Main Menu

भविष्यको योजना


विगतको समीक्षा र वर्तमानको विश्लेषणपछि अब हामी भविष्यको योजना निर्माणको बिन्दुमा आइपुगेका छौँ । यसका ४ संघटकहरु छन्– (१) क्रान्तिको लक्ष्य, (२) क्रान्तिका साधनहरु, (३) क्रान्तिको विधि, र (४) समाजवादको स्वरुप ।

१. क्रान्तिको लक्ष्य

विश्वमा सर्वहारा वर्गको राजनीतिक आन्दोलन शुरु भएपछि तीनवटा सामाजिक परिवेशहरु आए– (१) प्रतिस्पर्धी पूँजीवाद (२) एकाधिकारी पूँजीवाद, र (३) अर्ध–सामन्ती र अर्ध–उपनिवेशी अवस्था (उपनिवेशवाद) ।

१) प्रतिपर्धी पूँजीवाद :- प्रतिस्पर्धी पूँजीवादको अवस्थामा पूँजीपति वर्गहरुको बीचमा तीव्र प्रतिस्पर्धाको कारण सम्पूर्ण विश्वभरि पूँजीवाद कमजोर भएको थियो । त्यसकारण सम्पूर्ण विश्वभरि एकैपटक समाजवादी क्रान्ति संभव थियो । त्यही अवधिमा माक्र्सवादको उदय भएको थियो, जसले क्रान्तिको लक्ष्यको रुपमा समाजवाद र क्रान्तिको विधिको रुपमा सशस्त्र जनविद्रोहद्वारा सम्पूर्ण विश्वभरि (कम्तीमा पनि बेलायत, फ्रान्स र जर्मनी तीन ठूला पूँजीवादी देशहरुमा) एकैपटक क्रान्ति सम्पन्न गर्ने कुरालाई निर्धारित गरेको थियो । पेरिस कम्युनको असफलता त्यसको पुष्टि थियो । त्यो अवस्था आरम्भदेखि सन् १९०० सम्म रह्यो ।

२) एकाधिकारी पूँजीवाद :- सन् १९०० सम्ममा प्रतिस्पर्धी पूँजीवाद एकाधिकारी पूँजीवादमा, साम्राज्यवादमा रुपान्तरित भइसकेको थियो । फलस्वरुप सम्पूर्ण विश्वमा एकैपटक समाजवादी क्रान्ति हुने अवस्था समाप्त भएको थियो । भी.आई. लेनिनले यो तथ्यलाई महसुस गरेर एउटा देशमा वा केही देशमा मात्र समाजवादी क्रान्ति गर्नुपर्ने मान्यतालाई अगाडि सारे । तर दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियले प्रथम कम्युनिस्ट अन्तर्राष्ट्रियकै मान्यतालाई अगाडि बढाएको थियो । त्यसकारण लेनिन र दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिका नेताहरुको बीचमा मतभेद उत्पन्न भयो । लेनिन रुसमा समाजवादी क्रान्ति गर्न चाहन्थे, तर दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिका नेताहरुलाई त्यो कुरा मान्य थिएन । अन्ततः लेनिनले दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिलाई नै परित्याग गरे ।

पूँजीवादको नयाँ स्वरुप साम्राज्यवादको विश्लेषण गरेर लेनिनले नयाँ (क्रान्तिको) अवधारणा प्रस्तुत गरे, जुन लेनिनवादको नामले परिचित छ । लेनिनवादले क्रान्तिको लक्ष्यको रुपमा समाजवाद र क्रान्तिको विधिको रुपमा एउटा देशमा वा केही देशहरुमा मात्र सशस्त्र जनविद्रोहद्वारा क्रान्ति गर्ने कुरालाई अगाडि सा¥यो । त्यसैअनुरुप रुसमा सन् १९१७ को अक्टोबरमा समाजवादी क्रान्ति सम्पन्न भयो ।

३) अर्ध–सामन्ती र अर्ध–उपनिवेशी अवस्था :- साम्राज्यवादको आगमनपछि विश्वमा दुई अवस्थाहरु सृजना भए– (१) एक वा केही देशहरुमा मात्र समाजवादी क्रान्ति हुनसक्ने र (२) पूँजीवादी क्रान्ति नभएका देशहरुमा समाजवादी र पूँजीवादी क्रान्ति दुवै हुन नसक्ने । (अथवा (१) सम्पूर्ण विश्वमा एकैपटक समाजवादी क्रान्ति नहुने, र (२) पूँजीवादी क्रान्ति नभएका देशहरुमा पूँजीवादी क्रान्ति र समाजवादी क्रान्ति दुवै नहुने ।)
यी दुई अवस्थाहरुमध्ये प्रथम अवस्थाले लेनिनवादलाई जन्म दियो र दोस्रो अवस्थाले मओवादलाई ।

तर पनि, यो दोस्रो अवस्थालाई बेवास्ता गरेर (ध्यान नदिई) तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियले चिनियाँ कम्युनिस्ट पार्टीलाई कोमिन्ताङ पार्टीको अधीनमा रहेर पूँजीवादी क्रान्तिको लागि सहयोग गर्न निर्देशन दिएको थियो । तर माओ त्से–तुङले त्यसलाई अस्वीकार गरे । त्यसको प्रतिउत्तरमा उनले भनेका थिए– “हामी जुत्ताको नापअनुसार खुट्टा काट्दैनौँ, खुट्टाको नापअनुसार जुत्ता काट्छौँ । चीनको विशेषतासँग नमिल्ने कुरा, चाहे त्यो माक्र्सले नै भनेको किन नहोस्, त्यसलाई हामी दृढतापूवर्क अस्वीकार गर्दछौँ ।” चीनको त्यो विशेषता के थियो त ? माओका अनुसार चीनको त्यो विशेषता अर्ध–सामन्ती र अर्ध–उपनिवेशी अवस्था थियो । त्यस्तो अवस्थाको देशमा साम्राज्यवादको हस्तक्षेप भएको हुँदा पूँजीवादी क्रान्ति हुनसक्दैन र पूँजीवादी क्रान्ति नभइसकेको हुँदा समाजवादी क्रान्ति पनि हुनसक्दैन । तब त्यस्ता देशहरुमा कस्तो क्रान्ति हुनसक्दछ त ? त्यसको लागि माओले क्रान्तिको लक्ष्यको रुपमा नयाँ जनवाद र क्रान्तिको विधिको रुपमा संयुक्त मोर्चाको माध्यमबाट दीर्घकालीन जनयुद्ध प्रस्तुत गरे । त्यसकै आधारमा चीनमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । चिनियाँ जनवादी क्रान्ति माओवादको पुष्टि थियो ।

तर अहिले विश्वमा नयाँ परिवेश आएको छ । सन् १९५० देखि पूँजीवादले नयाँ चरणमा प्रवेश गरेको थियो । त्यो चरण हो– एकीकरणको चरण, जुन भूमण्डलीकरणको रुपमा व्यक्त भएको छ । एकीकृत पूँजीवादको चरणमा क्रान्तिको लक्ष्य नयाँ जनवाद हुन सक्दैन, किनभने त्यो पूँजीवादको एकाधिकारी चरणको कार्यक्रम थियो । अहिले सम्पूर्ण विश्वका पूँजीवादीहरु एकीकृत भएका छन्, त्यसकारण अब पूँजीपति वर्गको कुनै पनि पक्षसँग संयुक्त मोर्चा हुनसक्दैन, जुन नयाँ जनवादको अनिवार्य शर्त हो ।

वर्तमान एकीकृत पूँजीवादको (भूमण्डलीकृत पूँजीवादको) विकल्प समाजवाद मात्र हुन सक्दछ, समाजवादभन्दा तलको कार्यक्रमले (सामाजिक व्यवस्थाले) यसको सामना वा मुकाबिला गर्नसक्दैन । त्यसकारण अब सर्वहारा वर्गीय क्रान्तिको लक्ष्य नयाँ जनवाद होइन, समाजवाद हुनुपर्दछ । अन्ततः सर्वहारा वर्गको लक्ष्य त समाजवाद–साम्यवाद नै हो । त्यो समय अब आइसकेको छ ।

२. क्रान्तिका साधनहरु

हरेक शासक व्यवस्थाका निश्चित, आधारभूत संघटकहरु हुन्छन्, जसको आधारमा त्यो अस्तित्वमा, सत्तामा रहन्छ । तिनीहरु हुन्– १) विचारधारा, २) संगठन, ३) सेना, ४) राजनीतिक सत्ता, र ५) अर्थतन्त्र । त्यसकारण कुनै पनि शासक व्यवस्थालाई ध्वस्त पार्नको लागि यिनै पाँच तत्वहरुको आवश्यकता पर्दछ, तर तिनीहरुको स्वरुप विपरित हुनपर्दछ । यी तत्वहरु नै क्रान्तिका साधन हुन्छन् । यस आधारमा वर्तमान पूँजीवादलाई ध्वस्त पार्नको लागि आवश्यक क्रान्तिका साधनहरु निम्नानुसार हुनेछन्– १) विचारधाराको रुपमा द्वन्द्वात्मक भौतिकवाद २) संगठनको रुपमा भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित सम्पूर्ण पक्षहरुको संगठन, ३) सेनाको रुपमा जनसेना, ४) राजनीतिक सत्ताको रुपमा जनताको प्रत्यक्ष शासन, र ५) अर्थतन्त्रको रुपमा अन्तर्सम्बन्धित अर्थतन्त्र ।

यी साधनहरुको विकास गरेर पूँजीवादको विरुद्ध समानान्तरमा नयाँ सामाजिक व्यवस्था समाजवादको निर्माण गर्नुपर्दछ, जसबाट एउटा सामाजिक शक्ति उत्पन्न हुन्छ । त्यही शक्तिले वर्तमान पूँजीवादलाई ध्वस्त बनाउनेछ ।

१) विचारधारा (Ideology)

हरेक सामाजिक व्यवस्थाको आफ्नो एउटा वैचारिक आधार हुन्छ । त्यसलाई ध्वस्त पार्नको लागि त्यसको वैचारिक आधारलाई ध्वस्त पार्नुपर्दछ । उदारहणको लागि, विगतमा सामन्तवादी व्यवस्थाको वैचारिक आधार धार्मिक विचारधारा थियो । त्यसलाई ध्वस्त पार्नको लागि पूँजीवादले भौतिकवादी विचारधारालाई अगाडि ल्यायो । त्यसकारण पूँजीवादी व्यवस्थाको विचारधारा भौतिकवाद हो । अब यसलाई ध्वस्त पार्नको लागि द्वन्द्वात्मक भौतिकवादको आवश्यकता छ । पूँजीवादको विचारधाराको रुपमा रहेको (आएको) भौतिकवाद अधिभूतवादी भौतिकवाद हो । यसले विश्वको अपरिवर्तनशीलताको, यथास्थितिको, पूँजीवादको शाश्वतताको पक्षपोषण गर्दछ । त्यसकारण यसलाई द्वन्द्वात्मक भौतिकवादले विस्थापन गर्दछ, जसले सम्पूर्ण विश्वको गतिशीलता, परिवर्तनशीलताको पक्षपोषण गर्दछ । अधिभूतवादी भौतिकवादको लागि पूँजीवाद नित्य, अपरिवर्तनशील र अनैतिहासिक छ । इतिहास विगतमा थियो, अब पूँजीवादको युगमा छैन । त्यसकारण इतिहासको अन्त्य भयो (फुकुयामा, त्जभ भ्लम या ज्ष्कतयचथ)। यो मानव समाजको तार्किक निष्कर्ष हो, इतिहासको अन्तिम चरण हो ।
आज पूँजीवादी विचारधारामा अधिभूूतवादी दर्शनका विभिन्न रुपहरु व्याप्त छन्– अस्तित्वाद, शून्यवाद, उपभोक्तावाद, प्रत्यक्षवाद, सारसंग्रहवाद, आदि । यिनीहरु सवैको उद्देश्य पूँजीवादी व्यवस्थालाई सही, निर्विकल्प सिद्ध गर्नु हो ।

यसको विपरित, द्वन्द्वात्मक भौतिकवादको लागि कुनै पनि वस्तु अन्तिम, निरपेक्ष तथा शाश्वत छैन । यसले हरेक वस्तुमा र हरेक वस्तुको परिवर्तनशील गुण प्रदर्शित गर्दछ, यसको सामु निम्नावस्थाबाट उच्चावस्थातिर जाने अन्तहीन (असीमित) विकासक्रम, उत्पत्ति र विनाशको अनवरत प्रक्रियाबाहेक अरु कुनै वस्तु रहन सक्दैन । यसले अन्तिम, निरपेक्ष सत्य र तदनुरुप मानवजातिका निरपेक्ष अवस्थाहरुका अवधारणाहरुलाई अन्त्य गरिदिन्छ । यसले के मान्दछ भने ज्ञान र समाजका निश्चित अवस्थाहरु समय र परिस्थितिको सन्दर्भमा न्यायसंगत छन्, तर त्यहीसम्म मात्र । उत्कृष्ट समाज, उत्कृष्ट राज्य, यी सवै कल्पनाको संसारमा मात्र अस्तित्वमान हुनसक्दछन् । यसको विपरित, सवै निरन्तर घटित हुने सामाजिक अवस्थाहरु (व्यवस्थाहरु) मानव समाजको निम्नावस्थाबाट उच्चावस्थातिर जाने, अन्तहीन विकासक्रमका केवल अल्पकालीन चरणहरु मात्र हुन् । हरेक चरण आवश्यक हुन्छ, त्यसकारण जुन समय र परिस्थितिहरुको कारण त्यसको उत्पत्ति हुन्छ, तिनीहरुको लागि त्यो उचित हुन्छ । तर नयाँ र उच्चतर परिस्थितिहरुको सामु, जुन विस्तार–विस्तार त्यसको गर्भमा विकसित हुन्छन्, त्यसले आफ्नो वैधता र औचित्य गुमाउँदछन् । त्यो त्यस उच्चतर चरणको लागि स्थान छोड्न बाध्य हुन्छ, जुन स्वयं आफ्नो पालोमा एकदिन विनाश भएर लोप हुनेछ ।

यस दृष्टिकोणअनुसार पूँजीवाद कुनै शाश्वत, अन्तिम, पूर्ण र निरपेक्ष व्यवस्था होइन, जसरी पूँजीवादीहरुले दावी गर्दछन् । यो पनि विगतका अन्य व्यवस्थाहरुजस्तै मानव समाजको विकासक्रमको एउटा चरण मात्र हो । त्यसकारण यसको अन्त्य सुनिश्चित छ ।

२) संगठन (Organization)

राजनीतिक संगठनको कार्य सम्पूर्ण क्रान्तिकारी वर्गहरुलाई (शक्तिहरुलाई) एकताबद्ध गर्नु हो । जब छरिएर रहेका वर्गहरु संगठित हुन्छन्, तब एउटा निर्णायक शक्तिको सृजना हुन्छ ।

विगतमा समाजवादी क्रान्तिको लागि श्रमिक वर्गलाई निर्णयक प्रमुख शक्ति मानिएको थियो र श्रमिक संगठनलाई क्रान्तिको प्रमुख साधन । तर जब उत्पादन क्षेत्रमा विज्ञान–प्रविधिको आगमन भयो र यसले उत्पादन क्षेत्रबाट श्रम–शक्तिलाई विस्थापित गर्यो, तब श्रमिक वर्गको संख्या घट्न थाल्यो । अहिले श्रमिक वर्ग अत्यन्तै सानो, अल्पसंख्यक छ । त्यसकारण अब यसले समाजवादी क्रान्तिको लागि निर्णायक भूमिका निर्वाह गर्नसक्दैन । र, श्रमिक संगठन निर्णायक साधन हुनसक्दैन । समाजवादी क्रान्तिको लागि निर्माण हुने संगठनमा ती सम्पूर्ण पक्षहरु सम्लग्न हुनुपर्दछ, जुन वर्तमान भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित छन् र जसको मुक्ति समाजवादमा मात्र सम्भव छ । अब श्रमिक संगठनले ती सम्पूर्ण पक्षहरुलाई समेट्न सक्दैन, जुन वर्तमान युगका निर्णायक क्रान्तिकारी शक्ति हुन् । विशेषगरी यसले त्यो पक्षलाई समेट्न सक्दैन, जुन वर्तमान पूँजीवादको अनिवार्य परिणाम हो– अर्थात् उत्पादन क्षेत्रबाट विस्थापित, सीमान्तकृत वर्ग । यही वर्ग वर्तमान युगको वास्तविक क्रान्तिकारी वर्ग (शक्ति) हो । यो वर्ग वर्तमान पूँजीवादी व्यवस्थाको तख्ता नपल्टाई अस्तित्वमा रहन सक्दैन । त्यसकारण नयाँ क्रान्तिकारी संगठन यही वर्गलाई लिएर बन्दछ ।

अब श्रमिक वर्गले समाजवादी क्रान्तिको नेतृत्व गर्नसक्दैन; किनभने एकातिर अहिले यसको आकार सानो भएको छ, र अर्कोतिर वर्तमान समाज श्रम–शक्तिमा आधारित छैन, विज्ञान–प्रविधिमा आधारित छ ।

३) सेना (army)

हरेक शासक वर्गसँग आफ्नो सेना हुन्छ । त्यसले सेनाको बलमा आफ्नो विरोधीलाई दबाउने र आफ्नो सत्ता कायम राख्ने प्रयत्न गर्दछ । त्यसकारण शासक वर्गलाई पराजित गर्नको लागि त्यसको सेनालाई पराजित गर्नु आवश्यक हुन्छ ।

अहिले पूँजीवादीहरुसँग दुई स्तरका सेनाहरु छन्– (१) राष्ट्रिय स्तरको सेना , र (२) अन्तर्राष्ट्रिय स्तरको सेना । राष्ट्रिय स्तरको सेनाको रुपमा उनीहरुको सेना आफ्नो देशको सेना हो । किनभने वर्गीय दृष्टिकोणबाट उनीहरु सत्तारुढ (सत्ताधारी) वर्ग हुन् र पूँजीवादी व्यवस्थाका सम्पूर्ण तत्वहरुले उनीहरुको सेवा गर्दछन् । अन्तर्राष्ट्रिय स्तरको सेनाको रुपमा उनीहरुको सेना नेटो (NATO) सेना र संयुक्त राष्ट्रसंघको सेना हुन् । (अथवा प्रत्यक्ष रुपमा नेटो सेना र अप्रत्यक्ष रुपमा संयुक्त राष्ट्रसंघको सेना हुन् ।) क्रान्तिकारी वर्गले पूँजीवादी वर्गका यी दुवै सेनाहरुको सामना गर्नु आवश्यक छ । त्यसकारण क्रान्तिकारी वर्गसँग पनि अब राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका दुई प्रकारका सेनाहरु हुनुपर्दछ । र, यी सेनाहरु अत्याधुनिक हतियारले सुसज्जित हुनुपर्दछ, परमाणु बम तथा अन्तर–महादेशीय मिसाइलद्वारा सुसज्जित हुनुपर्दछ । क्रान्तिकारी वर्गले अब राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरबाट युद्ध लड्नु, संघर्ष गर्नु आवश्यक छ ।

पूँजीवादीहरुले औपचारिक र आधिकारिक सेनाबाहेक अन्य सेनाको अस्तित्व मान्य हुँदैन भनेर यो क्रान्तिकारी सेनाको विरोध गर्न सक्दछन् । तर उनीहरुले आफ्नो विरोधको खण्डन आफै गरिरहेका छन् । त्यो हो– नेटो सेनाको अस्तित्व, जुन कुनै आधिकारिक र औपचारिक सेना होइन । यदि उनीहरुले आफ्नो रक्षाको लागि निजी सेना राख्न पाउँछन् भने, अरुले किन नपाउने ?

४) राजनीतिक सत्ता (political power)

नयाँ राजनीतिक सत्ताको निर्माण समाजका नयाँ संघटकहरुको रुपमा उत्पन्न भएका समूहहरु र संगठनहरुबाट हुन्छ । उदाहरणको लागि, रुसमा मजदूरहरु, किसानहरु र सैनिकहरुका सोभियतहरु समाजका नयाँ संघटकहरुको रुपमा उत्पन्न भएका थिए र तिनीहरुबाटै नयाँ राजनीतिक सत्ताको निर्माण भएको थियो ।
वर्ग–संघर्ष तबसम्म क्रान्तिमा रुपान्तरित हुँदैन, जबसम्म द्वैतसत्ताको अवस्था सृजना हुँदैन र द्वैतसत्ताको अवस्था तबसम्म सृजना हुँदैन, जबसम्म पुरानो राजनीतिक सत्ताको विरुद्ध समानान्तरमा नयाँ राजनीतिक सत्ताको उदय हुँदैन । नयाँ राजनीतिकसत्ताले पुरानो राजनीतिक सत्तालाई विस्थापित गर्दछ ।

वर्तमान पूँजीवादी राजनीतिक सत्तालाई विस्थापित गर्नको लागि क्रान्तिकारी वर्गसँग यसको विपरित नयाँ राजनीतिक सत्ता हुनु आवश्यक छ । यो राजनीतिक सत्ता संसदिय, प्रतिनिधिमूलक होइन, जुन बुर्जुवा व्यवस्थाको विशेषता हो, त्यसको विपरित यो जनताको प्रत्यक्ष शासना आधारित हुन्छ । पूँजीवादी व्यवस्थामा व्यक्तिको आधिकारिकको आधार योग्तालाई मानिन्छ, त्यसकारण अधिकार स्थापित गर्ने, अधिकार सिद्ध गर्ने विधि प्रतिस्पर्धा हुन्छ । तर समाजवाद हरेक व्यक्तिको अधिकार नैसर्गिक, जन्मसिद्ध हुन्छ । यो एक अर्थमा आदिम साम्यवादको नैसर्गिक अधिकारको पुनरावृत्ति हो, तर उही रुपमा होइन । आदिम साम्यवादको नैसर्गिक अधिकार योग्यतारहित थियो, तर यो समाजवादको नैसर्गिक अधिकार योग्तासहितको छ, किनभने आज कुनै पनि व्यक्ति अयोग्य छैन र कुनै पनि व्यक्ति विशेष योग्यताले सम्पन्न छैन । यो अधिकारको उच्चस्तरमा विकास हो ।

त्यसकारण अब मानिसहरु, जनता, समाजको प्रत्यक्ष शासनमा सहभागी हुन सक्दछन् । यही प्रत्यक्ष शासन नयाँ राजनीतिक सत्ताको रुप हो ।

एउटै देशमा दुई राजनीतिक सत्ताहरु कसरी मान्य हुन्छन् भन्ने प्रश्न पुँजीवादीहरुले उठाउन सक्दछन् । तर यसको बलियो उत्तर ताइवानको अस्तित्व हो, जसलाई चीनको विरोधको बावजुद तिनै पूँजीवादीहरुले मान्यता दिइरहेका छन् ।

५) अर्थतन्त्र(economy)

सर्वहारा वर्गको आन्दोलन सम्पूर्ण मानवजातिको मुक्ति–आन्दोलन हो । सर्वहारा वर्ग त्यो अन्तिम उत्पीडित वर्ग हो, जसको स्वतन्त्रता प्राप्तिसँगै वर्गीय समाज अन्त्य हुनेछ । सर्वहारा क्रान्तिबाट पुरानो शोषणमूलक सामाजिक व्यवस्थाको अन्त्य र नयाँ शोषणरहित सामाजिक व्यवस्थाको उदय हुनेछ । तर अहिले सर्वहारा वर्गको आन्दोलन अत्यन्त जटिल र दीर्घकालीन बनेको छ । आफ्नो विकासको क्रममा पूँजीवादले अनेकौँ संकटहरुलाई पार गरेर पुनर्जीवन प्राप्त गरेको छ र अझ शक्तिशाली बन्नगएको छ । उन्नाइसौँ शताब्दीको प्रथम संकटबाट बचेर पूँजीवाद साम्राज्यवादमा विकसित भएको थियो । बीसौँ शताब्दीको दोस्रो संकटबाट बचेर यो अहिले भूमण्डलीकृत पूँजीवाद बनेको छ । यसका आधारहरु बहुराष्ट्रिय कम्पनी, विश्व व्यापार संगठन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, आदि विश्वव्यापी संगठनहरु हुन् । यी विश्वस्तरीय संगठनहरुको सञ्जालद्वारा वर्तमान पूँजीवाद एकीकृत र सशक्त भएको छ । अर्कोतिर, सर्वहारा वर्ग विखण्डित र कमजोर भएको छ । उसको प्रतिरोध शक्ति प्रभावहीन भएको छ । फलस्वरुप उसको आन्दोलन शिथिल बन्नपुगेको छ ।

यो अवस्था सिर्जना हुनुको कारण विज्ञान–प्रविधिको उच्चतम विकास हुनगएको छ । पूँजीवादले पहिलो संकटलाई साम्राज्यवादको सहायताबाट पार गरेको थियो र यसले दोस्रो संकटलाई विज्ञान–प्रविधिको सहायताबाट पार गरेको छ । विज्ञान–प्रविधिको उपयोग गरेर अन्तर्राष्ट्रिय स्तरका आर्थिक संगठनहरुको माध्यमबाट भूमण्डलीकृत पूँजीवादले सम्पूर्ण विश्वको अर्थतन्त्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । यसबाट पूँजीपतिहरुको आपसी संघर्ष तथा पूँजीपति वर्ग र सर्वहारा वर्गको बीचको संघर्ष दुवै शिथिल हुनगएका छन् । फलस्वरुप पूँजीवाद एक हदसम्म संकटमुक्त भएको छ । यसबाट अनिवार्य रुपमा एउटा निष्कर्ष निस्कन्छ– सर्वहारा वर्गको लागि आफ्नो स्वायत्त अर्थतन्त्रको आवश्यकता छ ।

यो अर्थतन्त्र निर्माणको लागि अहिले तीन अवस्थाहरु विद्यमान छन् । पहिलो, सर्वहारा वर्ग उत्पादन क्षेत्रबाट विस्थापित भएको छ । उत्पादन प्रक्रियामा भएको आमूल परिवर्तनले मानव श्रमलाई विस्थापित गरेको छ । मानव श्रमको स्थान यन्त्रले लिएको छ । फलस्वरुप सर्वहार वर्ग (श्रमिक वर्ग) उत्पादन क्षेत्रबाट विस्थापित भएको छ । त्यसकारण अब उसले आफ्नो अस्तित्वको लागि आफ्नो स्वायत्त अर्थतन्त्रको निर्माण गर्नु आवश्यक छ । दोस्रो, विज्ञान–प्रविधिको उच्च विकास भएको छ । वर्तमान युगमा विज्ञान–प्रविधिको विकास अत्यन्त उच्च स्तरमा भएको छ । फलस्वरुप विज्ञान–प्रविधि एउटा स्वायत्त उत्पादक शक्तिमा रुपान्तरण भएको छ । यसले प्राकृतिक शक्तिहरुजस्तै निःशुल्क सेवा प्रदान गर्दछ । तर यसलाई पूँजीपति वर्गले एकाधिकारी रुपमा प्रयोग गरेको छ र श्रमिक वर्गको विरुद्ध संघर्षको साधन बनाएको छ । त्यसकारण यो नयाँ उत्पादक शक्तिको रुपमा आएको विज्ञान–प्रविधिलाई उपयोग गर्नको लागि सर्वहारा वर्गले आफ्नो अर्थतन्त्र निर्माण गर्नुपर्दछ । र तेस्रो, भूमण्डलीकृत पूँजीवादले आर्थिक हस्तक्षेप गर्दछ । पुरानो साम्राज्यवादले प्रत्यक्ष रुपमा राजनीतिक हस्तक्षेप गर्दथ्यो । त्यसलाई उपनिवेशहरुको मुक्ति–आन्दोलनले अन्त्य गरिदियो । भूमण्डलीकृत पूँजीवादको रुपमा उदाएको नयाँ साम्राज्यवादले आर्थिक हस्तक्षेप गर्दछ । त्यसकारण यसलाई अन्त्य गर्न सर्वहारा वर्गले आफ्नो अर्थतन्त्रको निर्माण गर्नु आवश्यक छ ।

सर्वहारा वर्गले क्रान्ति सम्पन्न हुनुभन्दा अगाडि, क्रान्ति सम्पन्न गर्नकै लागि, पूँजीवादी अर्थतन्त्रको समानान्तरमा आफ्नो स्वायत्त अर्थतन्त्रको निर्माण गर्नुपर्दछ र त्यसलाई स्थानीय स्तरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विस्तार तथा विकास गर्नुपर्दछ । यो अर्थतन्त्रको उपस्थितिमा एकातिर, पूँजीवादी अर्थतन्त्रको आकार घट्नेछ र त्यो कमजोर हुनेछ । अर्कोतिर, सर्वहारा वर्गले आफ्नो विकास र विस्तारको आधार भेट्टाउनेछ । त्यसैगरी विज्ञान–प्रविधिमाथि पूँजीपति वर्गको एकाधिकार पनि समाप्त हुनेछ । यो अर्थतन्त्र नै सम्पूर्ण सर्वहारा वर्गहरुको एकताको माध्यम, सशक्तिकरणको आधार र विश्वव्यापी पूँजीवादको विरुद्ध संघर्षको साधन हुनेछ ।

त्यसकारण विश्वव्यापी पूँजीवादी अर्थतन्त्रको विरुद्ध भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित सम्पूर्ण पक्षहरु सम्मिलित समानान्तर स्वायत्त अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो । र, यो अर्थतन्त्रको निर्माणमा सर्वहारा वर्गलाई मार्गदर्शन गर्नु र नेतृत्व गर्नु सर्वहारा वर्गको अग्रदस्ता, कम्युनिस्टहरुको वर्तमान कार्यभार हो ।
वर्तमान भूमण्डलीकृत पूँजीवादको विरुद्ध बन्ने समाजवादी अर्थतन्त्र (क्रान्तिकारी अर्थतन्त्र) विज्ञान–प्रविधिमा आधारित, एकीकृत र भूमण्डलीकृत हुनुपर्दछ ।

एकीकरणका तीन चरणहरु र स्वरुपहरु छन् । प्रथम चरणमा समान प्रकारका उद्यमहरुको संघबद्धता हुन्छ; दोस्रो चरणमा भिन्न प्रकारका तर परिपूरक उद्यमहरुको संघबद्धता हुन्छ; र तेस्रो चरणमा सम्पूर्ण उद्यमहरुको संघबद्धता हुन्छ । जुन प्रक्रिया र चरणबाट एकीकृत पूँजीवादीमा एकीकरण भएको छ, त्यही प्रक्रिया र चरणबाटसमाजवादमा एकीकरण हुनसक्दछ– (१) सिण्डिकेट, (२) कार्टेल र (३) कर्पोरेशन । तर सिण्डिकेट, कार्टेल र कर्पोरेशन पूँजीवादका संयन्त्रहरु हुन्, त्यसकारण यिनीहरु समाजवादमा प्रकट हुँदैनन् । समाजवादमा यिनीहरु एकीकरणका चरण र प्रक्रियाको रुपमा परिणत हुन्छन् ।

त्यसैगरी यो अर्थतन्त्र विज्ञान–प्रविधिमा आधारित हुनुपर्दछ, किनभने वर्तमान युगको (समाजको) प्रमुख उत्पादक शक्ति विज्ञान–प्रविधि हो । र, यो भूमण्डलीकृत हुनुपर्दछ ।

३. क्रान्तिको विधि

विश्वमा अहिलेसम्म क्रान्तिका तीन विधिहरुको विकास भएको छ– १) जनआन्दोलन (mass movement) सशस्त्र संघर्ष(armed struggle) र ३) निर्वाचन (election) । तर यी विधिहरु निरपेक्ष होइनन, बरु सापेक्ष हुन् । यिनीहरुमध्ये कुन उपयुक्त हुन्छ भन्ने कुरा समय र परिस्थितिमा निर्भर हुन्छ । सामान्य रुपमा यति मात्र भन्न सकिन्छ– जनताको अल्पसंख्यक भाग मात्र सचेत भएको अवस्थामा सशस्त्र संघर्ष, बहुसंख्यक भाग सचेत तर सत्ताको अप्रत्यक्ष विरोधी भएको अवस्थामा जनआन्दोलन र जनताको बहुसंख्यक भाग सचेत र सत्ताको प्रत्यक्ष विरोधी भएको अवस्थामा निर्वाचन उपयुक्त हुनसक्दछ । क्रान्तिका यी तीन विधिहरुको प्रयोग परिस्थितिअनुसार अलग–अलग, र एकल वा संयुक्त रुपमा हुनसक्दछ । उदाहरणको लागि, नेपालमा २००७ सालको क्रान्ति सशस्त्र संघर्षको माध्यमबाट भएको थियो भने २०४६ सालको क्रान्ति जनआन्दोलनको माध्यमबाट भएको थियो र २०६२–६३ को क्रान्ति सशस्त्र संघर्ष र जनआन्दोलनको संयोजनबाट भएको थियो । क्युबाको क्रान्ति सशस्त्र संघर्षको माध्यमबाट भएको थियो, चिली र भेनेज्वेलामा निर्वाचनबाट क्रान्ति सम्पन्न भएका थिए । चीनको क्रान्ति सशस्त्र संघर्षको माध्यमबाट र भारतको क्रान्ति जनआन्दोलनको माध्यमबाट सम्पन्न भयो । त्यसैगरी दक्षिण अफ्रिकामा निर्वाचनको माध्यमबाट र इण्डोनेसियामा जनआन्दोलनको माध्यमबाट क्रान्ति सम्पन्न भयो ।

तर एउटा सामाजिक शक्तिबिना यिनीहरुमध्ये कुनै पनि विधिद्वारा सफलता प्राप्त हुन सक्दैन । त्यो सामाजिक शक्ति सामाजिक व्यवस्थाबाट निर्माण हुन्छ । त्यसकारण क्रान्ति सम्पन्न गर्नको लागि क्रान्तिकारी शक्तिहरुले सर्वप्रथम पुरानो सामाजिक व्यवस्थाको विरुद्ध नयाँ सामाजिक व्यवस्थाको निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ । यही नयाँ सामाजिक व्यवस्थामा उभिएर आवश्यकताअनुसार क्रान्तिका तीन विधिहरुमध्ये कुनै पनि विधिको प्रयोग गर्न सकिन्छ ।

४. समाजवादको स्वरुप

वर्तमान पूँजीवादी व्यवस्थाबाट उत्पन्न संकटबाट मुक्त हुन समाजवादबिना संभव छैन । तर त्यो समाजवाद पुरानो समाजवाद होइन, नयाँ समाजवाद हो । भूमण्डलीकृत भयानक पूँजीवादबाट आक्रान्त जनता समाजवादको लागि बलिदान गर्न तयार हुन्छन्, तर विगतको जस्तो समाजवादको लागि होइन । त्यसकारण अब समाजवादी क्रान्तिको पहिलो प्रश्न समाजवादको स्वरुपको सम्बन्धमा उठ्दछ– कस्तो समाजवाद ल्याउने ? विगतको जस्तो समाजवाद ल्याउनको लागि कोही पनि तयार हुँदैनन् । त्यो असफल भइसकेको समाजवाद फेरि किन ल्याउने ? यदि जनतालाई समाजवादको लागि उत्प्रेरित गर्ने हो भने, त्यसको उपयुक्त स्वरुप, जुन विगतको भन्दा भिन्न हुन्छ, प्रस्तुत गर्नु आवश्यक छ ।

नयाँ समाजवादको स्वरुप यसप्रकार हुनेछ– १) विज्ञान–प्रविधिमा आधारित समाजवाद, २) सामाजिक नियन्त्रनमा आधारित समाजवाद, र ३) सामाजिक स्वामित्वमा आधारित समाजवाद ।

१) विज्ञान–प्रविधिमा आधारित समाजवाद

हरेक सामाजिक व्यवस्थाको स्वरुपको आधार उत्पादक शक्तिको स्वरुप हो । उत्पादक शक्तिको अनुरुप उत्पादन सम्बन्ध (सामाजिक व्यवस्था) हुनुपर्दछ । वर्तमान युगको उत्पादक शक्ति विज्ञान–प्रविधि हो । त्यसकारण अब बन्ने समाजवाद विज्ञान–प्रविधिमा आधारित हुनेछ ।

दोस्रो कुरा, समाजवादमा जीवनको लागि आवश्यक साधनहरुको जुन प्रचुरताको अपेक्षा गरिएको छ, त्यो विज्ञान–प्रविधिबाट मात्र संभव छ । आज विज्ञान–प्रविधिले उत्पादन क्षेत्रमा जुन आमूल परिवर्तन ल्याएको छ, जुन क्रान्ति ल्याएको छ, त्यसबाट अब समाजमा जीवनको लागि आवश्यक साधनहरुको अभावको कारण उत्पन्न सम्पूर्ण समस्याहरु, द्वन्द्वहरुको अन्त्य हुने संभावना देखिएको छ ।

१) सामाजिक नियन्त्रणमा आधारित समाजवाद

समाजवाद सामाजिक नियन्त्रणमा आधारित हुन्छ, राज्यको नियन्त्रणमा होइन । राज्यको नियन्त्रण त ती सामाजिक व्यवस्थाहरुमा हुन्छ, जसमा बहुसंख्यकमाथि अल्पसंख्यकको शासन हुन्छ । अल्पसंख्यकले राज्ययन्त्रको बलमा बहुसंख्यकमाथि नियन्त्रण गर्दछ । तर समाजवादमा सामाजिक नियन्त्रण हुन्छ । सामाजिक नियन्त्रण समाजका संघटकहरुको (सोभियतहरुको) सन्तुलनमा आधारित हुन्छ । र, सन्तुलन तिनीहरुकासम्बन्ध र अन्तर्निर्भरतामा आधारित हुन्छ । समाजका संघटकहरु सामाजिक समूहहरु हुन्; उदाहरणको लागि कृषक समूह, मजदूर समूह, व्यापारिक समूह, आदि । यी समूहहरुमा शक्तिको विभाजन तथा हस्तान्तरण गर्नुपर्दछ ।
समाजका संघटकहरुमा शक्ति–पृथकीकरणबाट सामाजिक नियन्त्रण स्थापित हुन्छ ।

३) सामाजिक स्वामित्वमा आधारित समाजवाद

समाजवादको लक्ष्य उत्पादनका साधनहरुमाथि समाजको स्वामित्व स्थापित गर्नु हो । अथवा यसको लक्ष्य उत्पादनका साधनहरुमाथि व्यक्तिगत स्वामित्वलाई अन्त्य गरी सम्पूर्ण समाजको स्वामित्व स्थापित गर्नु हो । तर यो लक्ष्य उत्पादनका साधनहरुको राष्ट्रियकरण गरेर पूरा हुनसक्दैन, जुन विगतको अनुभवबाट स्पष्ट हुन्छ । त्यसैगरी यो लक्ष्य उत्पादनका साधनहरुमाथि सम्पूर्ण समाजको स्वामित्व घोषणा गरेर पनि पूरा हुनसक्दैन, किनभने त्यो अमूर्त हुन्छ । यसको लागि सर्वप्रथम समाजका समूहहरुको स्वामित्व स्थापित गर्नुपर्दछ । यसको विधि राष्ट्रियकरण गरेर उत्पादनका साधनहरुलाई राज्यको स्वामित्वमा ल्याउनु होइन, समाजका समुदायहरुको स्वामित्वमा ल्याउनु हो । समाजका विभिन्न समूहहरु, संघटकहरु उत्पादन प्रक्रियाका अंगहरु हुन् । तिनीहरुको स्वामित्वमा सम्पूर्ण उत्पादन साधनहरु र सम्पदा ल्याउनु आवश्यक छ ।

समाजका संघटकहरुको रुपमा विभिन्न समूहहरु हुन्छन् । ती समूहहरुले समाजका अलग–अलग कार्यहरु सम्पन्न गर्दछन् । अलग–अलग भूमिकाहरु निर्वाह गर्दछन् । समाजीकरणको प्रक्रिया ती समूहहरुलाई तिनीहरुको आफ्नो क्षेत्रको स्वामित्व प्रदान गरेर सम्पन्न गर्नसकिन्छ । उदाहरणको लागि, किसानहरुको समूहहरुलाई कृषिको स्वामित्व, मजदूरहरुको समूहहरुलाई उद्योगको स्वामित्व प्रदान गरेर कृषि तथा उद्योगको समाजीकरण गर्नसकिन्छ । कारण कृषिको वास्तविक स्वामी किसानहरु र उद्योगका वास्तविक स्वामी मजदूरहरु हुन्छन् । समाजको प्रत्येक क्षेत्र त्यसमा संलग्न मानिसहरुको समूहलाई सुम्पिनु वास्तविक स्वामित्व स्थापनाको वास्तविक प्रक्रिया वा विधि हो । तर समाजवादको लागि वास्तविक स्वामित्व स्थापना मात्र पर्याप्त हुँदैन । यो त्यसको एउटा पक्ष मात्र हो । त्यसको अर्को पक्ष समाजीकरण हो । समाजीकरणको लागि हरेक उद्यमलाई समाजको एउटा अंग बनाउनु पर्दछ । यसरी हरेक उद्यम सम्पूर्ण सामाजिक व्यवस्थाको एउटा अंगमा परिणत भएपछि त्यसको स्वतन्त्र अस्तित्व समाप्त हुन्छ र त्यसले समाजमाथि शासन गर्न पाउँदैन । कारण त्यसलाई अन्य अंगहरुले (उद्यमहरुले) नियन्त्रण गर्दछन् ।

निष्कर्ष

समाजवादको यात्रा निरन्तर अगाडि बढिरहेको छ । कल्पनावादीहरुको कल्पनामा मात्र अस्तित्ववान समाजवाद माक्र्सवादको रुपमा सिद्धान्तमा प्रकट भयो । मार्क्सवादको रुपमा सिद्धान्तमा मात्र अस्तित्ववान समाजवाद पेरिस कम्युनको रुपमा सन् १८७१ मा व्यवहारमा साकार भयो । पेरिस कम्युनमा ७२ दिनसम्म मात्र अस्तित्व रहेको समाजवाद १९१७ मा बोल्शेभिक क्रान्तिको रुपमा पृथ्वीको ६ खण्डको १ खण्ड सोभियत संघमा स्थापित भयो । र, सोभियत संघमा ७०बर्षसम्म मात्र अस्तित्वमा रहेको समाजवाद अब सम्पूर्ण विश्वमा ७० शताब्दीसम्म अस्तित्वमा रहने गरी स्थापित हुने अवस्था तयार भइरहेको छ ।

यसको लागि हामीलाई आज तीन कुराहरुको (तीन जादूमय साधनहरुको) आवश्यकता छ । तिनीहरु हुन्– नयाँ मार्गदर्शन, दृढ प्रतिज्ञा र अदम्य साहस ।

भी.आई. लेनिन पहिलो पटक पक्राउ पर्दा उनलाई लिएर जाने प्रहरी अधिकृतले यसरी उनीसँग सोधेका थिए रे–
“तिमीले यस्तो दुस्साहस किन गरेको ? तिमीलाई थाहा छैन, तिम्रो अगाडि ठूलो पर्खाल उभिएको छ भन्ने कुरा ?”
त्यसको प्रतिउत्तरमा लेनिनले यसो भनेका थिए रे–

“मलाईं राम्रोसँग थाहा छ, मेरो अगाडि ठूलो पर्खाल उभिएको छ भन्ने कुरा । र, मलाईं यो कुरा पनि राम्रोसँग थाहा छ कि यो पर्खाल यति पुरानो र मक्किएको छ, यदि यसलाई एक मुक्का प्रहार गर्ने हो भने, यो गल्र्यामगुर्लुम ढल्छ । त्यसकारण मैले यस्ते साहस गरेको ।”

तर आजको पूँजीवाद लेनिनले भनेजस्तो कमजोर छैन । यसको विरुद्ध सफलतापूर्वक संघर्ष गर्नको लागि र यसमाथि निर्णायक प्रहार गर्नको लागि नयाँ मार्गदर्शनको आवश्यकता छ ।

आज यस्तो दृढ प्रतिज्ञाको आवश्यकता छ, जुन हो चि मिन्हले देखाएका थिए– “हामी सयवर्षदेखि लड्दै आएका छौँ । अब फेरि आवश्यक पर्दछ भने हामी अरु हजारवर्ष लड्न तयार छौँ ।”

त्यसैगरी आज चे ग्वेभाराको जस्तो साहसको आवश्यकता छ, जसले सिंगो ल्याटिन अमेरिकी महादेशमा क्रान्ति ल्याउने साहस गरेका थिए । अर्थात्, सिंगो भू–मण्डलमा क्रान्ति ल्याउने साहसको आवश्यकता छ । तब विजय सुनिश्चित हुन्छ ।

परिचय
विगतको समीक्षा
वर्तमानको विश्लेषण

 

(Visited 1,341 times, 1 visits today)

टिप्पणी

comments