअनुसार हुन्छ, समाजवाद स्थापित हुन्थ्यो ।

मार्क्स र एंगेल्सले त्यसको विपरित समाजवादको प्रतिनिधि वर्गको रुपमा सर्वहारा वर्गलाई प्रस्तुत गरे । उनीहरुको विचारअनुसार समाजवादको लागि सर्वहारा एकमात्र क्रान्तिकारी शक्ति हो, किनभने यो वर्ग पूँजीवादको अनिवार्य परिणाम (वैध सन्तान) हो र अन्य वर्गहरु वर्ग–संघर्षको क्रममा लोप हुन्छन् । “सर्वहारावर्ग पूँजीवादको चिहान खन्ने मलामी हो ।” त्यसैगरी सर्वहारावर्ग मानव समाजको अन्तिम वर्ग पनि हो, किनभने यसले आफूलाई शासक वर्गको रुपमा स्थापित गरेर सम्पूर्ण वर्गको अन्त्य गर्दछ ।

अब यी चार कुराहरुको आधारमा समाजवाद काल्पनिकबाट वैज्ञानिक बन्यो । निश्चित रुपमा निरंकुश, सामन्तवादको तुलनामा पूँजीवाद अत्यन्त प्रगतिशील र क्रान्तिकारी थियो । त्यसले समाजमा स्वतन्त्रता, समानता र भातृत्वका आधारहरुको (जगहरुको) शिलान्यास गरेको थियो । जाति, कुल, वंश, धर्म, परम्परा, आदि स्थायी, अपरिवर्तनशील, र प्राकृतिक अधिकारहरुलाई समाप्त पारेर त्यसले कर्म र योग्यतालाई हरेक अधिकारको आधार बनाएको थियो । सबै शाश्वत, अपरिवर्तनशील र प्राकृतिक विभाजनहरुलाई, भिन्नताहरुलाई अन्त्य गरेर त्यसले सवै मानिसहरुलाई स्वतन्त्र र समान घोषित गरेको थियो । तर त्यसमा एउटा कुराको कमी थियो, र त्यो हो– आर्थिक समानता, जसबिना अन्य सवै स्वतन्त्रता र समानताहरु अर्थहीन हुन्छन् । पूँजीवादमा कानूनको दृष्टिमा त सवै मानिसहरु समान हुन्छन्, तर यथार्थमा (वास्तविकतामा) उनीहरु पूँजीपतिहरुको अधीनमा हुन्छन् । किनभने आर्थिक दासता सवै प्रकारका दासताको कारण बन्दछ । वैज्ञानिक समाजवादले यही आर्थिक समानतालाई अन्य सवै समानता र स्वतन्त्रताको आधार बनायो । यही कुरामा पूँजीवादको तुलनामा समाजवादको भिन्नता र उत्कृष्टता दुवै अन्तर्निहित छन् ।

यसप्रकार वैज्ञानिक समाजवादले पूँजीवादी समाजमा फैलिएको भयानक अराजकतालाई अन्त्य गर्नको लागि ठोस विकल्पहरु (उपायहरु) प्रस्तुत ग¥यो । सर्वप्रथम त त्यसले पूँजीवादमा सुधार गर्नुको बदला पूँजीवादी व्यवस्थाकै अन्त्य गर्न आह्वान गर्यो । किनभने त्यसको निष्कर्षअनुसार पूँजीवादमा जुन समस्याहरु उत्पन्न भएका थिए, तिनीहरुको कारण स्वयं पूँजीवादी व्यवस्था थियो । त्यसपछि निर्बाधप्रतिस्पर्धाको स्थानमा योजनाबद्ध उत्पादन, पूँजीपति वर्गको सत्ताको स्थानमा उत्पादक वर्गको सत्ता, निजी स्वामित्वको स्थानमा सामाजिक स्वामित्व, र औपचारिक राजनीतिक स्वतन्त्रता र समानताको स्थानमा आर्थिक स्वतन्त्रता र समानताप्रस्तुत गर्यो । समाजवादले प्रस्तुत गरेका यी विकल्पहरु यस्ता अचूक उपायहरु थिए, जसबाट पूँजीवादको विरुद्ध (पूँजीपति वर्गको विरुद्ध) श्रमिक वर्गका सम्पूर्ण आन्दोलनहरुलाई स्पष्ट मार्गदर्शन प्राप्त भयो ।

तब समाजवादको यात्रा शुरु भयो । यही सिद्धान्तको आधारमा विश्वमा एकपछि अर्को समाजवादी क्रान्तिहरु भए । त्यो लहरले विश्वभरि हलचल मच्चियो । यहाँसम्म कि स्वयं पूँजीवादीहरु पनि त्यसबाट जोगिनको लागि समाजवादको खोल ओढ्न विवश भए । जसरी जीवहरुले (प्राणीहरुले)शत्रुहरुबाट बच्नको लागि आफूलाई वातावरणको अनुकूल रंगको बनाउँदछन्, त्यसैगरी संसारका पूँजीवादीहरुले समाजवादको लहरबाट (ज्वारभाटाबाट) बच्नको लागि आफूलाई रातो रंगले रंग्याए । विश्वभरि ‘प्रजातान्त्रिक समाजवाद’ नामको भ्रमको खेती गरियो । नेपालमा नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको कार्यक्रम अवलम्बन गर्नु त्यसकै एउटा उदाहरण थियो ।

तर, आफ्नो महान ऐतिहासिक भूमिकाको बावजुद विगतमा समाजवादका केही सीमाहरु र कमजोरीहरु (दोषहरु) थिए । पहिलो त त्यो मानव श्रममा आधारित थियो; दोस्रो, त्यो राज्यनियन्त्रित थियो; र तेस्रो, त्यो राज्यको स्वामित्वमा आधारित थियो ।

१.श्रममा आधारित समाजवाद

विगतमा समाजवाद मानव श्रममा (सामाजिक श्रममा) आधारित थियो । त्यसकारण त्यो मानव श्रमका सीमाहरुद्वारा सीमित थियो । परिणामस्वरुप त्यसले पछि आउने अर्को सामाजिक व्यवस्थाको लागि, जुन विज्ञान–प्रविधिमा आधारित छ, स्थान छोड्नु पर्यो । तर त्यसबेला अन्यथा हुन पनि सक्दैनथ्यो । किनभने त्यसबेला विज्ञान–प्रविधिको विकास त्यो स्तरमा पुगेको थिएन, जसमा समाज उभिन सकोस्, र मानव श्रमबाहेक अरु कुनै उत्पादक शक्ति थिएन ।

२. राज्यनियन्त्रित समाजवाद

विगतमा समाजवाद राज्यनियन्त्रित थियो । त्यसबेला राज्य र समाजलाई एउटै मानियो । त्यसकारण राज्यको नियन्त्रणलाई नै समाजको नियन्त्रण मान्ने गल्ती गरियो । सबै कुराहरु राज्यद्वारा नियन्त्रित भएको हुँदा जनता निष्क्रिय बन्नगए । सबै कुराहरुको निर्णय राज्यले गर्ने भएपछि जनताले चाहिँ के गर्ने त ? जनताले चाहिँ दिएको खाने, अह्राएको गर्ने– अर्थात्, ‘दालभात तरकारी, जीउज्यान सरकारी !’ यसरी सबैको समानताको लागि स्थापित समाजवाद राष्ट्रिय पूँजीवादमा बदलियो । समाजको नाममा राज्यको एकाधिकार कायम भयो ।

खान–लाउन उपलब्ध हुनु नै स्वतन्त्रता होइन । यदि त्यसो हुन्थ्यो भने, प्राचीन कालका दासहरु कति स्वतन्त्र हुन्थे होलान्; पोल्ट्री फार्ममा पालिएका कुखुराहरु कति स्वतन्त्र हुन्थे होलान् ! विगतको समाजवादमा पनि जनताको अवस्था प्राचीन कालका दासहरु वा पोल्ट्री फार्मका कुखुराहरुको भन्दा धेरै भिन्न थिएन । उनीहरु सत्ताधारीहरुको अधीनस्थ थिए ।

समाज र राज्य एउटै होइनन् । राज्यसत्ता समाजबाट उत्पन्न हुन्छ र त्यसपछि समाजमाथि शासन गर्ने शक्ति बन्दछ । फेरि राज्यसत्ताको सञ्चालन त नोकरशाह (bureaucrat)ले गर्दछन् । त्यसकारण यदि समाजको नाममा सबै कुरा राज्यको अधीनस्थ बनाइयो भने, सबैभन्दा शक्तिशाली नोकरशाह बन्दछ । फलस्वरुप समाज कमजोर र राज्यसत्ता बलियो बन्दछ । जनता कमजोर र शासकहरु शक्तिशाली बन्दछन् । शासक र शासित, शोषक र शोषित वर्गहरुको सृजना हुन्छ । राज्यसत्ताबाट शोषक वर्गको उत्पत्ति हुन्छ । राज्यसत्ता विलीन हुनुको सट्टा अझ सशक्त, बलियो र सुदृढ बन्दछ । राज्यसत्ताको आडमा परजीवी वर्गको उदय हुन्छ, त्यसको पालन–पोषण हुन्छ ।
पूँजीवादी व्यवस्थामा पनि राज्यसत्ता स्वायत्त हुँदैन । त्यो पूँजीपति वर्गको अधीनमा हुन्छ । त्यसकारण पूँजीपति वर्गले त्यसलाई आफ्नो हितअनुसार, आफ्नो स्वार्थअनुसार सञ्चालन गर्नसक्दछ । समाजको अधीनमा राज्यसत्ता भएमा मात्र समाजले त्यसलाई आफ्नो हितमा उपयोग गर्नसक्दछ । तब मात्र राज्यसत्ता लोप हुन्छ । तर विगतमा ठीक यसको उल्टो भयो । समाज, जनता, नागरिक नामको केही चीज बाँकी रहेन, अजङ्गको भीमकाय, दैत्याकार राज्यसत्ता मात्र रह्यो ।

३. राज्यको स्वामित्वमा आधारित समाजवाद

पूँजीवादमा उत्पादनका साधनहरुमाथि निजी स्वामित्वको कारणले उत्पन्न समस्यालाई अन्त्य गर्नको लागि तिनीहरुमाथि सामाजिक स्वामित्व स्थापित गर्नु समाजवादको लक्ष्य हो । तर विगतमा यसको विधिको रुपमा राष्ट्रियकरणलाई अवलम्बलन गरियो । फलस्वरुप सम्पूर्ण उत्पादनका साधनहरुमाथि समाजको स्वामित्व स्थापित भएन । त्यसको विपरित राज्यको स्वामित्व स्थापित भयो । यहाँ पनि राज्य र समाजलाई एउटै मान्ने गल्ती गरियो । परिणामस्वरुप त्यहाँ न जनतालाई श्रम गर्ने उत्साह थियो, न उनीहरुको जीवनस्तर नै उठ्यो । राज्यसत्तामा रहने सीमित मानिसहरुको रजाइँ चल्यो, आम जनताको हातमा केही रहेन । जुन तत्वलाई स्वतन्त्रताको आधार मानिएको थियो, अर्थात् आर्थिक तत्व, त्यसैबाट जनता वञ्चित भए । समाजवादसँग जनताको मोह भंग भयो । त्यसकारण समाजवादी सत्ता एकपछि अर्को ढल्दा कसैले पनि त्यसको रक्षा गरेन ।

परिचय
वर्तमानको विश्लेषण
भविष्यको योजना

(Visited 222 times, 1 visits today)

टिप्पणी

comments



« (Previous News)