Main Menu

वर्तमानको विश्लेषण

आज हामी एउटा नयाँ विश्वमा छौं । यो नयाँ विश्वमा सोभियत संघ छैन, शोषित–उत्पीडित वर्गहरुको आशा–केन्द्र समाजवादी सत्ता छैन, कुनै जमानामा संसार हल्लाउने कम्युनिस्ट आन्दोलनमा गतिरोध आएको छ र शक्तिशाली श्रमिक संगठनहरु शिथिल भएका छन् । सम्पूर्ण विश्वमा पूँजीवादीहरुको करिब एकल वर्चस्व (प्रभुत्व) स्थापित भएको छ, जसको प्रतिरोध या त हुँदैहुँदैन या प्रभावहीन हुन्छ । तर पनि, सोभियत संघ नभएकोले यो विश्व नयाँ भएको होइन । त्यसको विपरित, यो विश्वको नयाँ स्वरुपको कारण सोभियत संघको अन्त्य भएको छ र पूँजीवादीले पनि अस्तित्व बचाउन आफूलाई बदलेको छ ।

विगतमा नै ढल्छ भनिएको पूँजीवाद अझ हराभरा भएर आएको छ । पहिले आपसमा प्रतिस्पर्धा, युद्ध र काट–मार गर्ने पूँजीवादीहरु अहिले आश्चर्यजनक रुपलेएकजुट, संयुक्त भएका छन् । इराक, युगोस्लाभिया, अफगानिस्तान, लिबिया र सिरियाको विरुद्ध युद्धमा उनीहरुले एकताको राम्रो परिचय दिएका छन् । यस्तो एकताका दृष्टान्तहरु बहुराष्ट्रि कम्पनीहरु, निगमहरु र गठबन्धनहरु पनि हुन् ।

विगतमा नै ढल्छ भनिएको पूँजीवाद अझ हराभरा भएर आएको छ, किन ? पहिले आपसमा प्रतिस्पर्धा, युद्ध र काटमार गर्ने पूँजीवादीहरु अहिले एकजुट भएका छन्, किन ? र समाज रुपान्तरणको अजेय शक्ति सर्वहारावर्ग अहिले निष्क्रिय भएको छ, किन ? यी प्रश्नहरुको उत्तरको लागि वर्तमानको विश्लेषण, अध्ययन गर्नु आवश्यक छ ।
वर्तमान युगका चार आधारभूत विशेषताहरु छन्–(१) नयाँ उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास, (२) पूँजीवादको नयाँ स्वरुप, (३) उत्पादन क्षेत्रबाट मानवश्रमको विस्थापन, र (४) समाजको नयाँ संरचना ।

१. नयाँ उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास

उन्नाइसौं र बीसौं शताब्दीको आरम्भमा राष्ट्रहरुको शक्ति तिनीहरुको औद्योगिक क्षमता थियो, जसको प्रमुख तत्व स्टील उत्पादन थियो । दोस्रो विश्वयुद्धपछि, वैज्ञानिक–प्राविधिक क्षमता देशको प्रमुख शक्ति बन्यो, र अनुसन्धान तथा विकास (R &D) ले शक्तिको मापनको रुपमा रहेको स्टील उत्पादनलाई प्रतिस्थापित गर्यो । त्यसकारण वर्तमान समाजमा (उत्तर–आधुनिक समाजमा) प्रमुख समस्या विज्ञानको संगठन हो, र प्राथमिक संस्था विश्वविद्यालय वा अनुसन्धान संस्था हो, जहाँ यस्तो कार्य गरिन्छ ।

औद्योगिक समाजमा उत्पादनको लागि यन्त्रहरु र मानिसहरुको संयोजन हुन्छ, उत्तर–आधुनिक समाज सामाजिक नियन्त्रण, नव–प्रवत्र्तन तथा परिवर्तनको निर्देशनको लागि ज्ञानको वरिपरि संगठित भएको छ । र, यसले पुनः नयाँ सामाजिक सम्बन्धहरु र नयाँ संरचनाहरुलाई जन्म दिन्छ, जसलाई राजनीतिक रुपले व्यवस्थापन गर्नुपर्दछ ।

अहिले ज्ञान वास्तवमा कुनै पनि देशको सञ्चालनको लागि आवश्यक भएको छ । उत्तर–आधुनिक समाजको लागि विशेष कुरा स्वयं ज्ञानको चरित्रमा परिवर्तन हो । निर्णयहरुको संगठन र परिवर्तनको निर्देशनको लागि जुन कुरा निर्णायक भएको छ, त्यो सैद्धान्तिक ज्ञानको केन्द्रीयता हो । अनुभवमाथि सिद्धान्तको प्रथमिकता र चिन्हहरुको अमूर्त प्रणालीहरुमा ज्ञानको सूत्रीकरण (codification), जुन स्वयंसिद्धि प्रणाली (axiomatic system)मा जस्तै धेरै भिन्न तथा विविधीकृत अनुभवका क्षेत्रहरुलाई स्पष्ट गर्न, मार्गदर्शन गर्न उपयोग गर्न सकिन्छ

अहिले हरेक समाज नव–प्रवत्र्तन र परिवर्तनको नियन्त्रणबाट बाँच्दछ, र आगामी योजनाको लागि भविष्यको पूर्वानुमान गर्ने प्रयत्न गर्दछ । सामाजिक नियन्त्रणको यो प्रतिबद्धताले समाजमा योजना र भविष्यवाणीलाई प्रवेश गराउँदछ । यो नव–प्रवत्र्तनको प्रकृतिप्रति परिवर्तित सचेतता हो, जसले सैद्धान्तिक ज्ञानलाई यति निर्णायक बनाउँदछ ।

यो कुरा सर्वप्रथम विज्ञान र प्रविधिको परिवर्तित सम्बन्धमा देख्न सकिन्छ । विगत कालका करिब सवै उद्योगहरु– स्टील, विद्युतीय शक्ति, टेलिग्राफ, टेलिफोन, मोटरगाडी, हवाईजहाज–मुख्यतया प्रतिभाशाली आविष्कारकहरुका सृजना थिए, जो विज्ञान र आफ्ना अनुसन्धानका आधारभूत नियमहरुसँग अपरिचित थिए । तर वर्तमान कालका सवै उद्योगहरु विज्ञानमा पारंगत इन्जिनियरहरुका सृजना हुन् । वर्तमान कालका प्रमुख उद्योगहरुमध्ये एउटा रासायनिक उद्योग हो, जसमा विज्ञान र प्रविधिको जटिल संयोजन हुन्छ । किनभने रासायनिक संश्लेषणको लागि– यौगिकहरुका संयोजन र रुपान्तरणको लागि– सूक्ष्म अणुहरुको सैद्धान्तिक ज्ञान आवश्यक हुन्छ ।

वर्तमान समयमा विज्ञान, प्रविधि र अर्थतन्त्रको संयोजनलाई ‘अनुसन्धान र विकास’ (Research and Development) शब्दावलीद्वारा व्यक्त गरिन्छ । यसबाट विज्ञानमा आधारित उद्योगहरु (कम्प्युटर, इलोक्ट्रोनिक्स, अप्टिक्स, पोलिमर) आएका छन्, जसले निरन्तर समाजका उत्पादन क्षेत्रहरुमा आधिपत्य जमाइरहेका छन् । तर यी विज्ञानमा आधारित उद्योगहरु मुख्यतया सैद्धान्तिक कार्यमा आधारित छन् । उदाहरणको लागि, कम्प्युटरको अस्तित्व केही वर्षपहिले फेलिक्स ब्लखद्वारा प्रवत्र्तित ठोस अवस्थाको भौतिक विज्ञान (solid state physics)मा गरिएको कार्यबिना हुन सक्दैनथ्यो । लेजरको आगमन आणविक प्रकाशीय बिममा आई.आई.रबिसको अनुसन्धानको प्रत्यक्ष परिणाम हो ।

अहिले कुनै पनि क्षेत्रका प्रगतिहरु बढ्दो मात्रामा सैद्धान्तिक कार्यको प्राथमिकतामा आधारित छन्, जसले ज्ञान कुराहरुलाई सूत्रबद्ध गर्दछ, र आनुभविक पुष्टिको लागि मार्गदर्शन गर्दछ । परिणामस्वरुप, सैद्धान्तिक ज्ञान निरन्तर रुपमा समाजको रणनीतिक स्रोत (प्रमुख स्रोत), मूल आधार बनेको छ । र, विश्वविद्यालयहरु, अनुसन्धान संगठनहरु र बौद्धिक संस्थाहरु, जहाँ सैद्धान्तिक ज्ञान सूत्रबद्ध र समृद्ध हुन्छ, उदीयमान समाजका प्रमुख भागहरु बनेका छन् । यो कुरा ज्ञानको हरेक क्षेत्रमा लागु हुन्छ ।

पूँजीवादी समाजमा आधारभूत तत्व निजी सम्पत्ति थियो, र वर्तमान समाजमा यो तत्व सैद्धान्तिक ज्ञानको केन्द्रीयता हो । औद्योगिक समाजमा प्रमुख आर्थिक विषय पूँजी थियो तर उत्तर–औद्योगिक समाजमा प्रमुख आर्थिक विषय विज्ञानको संगठन भएको छ ।

उत्तर–औद्योगिक समाजका आधारहरु उत्पादनका विधिहरुमाथि, विशेषगरी विद्युतीय तथा रासायनिक उद्योगहरुमा रुपान्तरणको लागि, विज्ञानको निरन्तर प्रभावमा निहित छन् ।
विज्ञान जगत त्यो बीजाणु हो, जसमा भावी समाजको भ्रूण रहेको छ ।

सामाजिक संरचनाको नयाँ निर्धारक विशेषता वैज्ञानिक–प्राविधिक क्रान्ति हो, अथवा सैद्धान्तिक ज्ञानको केन्द्रीयता हो, जसले सामाजिक संगठनको प्रमुख आधारको रुपमा काम गर्दछ ।
समाजको नयाँ स्तरीकरण प्रणालीको विशेषता वैज्ञानिक तथा प्राविधिक वर्गहरु र विज्ञान–प्रविधिभन्दा बाहिर रहने वर्गहरुको बीचमा विभाजन हो ।

नव–प्रवर्तनसँग विज्ञानको संयोजन र व्यवस्थित तथा संगठित (योजनाबद्ध) प्राविधिक बृद्धिको संभाव्यता, वर्तमान समाजको प्रमुख आधार हो । पहिलेका आविष्कारहरु र नव–प्रत्र्तनहरु वैज्ञानिक अनुसन्धानसँग जोडिएका थिएनन् । तर वर्तमान उद्योगहरु–पोलिमर र प्लास्टिक, इलोक्ट्रोनिक्स र अप्टिक्स, रसायनहरु र सिन्थेटिक्स, वायुयान र सञ्चार– सबै पूर्णतया विज्ञानमा आधारित छन् ।

उत्तर–आधुनिक समाजको एउटा अक्ष प्रविधि हो र अर्को अक्ष आधारभूत स्रोतको रुपमा ज्ञान हो । ज्ञान र प्रविधि सामाजिक संस्थाहरुमा मूर्त भएका छन्, त्यसकारण वर्तमान समाजलाई ज्ञान–समाज (knowledge society) भन्न सकिन्छ ।

प्रविधि बृद्धि भएको सम्पूर्ण उत्पादकत्वको आधार हो, र उत्पादकत्व आर्थिक क्षेत्रको रुपान्तरणकारी तत्व बनेको छ, जसको कल्पना कुनै पनि शास्त्रीय अर्थशास्त्रीले गर्न सकेको थिएन ।
उत्तर–औद्योगिक समाजलाई दुई अर्थमा ज्ञान–समाज भन्न सकिन्छ : पहिलोे, नव–प्रवत्र्तनका स्रोतहरु बढी मात्रामा अनुसन्धान र विकास (R & D) बाट प्राप्त हुन्छन्; दोस्रो, कुल राष्ट्रिय उत्पादनको ठूलो भाग र रोजगारको ठूलो भाग ज्ञानको क्षेत्रमा पर्दछन् ।

विज्ञानमा आधारित प्रविधिहरु र उद्योगहरुलाई उत्पादन तथा प्रक्रियाहरुमा प्रमुख प्रगतिहरु गर्नको लागि ठूलो सुविधा प्राप्त छ । वर्तमान समाजमा अधिकांश वस्तुहरु विज्ञानमा आधारित प्रविधिहरु तथा उद्योगहरुबाट उत्पादित भएका छन् ।

वैज्ञानिक प्राविधिक क्रान्तिको परिणाम केवल श्रमको मात्र होइन, सम्पूर्ण उत्पादक शक्तिहरुको अविच्छिन्न, यन्त्रीकृत (स्वचालित) उत्पादन प्रक्रियामा रुपान्तरण हो, जसमा अब मानव उत्पादन प्रक्रियाको ‘किनारा’मा रहन्छ, जहाँ पहिले ऊ त्यसको प्रमुख कर्ता हुन्थ्यो । फलस्वरुप समाजका उत्पादक शक्तिहरुको बृद्धिमा श्रम–शक्ति (र श्रमिक वर्ग) होइन, बरु विज्ञान (र वैज्ञानिक वर्ग) ‘निर्णायक तत्व’ भएको छ ।
सरल, विखण्डित कार्यको स्थानमा अहिले प्रविधि, संगठन र कुशलताको भेषमा विज्ञान र त्यसको प्रयोग आएको छ । पहिले जुन क्षेत्र उद्योगबाट अलग हुन्थ्यो र कहिलेकाही सानो मात्रामा मात्र ल्याइन्थ्यो, त्यो अब उत्पादन र सम्पूर्ण सामाजिक जीवनको केन्द्रमा प्रवेश गरिरहेको छ ।

अर्को शब्दमा, विज्ञान राष्ट्रिय अर्थतन्त्रमा प्रमुख चर(तत्व)को रुपमा र सभ्यताको विकासमा प्रमुख आयामको रुपमा उदाइरहेको छ । वैज्ञानिक–प्राविधिक क्रान्तिको र यसद्वारा विकसित बृद्धिका प्रारुपहरुका परिवर्तनहरुको एउटा निश्चित चरणमा, समाजको विकासका सम्पूर्ण नियमहरु र अनुपातहरु (आकारहरु) एउटा नयाँ प्रकाशमा देखिन्छन् । यो मुख्यतया विज्ञान, प्रविधि र उत्पादनको बीचको सम्बन्धमा लागु हुन्छ । वैज्ञानिक–प्राविधिक क्रान्तिका परिवेशहरुमा उत्पादक शक्तिहरुको बृद्धिले एउटा उच्च प्राथमिकताको नियमलाई, अर्थात् प्रविधिमाथि विज्ञानको र उद्योगमाथि प्रविधिको प्राथमिकतालाई अनुसरण गर्दछ ।

२. पूँजीवादको नयाँ स्वरुप

विगत कालको पूँजीवादको विकासक्रमलाई तीन चरणहरुमा विभाजन गर्न सकिन्छ– (१) संरक्षणवादी पूँजीवाद, (२) प्रतिस्पर्धी पूँजीवाद, र (३) एकाधिकारी पूँजीवाद ।

१) संरक्षणवादी पूँजीवाद (Protectionist Capitalism)– पूँजीवादको यो चरण चौधौं शताब्दीबाट आरम्भ भएको थियो र सोह्रौं शताब्दीसम्म अस्तित्वमा रहेको थियो । यसको आधार व्यापार थियो, त्यसकारण यो व्यापारिक पूँजीवाद (Mercantile Capitalism) थियो ।

२) प्रतिस्पर्धी पूँजीवाद(Competitive Capitalism)–यो चरण सोह्रौं शताब्दीबाट आरम्भ भएको थियो र उन्नाइसौं शताब्दीसम्म रहेको थियो । यसको आधार उद्योग थियो, त्यसकारण यो औद्योगिक पूँजीवाद (Industrial Capitalism) थियो ।

३) एकाधिकारी पूँजीवाद(Monopoly Capitalism)– यसको आरम्भ बीसौँ शताब्दीबाट भएको थियो र यो आधा शताब्दीसम्म (१९४५सम्म) रह्यो । यो वित्तमा आधारित पूँजीवाद अथवा वित्तीय पूँजीवाद (Financial Capitalism) थियो ।

तर सन् १९४५ बाट पूँजीवादले एकीकरणको चरणमा प्रवेश ग¥यो । यो नै पूँजीवादको वर्तमान चरण हो ।
पूँजीवादको आरम्भमा प्रतिस्पर्धालाई यसको अनिवार्य शर्त मानिन्थ्यो । तर वर्तमान समयमा एकता पूँजीवादको लागि अनिवार्य शर्त र लाभदायक भएको छ । त्यसकारण वर्तमान पूँजीवादको विशेषता प्रतिस्पर्धा होइन, एकता हो ।

वर्तमान पूँजीवाद प्रतिस्पर्धी छैन; त्यसको विपरित, यो एकीकृत भएको छ, जुन भूमण्डलीकरण (globalization) को रुपमा व्यक्त भएको छ । त्यसकारण यो एकीकृत पूँजीवाद (Unified Capitalism) हो । अर्को शब्दमा, यसलाई अन्तर्सम्बन्धित पूँजीवाद (Interconnected Capitalism) भन्न सकिन्छ ।

पूँजीवादको एकीकरणका तीन चरणहरु तथा प्रक्रियाहरु छन्– (१)सिण्डिकेट, (२) कार्टेल र (३) कर्पोरेशन

१) सिण्डिकेट(syndicate)– समान प्रकारका उद्यमहरु मिलेर सिण्डिकेट बन्दछ, अथवा समान प्रकारका उद्यमहरुको संयोजनबाट सिण्डिकेट बन्दछ, जसको उद्देश्य मूल्य निश्चित गर्नु हो । यसले प्रतिस्पर्धाबाट हुने मूल्यको ह्रासलाई नियन्त्रण गर्दछ ।

२) कार्टेल(cartel)– भिन्न प्रकारका तर परिपूरक उद्यमहरुको संयोजनबाट कार्टेल बन्दछ । अथवा असमान तर अन्तर्निभर उद्यमहरु मिलेर कार्टेल बन्दछ, जसको उद्देश्य उत्पादन लागत घटाउनु हो ।

३) निगम(corporation)– सम्पूर्ण उद्यमहरु मिलेर निगम बन्दछ । अथवा सवै प्रकारका उद्यमहरुको संयोजनबाट निगम बन्दछ । यसको उद्देश्य सम्पूर्ण क्षेत्रमा एकाधिकार कायम गर्नु हो । अथवा यसको उद्देश्य सम्पूर्ण मानवीय आवश्यकताहरु पूरा गर्नु र ग्राहकलाई आफ्नो परिधि (क्षेत्र) भन्दा बाहिर जान नदिनु हो । त्यसकारण एउटा निगमले सवै आवश्यक वस्तुहरुको र सेवाहरुको उत्पादन गर्दछ– सियोदेखि रकेटसम्म, जुत्तादेखि ताजसम्म, चुरोटदेखि औषधिसम्म । बहुराष्ट्रिय कम्पनीहरु यसका उदाहरण हुन् ।
यी तीन चरणहरु र प्रक्रियाहरुबाट वर्तमान पूँजीवाद एकीकृत वा अन्तर्सम्बन्धित भएको छ ।
वर्तमान एकीकृत पूँजीवाद विज्ञान–प्रविधिमा आधारित छ । अर्थात् वर्तमान एकीकृत पूँजीवादको आधार विज्ञान–प्रविधि हो ।

३. पूँजीवादको आधारको रुपमा विज्ञान–प्रविधि

सन् १९३०को दशक र १९४० को दशकको बीचमा कोलिन क्लर्कले अर्थतन्त्रमा “तृतीय क्षेत्र”, सेवा क्षेत्रको बढ्दो महत्वमाथि ध्यानाकर्षित गरेका थिए । तर यो दृष्टिकोणले वर्तमान समयमा भइरहेको रुपान्तरणको केन्द्रमा पर्याप्त जोड दिएको छैन :  त्यो हो पूँजीवादी उत्पादनका सम्पूर्ण गतिशील क्षेत्रहरुमा विज्ञान–प्रविधिको बढ्दो महत्व ।
पूँजीवाद आज सदाको भन्दा धेरै शक्तिशाली छ, र हामी पूँजीवादको एउटा नयाँ युगको उद्घाटन भइरहेको देखिरहेका छौँ, जसमा निगमहरु (corporations) ले नयाँ वस्तुहरु तथा नयाँ योजनाहरुको विकास गर्नको लागि विज्ञान–प्रविधिको उपयोग गर्दछन्, र जसमा एकाधिकारको सृजनाको लागि प्रतिस्पर्धात्मक संघर्षले एउटा स्थायी आधार प्राप्त गर्दछ ।

यो नयाँ पूँजीवाद विज्ञान–प्रविधिका विकास तथा क्षमतामा निर्भर छ, जसमा नव–प्रवर्त्तन (innovation) को स्रोत अनुसन्धान तथा विकास (R&D) हुन् । विज्ञान–प्रविधिको विकासमाथि पूँजीवादको अधिकार नै यसको वर्तमान “अग्रगामी छलाङ्ग”को र स्थिर अर्थतन्त्र भएका देशहरुमाथि यसको वर्तमान विजयको एउटा अनिवार्य पक्ष हो ।

वर्तमान युगका विकासहरुमा गतिको केन्द्र विशाल पूँजीवादी कर्पोरेशनहरुमा विज्ञान–प्रविधिको अधीनस्थतामा रहेको छ, जसले यसको प्रयोग आफ्ना उद्देश्यहरुको पूर्तिको लागि गर्दछन् । यी शक्तिशाली पूँजीवादी कर्पोरेशनहरुल त्यो प्रमुख आवेग प्रदान गर्दछन्, जसले पदार्थ, शक्ति, जैविक वस्तुहरु, विद्युत–चुम्बकीय सञ्चार र सूचना संग्रह तथा प्रसारणजस्ता क्षेत्रहरुमा नयाँ वैज्ञानिक तथा प्राविधिक ज्ञानको उपयोग गराउँदछ ।

आज वैज्ञानिक ज्ञानका प्रभावहरु हरेक आर्थिक क्षेत्रमा– कृषिदेखि यातायातसम्म– र विभिन्न सेवा क्षेत्रहरुमा–उदाहरणको लागि स्वास्थ्य, संस्कृति, शिक्षा, मनोरञ्जन तथा प्रशासन– देखिन्छन् । विशाल आकारका वैज्ञानिक–प्राविधिक प्रणालीहरुले– जुन वैज्ञानिक तथा प्राविधिकहरुका समूहहरुद्वारा निर्मित तथा सञ्चालित हुन्छन्– नयाँ वस्तुहरु र बजारहरुको सृजना र विकास गर्दछन् (वस्तुहरु, पदार्थहरु, सेवाहरु), जसको उत्पादन पनि विज्ञानमा आधारित प्राविधिक ज्ञानद्वारा हुन्छ । हामी बाँच्ने तरीका र हाम्रो समाजले काम गर्ने तरीका दुवै यो प्रक्रियाबाट पूर्णरुपले प्रभावित छन् ।

वर्तमान पूँजीवादी उत्पादनमा उत्पादित वस्तुहरु अत्यन्त जटिल स्वरुपका छन्, जसको खरिद अलग–अलग ढंगबाट गर्न सकिन्छ तर अन्य भागहरुबिना तिनीहरु उपयोगहीन हुन्छन्; उदाहरणको लागि सफ्टवेयर प्रोग्राम, नेटवर्क सब्स्क्रीप्सन, विभिन्न संयोजक घटकहरु । अल्पसंख्यक विशाल कर्पोरेशनहरुद्वारा नियन्त्रित र निरन्तर नवीकृत प्रविधिहरुको संयोजनले जोडिएका यी नयाँ वस्तुहरु सञ्जालहरु (networks)र प्रणालीहरुमा आबद्ध छन्, जसले आफ्नै कार्यविधिहरु र मान्यताहरु स्थापित गर्दछन् । यी नयाँ सञ्जालहरु र प्रणालीहरु विज्ञान–प्रविधिमा आधारित छन्, र त्यसैकारण यिनीहरु पूर्णरुपले त्यस्ता विज्ञान कम्पनीहरु तथा कर्पोरेशनहरुमा निर्भर छन्, जुन स्वयंले विज्ञान–प्रविधिको नियन्त्रण गर्दछन् । त्यसकारण यो नयाँ पूँजीवादको शिखरमा हुनुको अर्थ नयाँ वैज्ञानिक–प्राविधिक विकासहरुमा पारंगत हुनु हो ।

वर्तमान उत्पादन प्रक्रियामा दुई रणनीतिक क्षेत्रहरु अन्तर्सम्बन्धित भएका छन्– मातृ प्रविधिहरुको क्षेत्र (कम्प्युटर, दूरसञ्चार, जैवप्रविधि, विशेषगरी जेनेटिक इन्जिनियरिङ्ग र पदार्थ विज्ञान, इत्यादि) र तिनीहरुको संयोजनको क्षेत्र (अन्तरिक्ष प्रविधि, भूमण्डलीकृत सूचना तथा बहुसञ्चार, स्वास्थ्य, इत्यादि) । यी क्षेत्रहरुमध्ये प्रत्येकमा केवल विशाल कर्पोरेशनहरु मात्र, जुन अन्य अत्यन्तै उच्च ढंगबाट विशिष्टीकृत कम्पनीहरुको साथमा काम गर्दछन्, नयाँ प्रणालीहरु तथा वस्तुहरुको उत्पादनको लागि विज्ञान–प्रविधिको सञ्चालन, नियन्त्रण र निर्देशन गर्ने स्थानमा रहन्छन् ।

यो नयाँ उत्पादन प्रक्रिया तथा नयाँ प्राविधिक प्रतिस्पर्धाको लागि अनुसन्धान, उपकरण तथा तालिममा अझ धेरै लगानीको आवश्यकता पर्दछ । परिणामस्वरुप प्रत्येक रणनीतिक क्षेत्रमा केवल अल्पसंख्यक कर्पोरेशनहरुको मात्र प्रमुख हुन्छ ।

सन् १९९० को दशकदेखि करिब यी सबै क्षेत्रहरुमा संकेन्द्रण बढेको छ, र पूँजीवादीहरुका ध्रुवहरुको बीचमा तथा प्रत्येक ध्रुवभित्र पनि संझौताहरु, गठबन्धनहरु र व्यापारहरु भइरहेका छन् ।

यो सामान्यीकृत (भूमण्डलीकृत) पूँजीवादको निर्णायक स्थानमा रहन चाहने कुनै पनि देशले नयाँ वैज्ञानिक–प्राविधिक विकासहरुमा पारंगत हुनुपर्दछ ।

विज्ञान–प्रविधिमा आधारित वर्तमान विशाल कर्पोरेशनहरुले (निगमहरुले) केवल उत्पादन तथा बजारमा मात्र प्रभाव पार्दैनन्; तिनीहरुले अनुसन्धानको निर्देशन, उत्पादनहरुको परिकल्पना, प्रणालीहरुको निर्माण, मागको सृजना र अन्ततः जीवनशैली तथा भावी समाजको स्वरुपलाई निर्धारण पनि गर्दछन् ।

तर पनि विज्ञान–प्रविधिमा आधारित पूँजीवादको उदयसँगै आद्योगिक पूँजीवादको लोप भएको छैन । मानव समाजको विकास क्रममा सदा के देखिन्छ भने अगाडिका चरणहरु कमजोर बन्दछन् र पछाडिका चरणहरु प्रबल बन्दछन् । त्यसैगरी वर्तमान युगमा औद्योगिक पूँजीवाद कमजोर बनिरहेको छ र विज्ञान–प्रविधिमा आधारित पूँजीवादले शक्ति प्राप्त गरिरहेको छ । यसको साथसाथै, अगाडिका सामाजिक चरणहरु, सामान्यतया अगाडिका उत्पादनका रुपहरु, नयाँ आकारमा ढालिन्छन्– जसरी कृषि तथा घरेलु जीवन औद्योगिक पूँजीवादको नव–प्रवत्र्तक शक्तिद्वारा पूर्णरुपले रुपान्तरित भएका थिए, त्यसैगरी औद्योगिक पूँजीवादका सवै सामाजिक क्रियाकलापहरु– घरेलु जीवन, कृषि, यातायात, उद्योग, स्वास्थ्य सेवा, सूचना–सञ्चार, आदि– विज्ञान–प्रविधिमा आधारित वर्तमान पूँजीवादको नव–प्रवत्र्तक शक्तिद्वारा गम्भिर रुपले रुपान्तरित भइरहेका छन् ।

मानव समाजका पूर्ववर्ती चरणहरुको तुलनामा उत्तरवर्ती चरणहरुमा गतिविधिहरुको विस्तार पनि उल्लेखनीय देखिन्छ । म्यानुफ्याक्चर कालको पूँजीवादले आपूmलाई मुख्यतया कपडा उत्पादनमा लगाएको थियो, औद्योगिक पूँजीवादले आफ्नो कार्यक्षेत्रलाई अत्यन्तै विविधीकृत वस्तुहरुको उत्पादनमा विस्तार ग¥यो, र विज्ञान–प्रविधिमा आधारित वर्तमान पूँजीवादले आफूलाई मानव जीवनको हरेक क्षेत्रमा पुर्याएको छ– ज्ञान, वस्तु उत्पादन र सेवा । यस अर्थमा, विज्ञान–प्रविधिमा आधारित पूँजीवादको उदयसँगै हामी पूँजीवादको गतिविधिको क्षेत्र विस्तृत तथा सार्वभौमिक भइरहेको देखिरहेका छौं ।

यसप्रकार, पूँजीवादले विश्व र यसका समाजहरुमाथि पहिलेभन्दा अझ धेरै प्रभुत्व जमाएको छ । व्यापारिक पूँजीवादको उदय युरोपमा चौधौं शताब्दीदेखि सोह्रौं शताब्दीमा भएको थियो । औद्योगिक पूँजीवाद सत्रौं शताब्दीदेखि उन्नाइसौं शताब्दीमा आएको थियो । त्यसपछि बीसौं शताब्दीमा वित्तीय पूँजीवाद आयो । अब एक्काइसौं शताब्दी वैज्ञानिक–प्राविधिक पूँजीवादको युग बन्नलागेको छ । यद्यपि हामीहरु आज यसका सम्पूर्ण अभिव्यक्तिहरु देख्नबाट धेरै टाढा छौँ, तर पूँजीवादको यो नयाँ चरण वर्तमान समाजको “आमूल रुपान्तरण”को आधारभूत तत्व हो भन्ने कुरामा कुनै शंका छैन ।
त्यसकारण वर्तमान पूँजीवाद वैज्ञानिक–प्राविधिक पूँजीवाद(Scientific-technological Capitalism) हो ।

३. उत्पादन क्षेत्रबाट मानव श्रमको विस्थापन

मानव समाजको इतिहासमा मानवश्रम सदा प्रमुख उत्पादक शक्ति रहिआएको थियो । तर यसको विपरित वर्तमान युगमा मानवश्रम उत्पादन क्षेत्रबाट विस्थापित भएको छ । अब यो समाजको प्रमुख उत्पादक शक्ति रहेको छैन ।
मानवश्रमको भूमिका (१) शक्ति, (२) कुशलता, र (३) नियन्त्रण हो । यी तीनै भूमिकाहरुलाई वर्तमान विज्ञान–प्रविधिले विस्थापन गरेको छ : शक्तिलाई प्राकृतिक शक्तिद्वारा, कुशलतालाई यन्त्रद्वारा र नियन्त्रणलाई स्वचालनद्वारा ।

उत्पादन क्षेत्रलाई तीन श्रेणीहरुमा विभाजन गरिएको छ– (१) प्राथमिक क्षेत्र (primary sector), (२) द्वितीय क्षेत्र (secondary sector) र (३) तृतीय क्षेत्र (tertiary sector) । प्राथमिक क्षेत्रमा कृषि, द्वितीय क्षेत्रमा उद्योग र तृतीय क्षेत्रमा सेवा पर्दछन् । यी क्षेत्रहरुमा श्रमको संलग्नता क्रमशः स्थानान्तरण भएर वर्तमान युगमा सेवा क्षेत्रमा पुगेको छ । तर सेवा क्षेत्र उत्पादनको सहायक क्षेत्रमा पर्दछ । त्यसकारण वर्तमान समाजमा मानव श्रमको भूमिका पनि सहायक बनेको छ।

४. समाजको नयाँ संरचना

उत्पादनका क्षेत्रबाट मानव श्रम–शक्तिको विस्थापन भएपछि मानव श्रम सामाजिक व्यवस्थाको आधार रहेन । परिणामस्वरुप अहिले समाजको विभाजन र स्तरीकरणका अन्य गौण तत्वहरु प्रभावकारी बनेर सतहमा आएका छन् । ती तत्वहरु हुन्– लिङ्गं, जाति, वर्ण, समुदाय, धर्म, क्षेत्र, आदि । यी तत्वहरुले वर्तमान समाजमा ठूलो विषमता सृजना गरेका छन् । वर्गीय विभेदको स्थान लिङ्गीय, जातीय, धार्मिक, क्षेत्रीय विभेदहरुले लिएका छन् । समाजमा मानिसहरुको सम्बन्ध र एकताको आधारको रुपमा, वर्गीकरणको आधारको रुपमा अन्य गौण तत्वहरु प्रभावकारी बनेका छन् । तर यसको अर्को पक्ष पनि छ, जुन क्रान्तिको लागि अत्यन्त महत्वपूर्ण छ ।

उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास र त्यसमाथि पूँजीपति वर्गको एकाधिकारको परिणामस्वरुप समाजका बहुसंख्यक मानिसहरु उत्पादन क्षेत्र र सम्पदा (सम्पत्ति) को स्वामित्व दुवैबाट विस्थापित भएका छन् । यिनीहरुबाट अब एउटा नयाँ वर्गको निर्माण भइरहेको छ । यही वर्ग वर्तमान युगको सवैभन्दा क्रान्तिकारी वर्ग हो, किनभने यससँग गुमाउनको लागि आफ्नो केही पनि छैन, तर जित्नको लागि सम्पूर्ण संसार छ, र यो वर्तमान पूँजीवादी व्यवस्थाको अनिवार्य परिणाम, वैध सन्तान, हो ।

– परिचय
विगतको समीक्षा
भविष्यको योजना

(Visited 271 times, 1 visits today)

टिप्पणी

comments