Main Menu

वरिष्ठ पत्रकार तथा अधिकारकर्मी एवं वामनेता तुलाधरबारे बिचार गोष्ठी सम्पन्न

भदौ ३,  काठमाडौँ

अभिव्यक्ति स्वतन्त्रताका लागि मिसन पत्रकारिता र समावेशी पत्रकारिताका अगुवा पद्मरत्न तुलाधरले नेपाली पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानकाबारे हिजो भदौ २ गते समीक्षा गरियो । झण्डै ७८ वर्षको उमेर हुन लाग्दै गरेका पद्मरत्न तुलाधरको परिचय पत्रकार मात्र नभई अधिकारकर्मी, स्वतन्त्र वामपन्थी नेता, साहित्यकार र राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती भएका राजनीतिक एवं सामाजिक अभियन्ता समेत रहेको छ ।

नेवा: पत्रकार राष्ट्रिय दबूले हिजो राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा सहभागी वक्ताहरुले मुलुकमा राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि पत्रकारिताको माध्यमबाट अधिकारकर्मी तुलाधरले महत्वपूर्ण भूमिका निर्वाह गरेकाेमा जोड दिए ।

परराष्ट्रविद एवं वौद्धिक व्यक्तित्व हिरण्यलाल श्रेष्ठले पञ्चायतकालमा उहाँले नेपाल भाषाबाट प्रकाशित हुने विभिन्न पत्रिकामा नेपालभाषाबाट समाचार, स्तम्भलगायत  बिभिन्न लेख रचनाहरु लेखन गरी जनतालाई प्रजातान्त्रिक आन्दोलनमा प्रेरित गरेको बताउनुभयो ।

पत्रकार रघुजी पन्तले पत्रकारिता तथा राजनीतिका माध्यमबाट तुलाधरले विसं २०३६ देखि दोस्रो जनआन्दोलनसम्म राष्ट्रिय भूमिका निर्वाह गरेको हुँदा उहाँलाई जनजातिका अगुवा भनेर मात्र सीमित गर्न नहुनेमा जोड दिनुभयो । उहाँले ‘पद्मरत्न तुलाधर आफूसँग कुनै कामको सहयोग माग्ने जो कोहीलाई पनि निराश नबनाउने स्वभावका हुनुहुन्छ’ भन्नुभयो । उहाँका अनुसार तुलाधरले जनताको पक्षमा हुने कुनै पनि काम गर्न पार्टीको झण्डा नहेरी आफ्नो सहभागिता जनाउँदै आउनुभएको छ ।

अधिकारकर्मी मल्ल के सुन्दरले निरङ्कुश शासनका विरुद्ध जनमत तयार गर्नका लागि उहाँले लामो समयसम्म पत्रकारिताकाे क्षेत्रमा क्रियाशील भएको बताउँदै पत्रकारिताकाे माध्यमबाट भाषा आन्दोलन तथा सांस्कृतिक आन्दोलनमा लाग्दालाग्दै तुलाधरले आफ्नो घर खेतसमेत बिक्री गर्नुपरेको स्मरण गराउनुभयो । उहाँले ‘तुलाधर एकै समयमा साथसाथै एउटा कापीमा एक खालको लेख र अर्को कापीमा  प्रहर्सन लेख्न सक्ने क्षमताका हुनुभएको’ आफ्नो अनुभव सुनाउनुभयो । अधिकारकर्मी मल्लले प्रसिद्ध हास्य जोडी मदनकृष्ण र हरिवंशले आफ्ना प्रस्तुति मञ्चन गर्नुपूर्व पद्मरत्नलाई देखाई उहाँको सुझाव अनुसार परिमार्जन गरेपछि मात्र सार्वजनिक प्रदर्शनीमा लाने गरेको खुलासा गर्नुभयो ।

नेपाल प्रेस काउन्सिलका काव अध्यक्ष किशोर श्रेष्ठले समाचारका लागि कम्पोज तयार गर्ने कार्यदेखि बौद्धिक लेख रचना लेखनका कार्यलाई तुलाधरले जिम्मेवारीपूर्वक पूरा गर्नुभएको बताउनुभयो ।

पद्मरत्न तुलाधर अभिनन्दन समारोह समितिका संयोजक लक्ष्मीदास मानन्धरले विगतमा राष्ट्रिय समाचार समितिबाट प्रकाशित हुने बुलेटीनलाई उहाँले नेपाल भाषामा अनुवाद गरेर प्रजातन्त्रको पक्षमा जनमत तयार गरेको बताउँदै पत्रकारिता क्षेत्रको विकासमा उहाँले उल्लेखनीय भूमिका खेलेको जानकारी गराउनुभयो ।

यही भदौ ३० गते नेवार परम्परा अनुसार ७७ वर्ष ७ महिना ७ दिन ७ घण्टा ७ मिनेट उमेर पुग्दा सम्मान स्वरुप गरिने ‘जङ्कु’ को संस्कार मुताविक तुलाधरलाई भव्य नागरिक अभिनन्दन गर्न लागिएको छ ।

फोटो : हीरा महर्जन/मूल्याङ्कन अनलाइन

(Visited 112 times, 1 visits today)

टिप्पणी

comments