Main Menu

प्रचण्डसँग भेटाइदिने प्रकाश

डा. देबेन्द्रराज पाण्डे

प्रकाशसँग मेरो चिनजान डा. महेश मास्केमार्फत् १० वर्षपहिले भएको थियो । खासगरी माओवादी जनयद्घ चालु रहेको क्रममा व्यक्तिगत रुपमा नागरिकका नाताले मलाई पनि शान्ति र परिवर्तन हुनुपर्छ भन्ने चिन्ता लागिरहन्थ्यो । जनयुद्घको कारण त प्रष्ट थियो । तर, के नेपालमा परिवर्तन जनयुद्घको प्रक्रियाबाट मात्रै हुने हो त ? भनेपछि हामीले ००७, ०४६ सालमा गरेको आन्दोलनको के अर्थ भो त ? यस्ता कुरा ममा उठिरहन्थ्यो । त्यही क्रममा प्रकाशजीसँग भेट हुन्थ्यो । सरसल्लाह हुन्थे पनि । अर्ध भूमिगत भएकोले उहाँ कम र म बढी फोन गर्दथें । मेरो घर बिहानै आउनुहुन्थ्यो पनि । कहिले मलाई अन्तै बोलाउनुहुन्थ्यो ।

प्रकाशजीसँगको रोचक प्रसंग पनि छ । करिब सात वर्षअगाडि मैले दिल्लीमा प्रचण्डलाई भेट्ने मौका पाएँ । त्यो प्रकाशमार्फत् नै थियो । म विदेश जाने क्रममा दिल्लीको बाटो हिडिरहने भएकोले मलाई दिल्लीमा माओवादी नेतालाई भेट्न सजिलो पनि थियो । नभन्दै प्रकाशलाई मैले प्रचण्ड र बाबुरामलाई भेट्ने चाहना व्यक्त गरेको थिएँ । प्रकाशजीले फोन गरेर मेरो दिल्लीको नम्बर माग्नुभयो । म धेरैजसो बर्लिनतिर जाने गर्दथें । मेरो ट्रान्सपरेन्सी इन्टरनेशनलको सम्बन्धको कारणले । म दिल्लीको इण्डिया इन्टरनेशनलको पनि सदस्य छु । त्यहीँको सम्पर्क नम्बर दिएँ । सम्पर्क गरी एकजना लिन आए र दिल्लीको गल्लीमा भित्र—भित्र घुमाउँदै लगे । एउटा सामान्य घरको तीन तलामाथि ।

यसो हेरेको त कोही त्यहाँ बसिरहनुभएको रहेछ । मैले ‘नमस्कार म देवेन्द्रराज पाण्डे ।’ भनें । उहाँले ‘म प्रचण्ड ’ भन्दा मलाई कस्तो भयो होला ? त्यो बेलासम्ममा पनि म त्यहाँ डा. बाबुराम भट्टराई हुनुहोला भन्नेमा थिएँ । डा. बाबुरामसँग भने मेरो धेरै लामो परिचय । उहाँसँग भने धेरै खुलस्त कुरा गर्थें म । त्यो पहिलो भेटमै गहिरो राजनीतिक कुरा प्रचण्डजीसँग के गर्नुथियो र ? ‘समाज परिवर्तनका लागि नेपालको लोकतान्त्रिक व्यवस्थालाई सार्थक बनाउने र सबै तप्काका जनताका लागि भन्ने मेरो पुरानै एजेण्डा हो । यसको लागि तपाईँहरुले जनयुद्घ छेडेर फेरि वास्तवमा सफल नहुने बाटोमा हिड्नुभयो । त्यसले त निरंकुश दक्षिणपन्थी शक्तिहरुलाई नै बलियो बनाउँछ’ भन्ने कुरा मैले गरें ।

तर, प्रचण्डसँग मलाई कस्तो लाग्यो भने पहिलो भेटमा नै सहज रुपमा कुरा गर्न मिल्ने । सुनिरहने । अलिकति जवाफ दिने । गर्दागर्दै म त चार घण्टा बसेछु । हुँदाहुँदा दुवैजनाले पत्रिकामा दालभात राखेर समेत खाइयो । यो मैले किन भनेको भने, यस्तो काम प्रकाशको माध्यमबाट भयो । त्यसपछि त धेरै पटक आइयो, गइयो पनि ।

म आफूलाई गैर—वामपन्थी भन्छु । विचारधाराका हिसाबले प्रकाशजी र मेरो एउटै हुने त भएन । तर मुलुक बारेको चिन्ता र गन्तव्य, सामाजिक न्याय, स्वतन्त्रता, समानताका कुराहरु भने हामीबीच सबै मिल्ने । दोस्रो पटक सात महिने युद्घविराम भयो । बाबुरामजीहरु यहीं आउनुभयो । अनि दिनानाथ र महराजी पनि आउनुभयो । सबैसँग मेरो भेट हुन्थ्यो । उतातिर सरकारी वार्ता हुन्थ्यो । ज्ञानेन्द्रको सरकारसँग वार्ता गरेर के हुन्छ ? त्यसैले पार्टीहरुका बीचमा वार्ता गराउन प्रकाशजी असाध्यै लाग्नुभएको हो । अझ त्योभन्दा अगाडिदेखि नै उहाँ लागेको हो । मेरै घरमा पनि नेकपा एमालेका प्रतिनिधि, नेपाली काँग्रेसका प्रतिनिधि, माओवादीका प्रतिनिधि, प्रकाश, कहिलेकाही श्याम श्रेष्ठ, म र महेश् मास्केसहित कति बैठक भए, भए । बाबुराम, बादलसमेत आएका हुन्थे । एक चरण गिरिजाबाबु र बाबुरामको भेटघाट पनि यहाँ भएको छ । यी सबै काम प्रकाशमार्फत् नै भएका हुन् ।

प्रकाश र मेरो बीचमा राजनीतिक दल तथा माओवादीका बीचमा वार्ता हुनुपर्छ भन्ने कुरा हुन्थ्यो । उनीहरुका बीचमा एउटा समझदारी गर्न सकिन्छ, जसले गर्दा समझदारीबाट युद्धको अन्त्य भएर शान्ति स्थापना गर्ने बाटो खुल्छ, अर्कोतिर लोकतान्त्रिक व्यवस्थालाई पर्न लागेको आघात हट्छ भन्नेमा पनि हामी विश्वस्त थियौँ ।

सुरुका दिनमा असोजतन्त्र थियो । माघ १९ पछि त झन् माहौल नै अर्कै भयो । प्रकाशको त सिधै गिरिजाबाबुसँग सम्पर्क हुन्थ्यो । माधव नेपाल र प्रचण्डसँग त झन् हुने नै भयो । त्यसैले मैले भन्नेभन्दा त कति धेरै उहाँले गर्नुभएको छ, त्यसको त कुरै भएन । उहाँले गर्नुभएको व्यापक महत्वको काममा म पनि सानो रुपले नै भए पनि संलग्न हुन पाएँ भन्नेमा म खुसी छु ।

बाबुराम र प्रचण्डका बीचमा अन्तरद्वन्द्व भयो । उहाँले मात्र होइन, हामीजस्ताले पनि त्यो मिलाउने प्रयास गर्यौँ । प्रकाशसँग भेटघाट भइरहन्थ्यो के गर्ने ? कसो गर्ने ? भनेर । बाबुरामजीलाई त मानौँ कब्जा नै गरेर राखिएको रहेछ । पछि उहाँलाई मुक्त गरेर दिल्ली पठाए । दिल्लीमा बाबुरामसँग भेटेको बेलामा प्रकाशसँग कुरा गरेर त्यहीँबाट स्याटलाइट फोनमा प्रचण्डसँग कुरा गरेको म सम्झन्छु ।

बाबुराम र प्रचण्ड दुबैलाई मैले भन्ने कुरा के भने, ‘१२ हजार नागरिकको ज्यान गइसक्यो, समाजको परिवर्तन गर्न तिमीहरु लागेका, तिमीहरु झगडा गर्ने ? यो क्या हो ?’

मैले केही पर्यो कि प्रकाशलाई फोन गरिहाल्यो । उहाँ पनि यो बेलामा यो मान्छे काम लाग्छ भन्ने भएपछि मलाई सम्झनुहुन्थ्यो । मलाई गत जेठ (२०६५) १७ गते मात्रै पनि प्रकाशले भन्दै थिए, ‘तपाईंको काम आउँदैछ है भनेर । हामीबीचमा यस्तो विश्वास छ । म गैरकम्युनिष्ट प्रकारको मान्छे भए पनि हामीमा यो प्रकारको विश्वास छ ।

१२ बुँदे समझदारी बनाउन मात्रै होइन, त्योभन्दा धेरैमा प्रकाशको भूमिका छ । प्रकाश त दैनिक रुपमा शान्ति प्रक्रियाका लागि धेरै लागेको मान्छे हो । १२ बुँदे बनाउने बेलामा प्रत्येक पार्टीका नेताहरुमा एकआपसमा विश्वास नै थिएन । त्यो विश्वासको संकट हटाउन प्रकाशले ठूलो भूमिका खेलेकै हो । माओवादीको हिंसाको पक्षबाहेक अरु पक्षमा समर्थन गरेकोले मैले माओवादी भनेर गाली पनि खाएको छु । विकास भनेको त परिवर्तन हो । परिवर्तन भनेको त आर्थिक बृद्धि मात्र होइन । समाजको सामन्ती सम्बन्ध र पछौटे सोच जुन छ, जुन प्रकारका जजमानी व्यवस्थाहरु छन्, विभेदका सम्बन्धहरु छन्, ती सबैको अन्त्य नगरी हुन्छ ? ती कुराले पनि मलाई घच्घच्याउने गरेको हो । त्यसलाई सहज गर्ने बाटोमा हिँड्न पाएको प्रकाशजीलाई चिनेर र उहाँले मप्रति देखाएको विश्वासको कारणले पनि हो ।

जनआन्दोलनपछि दलहरुका बीचमा असहमति हुँदा त्यसलाई मिलाउन प्रकाशजीले पछिल्लो समयमा पनि राम्रो भूमिका खेल्नुभएको छ । बालुवाटार बैठकमा बडो सशक्त, जोडदार, तर्कसंगत तरिकाले प्रस्तुत हुनसक्ने उहाँ नै हो । मुलुकलाई अग्रगमनमा लाने कुरामा उहाँको सधैं एउटै चिन्तन देखिन्छ । प्रकाशजी भूमिगत हुँदा पनि उहाँका रचनात्मक काम, राजनीतिक कार्य र उहाँको क्षमता कुनै नेपाली जनतासँग लुकेको छैन । प्रचण्डलाई जस्तो एकाएक हेरेर बुझ्नुपर्ला जस्तो लाग्दैन । प्रकाशको बारेमा राम्रो मूल्याङ्कन गरेर जनताहरु बसेका छन् । खालि उहाँकै पूराना सहयात्री मोहनविक्रम लगायतलाई भने प्रकाशको भूमिका मन नपरेको हुनसक्छ । ती मोहनविक्रमलाई मैले चिनेको पनि छैन, तर मलाई बेलाबेलामा लेखमार्फत् गाली गरिरहेका हुन्छन् । प्रकाश र बाबुरामसँग राम्रो सम्बन्ध भएकाले अनाहकमा मोहनविक्रमले मलाई समेत गाली गरिरहेका हुन्छन् ।

प्रकाशजी निख्खर कम्युनिष्ट आन्दोलनबाट समाज परिवर्तन गर्न हिँडेका नेता हुनुहुन्छ । हिंसाप्रति उहाँको कुनै आकर्षण देखिएन, जसको कारण उहाँ र मेरो सम्बन्धमा कुनै छेकेबार हुन पाएन ।

  • डा. देवेन्द्रराज पाण्डे

 

(Visited 144 times, 1 visits today)

टिप्पणी

comments