Main Menu

निष्ठावान क्रान्तिकारी नेता

local-election-environment-promising-pm

प्रचण्ड

०४६ सालको जनआन्दोलनपछि पार्टी एकता र धु्रवीकरणको प्रक्रिया तीव्र रुपमा चल्यो । त्यो ध्रुवीकरणको बहसमा नै प्रकाशजीसँग मेरो कहिँनकहिँ वैचारिक सामिप्यता रहेछ भन्ने महशूस भएको थियो । त्यही बहसमा एकताकेन्द्र बन्यो । हामी जहाँ छलफल गर्दा पनि एक—अर्कोमा क्रान्तिप्रतिको इमान्दारिता र वैचारिक निष्ठामा कहीँकतै पनि शंका रहेन । यद्यपि कतिपय कार्यनीति र विचारका बारेमा हामीबीचमा अन्तर थिए । अहिले पनि अन्तरहरु छन् । तर एक—अर्काप्रतिको वर्गनिष्ठा, विचार र क्रान्तिप्रतिको निष्ठामा हाम्रो सधैँ एकमत रह्यो । हामीलाई त्यतिबेला कतिपय विचार तत्कालीन कार्यनीतिलाई बुझ्ने सन्दर्भका बारेमा मतभेद भएपनि फुटिहाल्नुपर्छ, अलग भइहाल्नुपर्छ भन्ने लाग्दैनथ्यो । न त प्रकाशजीले त्यसरी अलग्गिए हुन्थ्यो भन्ने सोच्नुभयो न त मैले नै सोचेँ ।

तत्कालको कार्यनीतिमा हामी जनयुद्घतिर लाग्नुपर्छ भन्नेमा गयौं । उहाँहरु अहिले नै जनयुद्घमा लागिहाल्नु हुँदैन भन्नेमा । यी कारणले सँगै बस्न अप्ठ्यारो त थियो नै । फेरि हामी विचारधारात्मक, रणनीतिक र भावनात्मक दृष्टिकोणको कारणले अलग्गिन चाँहदैनथ्यौं । जेजस्ता कारणले हामीहरु अलग्गिनु परेपनि दुई—चार वर्षमा हाम्रा कार्यनीतिहरु परीक्षण हुन्छन्, अन्ततः हामी वर्ग विचार र क्रान्तिप्रतिको निष्ठाको कारणले एकै ठाउँमा आइपुग्नेछौं भन्ने असाध्यै भावुक र तरंगित हुँदै हामी अलग्गिएका थियौं । जनयुद्धमा प्रवेश गरेपछि पनि उहाँसँग मेरो कहिल्यै अलग्गिएको महसुस भएन । उहाँले जनयुद्धको रक्षाका लागि आफ्नो ठाउँबाट उल्लेखनीय सहयोग पुर्याउनु भयो । मैले पनि उहाँलाई धेरै मद्दत गरेँ । एउटा कमरेडले गर्ने व्यवहार मेरो तर्फबाट अधिकतम् भयो भन्ने लाग्छ । त्यो विश्वास उहाँ र म दुवैमा छ ।

जनयुद्धको पूरै अवधिमा हामीहरु पटकपटक लामो अवधिसम्म निरन्तर भेटघाटमा रह्यौं । त्यो भारतमा भूमिगत रहँदा पनि हुन्थ्यो, सिलगुढी, गोरखपुर, लखनउ, पञ्जाव हुँदै दिल्लीसम्म हाम्रा थुप्रै बैठकहरु भए । देशभित्र पनि लगातार भेटघाट भए रोल्पामा मात्रै पनि धेरै पटक भेटघाट भएका छन् । यसकारणले हामीले जनयुद्धमा भएर पनि कहिल्यै अलग पार्टीको जस्तो महशूस गरेनौं ।

शान्ति प्रक्रियामा आइसकेपछि पनि जुन विवेक र गम्भिरताका साथ हाम्रो एकीकरण बढ्नुपर्दथ्यो, त्यो प्रक्रिया अगाडि बढ्न सकेन, जसको चिन्ता उहाँ र म दुवैमा छ । हिजो कार्यनीतिसम्बन्धी हाम्रा जो अन्तरविरोधहरु थिए, त्यसमा १२ वर्षको अवधिमा हामी संश्लेषित भएर आएका छौं । आधारभूत विचारमा त हिजो र आज हाम्रो कुनै मतभेद थिएन र छैन ।

हामीले हाम्रा अन्तरविरोधका पाटाहरुलाई लगभग टुंग्याइसकेका पनि छौं । थोरै प्राविधिक कारणले हाम्रो एकता प्रक्रिया रोकिन पुगेको थियो । मुख्यतः त्यसमा पार्टीको नामका विषयमा नै भनौं र समयको चापले पनि हामीलाई समस्या पार्यो । उहाँले नेतृत्व गरेको संगठनमा प्रवृतिगत केही समस्या रहे । यता मैले नेतृत्व गरेको संगठनमा भने त्यति समस्या परेको होइन । निर्वाचन अगाडि एकतालाई निश्कर्षमा पुर्याउन हामीहरु जुटेका पनि थियौं । अब हाम्रो छिट्टै एकता हुँदैछ ।

सिलगुढी बैठकदेखिको भूमिका

सिलगुढीमा छ वाम पार्टीको वार्ता गर्न उहाँलाई मैले पनि बैठकको आयोजना गर्न अनुरोध गरेको थिएँ । हामीहरु पनि त्यहीँ भएकोले बैठकको वातावरण हामीले पनि मिलायौं । सो बैठकदेखि यहाँसम्म उहाँले इमान्दारिताका साथ निकै सक्रिय ढंगले शान्ति प्रक्रियालाई अगाडि बढाउन भूमिका खेल्नुभयो । १२ बुँदे समझमदारी बनाउन उहाँको तर्फबाट पूरै मेहनत भएको मैले मूल्यांकन गरेको छु । यसको अर्थ यो होइन कि उहाँले मात्र वा मैले मात्र भूमिका खेलेका थियौं । कहिलेकाहिँ यसको अलि अतिरञ्जित ढंगले पनि व्याख्या हुने गरेको छ । अथवा गिरीजाबाबु र माधव नेपालले मात्र भूमिका खेलेको भन्ने गरी पनि व्याख्या हुने गरेको छ । त्यो सत्य होइन । उहाँ र मजस्ता समान विचार भएका मान्छेहरुले एक ढंगले मेहनत गर्यौं । गिरिजाबाबु र माधव नेपाल जस्ताहरुलाई त एउटा बाध्यता मात्र थियो । हाम्रो तर्फबाट भने एउटा विचारप्रतिको प्रतिबद्धताका हिसाबले त्यो मेहनत भएको थियो । सबै एउटै र बराबरी हो भन्ने होइन ।

उहाँ नभएको भए शान्ति प्रक्रिया यसरी बढ्थ्यो कि बढ्दैनथ्यो ? भन्ने प्रश्न अलि हाइफोथेटिकल हुन्छ । त्यसैले अनुमानका आधारमा भन्न अलि गाह्रो हुन्छ । तर, उहाँको महत्वपूर्ण भूमिका रहेको भन्ने कुरामा दुई मत हुनसक्दैन । कतिपय पत्रपत्रिकाले उहाँको मूल्यांकन गर्दा अतिरन्जित ढंले प्रचार गर्ने गरेका पनि छन् । अनावश्यक प्रचारले पनि बैठीक ठाउँमा लान्छ भन्ने लाग्छ । निर्णायक भूमिका नै उहाँको मात्र हो भन्ने चाहिँ होइन । उहाँले पनि त्यस्तो भन्नुभएको छैन ।

सरलता, इमान्दारिता र लगनशीलता उहाँमा भएका असाध्यै राम्रा गुणहरु हुन् । त्यही गुणले नै उहाँलाई क्रमशः अगाडि ल्याइरहेको ठानेको छु । उहाँ र ममा मिल्ने समानता पनि यिनै कुराहरुमा छन् । आफ्नो लक्ष्यप्रति असाध्यै निष्ठावान रहनु भनेको क्रान्तिप्रतिको प्रतिबद्धता हो । उहाँमा त्यो छ ।

प्रकाशजी र मेरो ०४७—०५० का अवधिमा निकै बाक्लो भेटघाट हुने गर्दथ्यो । त्यतिबेलादेखि नै हामी बीचमा एउटा सहज वातावरण बनिसकेको थियो । संकटकालको अवस्थामा पनि दिन—रात जुनसुकै बेला पनि हामीहरु छलफल गर्दैगर्याैं । कुरा नमिले पनि हामीमा कुने कटुताका अनुभव हुँदैन थियो । त्यो छलफलले हामीलाई सकारात्मक बाटोतिर उन्मुख गरायो ।

  • प्रचण्ड, माओवादी अध्यक्ष

(Visited 157 times, 1 visits today)

टिप्पणी

comments