Main Menu

पर्यटन/वन्यजन्तु

हिमाली हिंस्रक प्राणी हिउँ चितुवा

  • सुवास ढकाल

(हिमाली भेग ! अर्थात् हिमारेखाभन्दा मुनिको उच्च पहाडी भूभाग । हिउँदमा त त्यहाँ हिउँले पूरै ढाक्छन् । त्यसैले त्यहाँ धेरै अग्ला रुखहरु भएको जङ्गल छैन । त्यस्तो जङ्गल नभएपछि हिस्रक जनावरबाट त्याँ के को डर ? तर यसो नभन्नुस्; ठूला घना जङ्गल नभए पनि हिमाली भेगमा कहिलेकाहीँ एक खालको जङ्गली हिंस्रक प्राणीसँग तपाईंको जम्काभेट हुनसक्छ, विरालोसँग ! तपाईं छक्क पर्नुहोला । बिरालोसँग किन डराउने ? बिरालो कसरी हिंस्रक प्राणी हुन्छ ?

हो, बिरालो, तर त्यो हाम्रो गाउँघरमा पाइने बिरालो होइन । त्यो त बिरालो जातिको एक जङ्गली प्रजाति हिउँ चितुवा हो । यो जन्तु संसारमा अब धेरै छैन । केही हजारमात्र छन् । त्यसैले यो दुर्लभ र संरक्षण गरिनु पर्ने एक महत्वपूर्ण प्राणी हो । आउनुहोस् आज हामी नेपालमा हिउँ चितुवाबारे अध्ययन र अनुसन्धान गरिरहेका युवा अनुसन्धाता सुवास ढकालले तयार पारेको सामग्रीबाट केही जानकारी लिऔँ । –सम्पादक)

snow-leopard-introductionहिउँ चितुवा भन्नेवित्तिकै यो हिउँ नै हिउँ भएको ठाउँमा बस्दछ र यो चितुवाजस्तै मानिसप्रति आक्रामक हुन्छ भन्ने सोचिन्छ । तर वास्तवमा हिउँ चितुवा भने रुख पाइने ठाउँभन्दामाथि, तर सधैं हिउँ रहिरहने ठाउँभन्दा तल बस्दछ । हिउँ चितुवा भने पहाड तराईको घना जङ्गलमा पाइने चितुवा जस्तो बढी आक्रामक हुँदैन ।

हिउँ चितुवालाई संसारमै पहिलोपटक वैज्ञानिक तवरले पहिचान गर्ने व्यक्ति जर्ज बफन हुन् । उनले यसलाई चिता (cheetah) जस्तै ठानी मध्य तथा मध्यपश्चिम एशियामा पाइने भनेर गलत दृष्टिकोण अघि सारेका थिए । पहिलोपटक यसको बासस्थानको बारेमा सही तथ्य उजागर गर्ने व्यक्ति पिटर प्यालस हुन् । हिउँ चितुवालाई संसारमामु सम्मान दिलाउने तथा यसको जङ्गली अवस्थामा पहिलोपटक फोटो खिच्ने श्रेय भने डा. जर्ज स्यालरलाई जान्छ । नेपालमै यसको पहिलोपटक वैज्ञानिक अध्ययन गर्ने व्यक्ति डा. रड्नी ज्याक्सन हुन् । उनले शे–फोक्सुण्डो क्षेत्रको लाँगु उपत्यकामा यसको अध्ययन गरेका थिए । नेपालमा हिउँ चितुवाको बारेमा विद्यावारिधी गर्ने नेपाली भने डा. मदन ओली हुन् ।

नेपालमा पाइने जङ्गली विराला प्रजातिहरुमध्ये हिउँ चितुवा मझौला बिरालो मानिन्छ र यो पाटेबाघ अनि चितुवाभन्दा पनि सानो हुन्छ । यसको जम्मा लम्बाई करिब २ मिटर हुन्छ, जसमा पुच्छर मात्र करिब १ मिटर जति लामो हुन्छ । यो करिब ६० से.मी. अग्लो हुन्छ भने, यसको तौल ४५ देखि ६५ किलोग्रामसम्म हुन्छ । पोथी भने भालेभन्दा केही सानो हुन्छ । शिकार गरेर मासु चोक्टा पार्नको लागि यसका कुकुरे दाँत विशेष ठूलो, बलियो तथा प्रभावकारी हुन्छ । हल्का खरानी रंगको भुत्ला भएको छालामा कालो थोप्ला भएको बुट्टा हुनाले यो अरु बिराला प्रजातिहरुभन्दा भिन्न देखिन्छ । खरानी रंगको भुत्ला चट्टानी भीर पाखासँग मेल खाने हुँदा यसलाई सजिलै चिन्न गाह्रो हुन्छ ।

हिमाली वातावरणको विषम परिस्थितिमा बाँच्नको लागि यसको भुत्ला करिब १–३ से.मी.सम्म बाक्लो हुन्छ । त्यसैगरी कठिन भीर तथा चट्टानमा हिंडडुल गर्न र शिकार गर्न चाहिने शारीरिक सन्तुलनको लागि हिउँ चितुवाले आफ्नो लामो पुच्छर प्रयोग गर्दछ । चट्टानी र जाडो ठाउँमा सजिलै आवत–जावत गर्न सजिलोको लागि यसको पञ्जा ठूलो तथा बाक्लो खालको हुन्छ ।

नेपालको सन्दर्भमा हिउँ चितुवा ३ हजार मिटरको उँचाइभन्दा माथि र ५ हजार ४ सय मिटरभन्दा तल मात्र पाइन्छ ।

माथिल्लो मुस्ताङमा खिचिएको यो तस्बिरमा एउटा माऊ हिउँ चितुवा र सँगै त्यसका दुई डमरूहरु (एउटा डमरू माऊनजिकै छ) छायाँमा आराम लिँदै । तस्बिर – SLC/NTNC-ACAP

नेपाललगायत मध्यएसियाका जम्मा १२ वटा देशमा मात्र हिउँ चितुवा पाइन्छ । नेपालको हिमाली क्षेत्रका ८ वटा संरक्षित क्षेत्रहरु (रारा राष्ट्रिय निकुञ्ज बाहेक) र यसको आसपासका इलाकाहरुमा गरेर जम्मा ३–५ सय वटासम्म हिउँ चितुवा रहेको अनुमान छ । राष्ट्रिय निकुञ्जको लाँगु उपत्यकामा तथा अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मनाङ्ग भेगमा हिउँ चितुवाको घनत्व अन्य ठाउँभन्दा बढी पाइएको छ । यसो हुनुको मुख्य कारण यी क्षेत्रमा मानव अतिक्रमणको चाप कम हुनु तथा त्यस जन्तुको आहारा सहजै उपलब्ध हुनाले हो भनेर अनुसंधानकर्ताहरु विश्वास गर्छन् ।

हिउँ चितुवा नेपाललगायत, अफगानिस्तान, भूटान, चीन, भारत, मंगोलिया, पाकिस्तान, रुस, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान तथा उज्बेक्स्तानमा पाइन्छ । नेपालमा भने अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष, कंचनजंगा संरक्षण क्षेत्र, लाङ्टाङ्ग राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, मनास्लु संरक्षण क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज तथा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र यस वरपरका ठाउँहरुमा पाइन्छन् ।

हिउँ चितुवा खाद्य संजाल (Food Chain) को माथिल्लो भागमा रहेको छ । त्यसैले यसलाई शिकार गर्ने प्राणी खासै हुँदैन भने पनि हुन्छ । तर बच्चा अवस्थामा भने हिमाली ब्वाँसो तथा गिद्धले यसलाई मार्न सक्ने संभावना भने हुन्छ ।

हिउँ चितुवाले प्रायः नाउर, जङ्गली भेंडा, हिमाली कुखुरा, याक तथा कस्तुरी मृगहरुको शिकार गर्छ । यसको शिकार गर्ने चातुर्य आफ्नो अनुकूलता हेरेर यसले ठूलोमा याक (३ सय किलो) र सानोमा मुसा (१ सय ग्राम)सम्मको शिकार गरेको भेटिनुले प्रष्ट पार्दछ ।

हिउँ चितुवाको प्रजनन् प्रायः जाडोको पुस, माघ महिनामा शुरु भई फागुन–चैत महिनासम्म रहन्छ । जन्मँदा आँखा नदेख्ने डमरुहरु एकैपटक ७ वटासम्म जन्मिएको भेटिएको छ । जन्मेदेखि करिब २ महिनासम्म बच्चाहरुले आमाको खुबै स्याहार पाउँछन् । तर १८–२२ महिनाको भएपछि बच्चाहरु आमासँग छुट्टिने गर्दछन् । २–३ वर्षको उमेरपछि यिनीहरु वयस्क अवस्थामा पुग्दछन् । जङ्गली अवस्थामा हिउँ चितुवा ९ वर्ष जति बाँचेको भेटिन्छ ।

हिउँ चितुवाको आहाराको बारेमा एउटा चाखलाग्दो कुरा के छ भने यसले प्रजनन् समयमा घाँसपात/वनस्पति खाएको भेटिन्छ । वैज्ञानिकहरुले यस्तो अनौठो बानीको बारेमा कुनै ठोस अनुसन्धान गरेर निष्कर्ष निकाल्न भने सकेका छैनन् । तर स्थानीय बासिन्दाहरु भने यसलाई जडिबुटी खाएको भनेर विश्वास गर्छन् ।

नेपालमा हिउँ चितुवाको संरक्षण गर्न सरकारी रुपमा थालनी भएको हिमाली भेगमा संरक्षित क्षेत्रहरु स्थापना भएपश्चात् मात्रै हो ।

हिउँ चितुवाको मुख्य समस्या प्रतिशोधात्मक शिकार नै हो । नेपालको हिमाली क्षेत्रमा चाहिनेभन्दा बढी, तर अनुत्पादक वस्तुभाउ पाल्ने चलन छ, जसले गर्दा सीमित चरन क्षेत्रका कारण वस्तुभाउ जङ्गली जनावरको चरन क्षेत्रमा गई प्रतिस्पर्धा गर्न पुग्छन् । यसबाट नाउर, घोरल जस्ता हिउँ चितुवाको आहारका जनावरहरुले मानिसका बाली नोक्शान गर्न पुग्दछन् भने घरपालुवा वस्तुभाउ आफू नजिकै आएर चर्नाले हिउँ चितुवाले सजिलै तिनीहरुको शिकार गर्न सक्दछन् । हिउँ चितुवाले कहिलेकाँही एकै पटकमा ८/१० वटा वस्तुभाउ तथा घोडा खच्चर पनि मारेको भेटिन्छ । आफ्नो दुःखले पालेको वस्तुभाउ हिउँ चितुवाले सजिलै खाइदिएपछि स्थानीय वासिन्दाहरुलाई रिस त उठ्ने नै भयो । त्यसैले रिसको झोकमा प्रतिशोध लिन गाउलेहरुले ढुंगा हानेर, गोली हानेर या विष हालेर पनि हिउँ चितुवा मारेको पाइन्छ ।

यसको छाला विभिन्न फेसनदार कपडाहरुमा प्रयोग गर्नको लागि एकदमै महंगोमा बिक्ने हुनाले हिउँ चितुवाको चोरी शिकार बढेको छ ।

त्यसैगरी छाला तथा हड्डीको अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागले पनि यसको अस्तित्व संकटमा परेको छ । परम्परागत चिनियाँ औषधिमुलोमा हिउँ चितुवाको हाडको प्रयोग हुनाले हिउँ चितुवाको चोरी शिकार गरिन्छ । अझ यसको छाला विभिन्न फेसनदार कपडाहरुमा प्रयोग गर्नको लागि एकदमै महंगोमा बिक्ने हुनाले पनि हिउँ चितुवाको चोरी शिकार बढेको छ । त्यसले गर्दा पनि हिउँ चितुवाको संरक्षणमा समस्या देखा परेको छ ।

हिउँ चितुवा स्वस्थ हिमाली वातावरणको प्रतिनिधि हो । मानिसको बढ्दो संख्याको कारणले गर्दा हिउँ चितुवाको बासस्थान तथा आहाराका प्राणीहरु कम हुँदै गएका छन् । त्यसैले यसको संरक्षण गर्दा हिमाली क्षेत्रको वनस्पति, घाँसेमैदान तथा यसको आहाराका प्राणीहरुको पनि सँगसँगै संरक्षण हुने हुनाले हिउँ चितुवाको हिमाली क्षेत्रमा उपस्थिति निकै महत्वपूर्ण मानिन्छ ।

(Visited 403 times, 1 visits today)

टिप्पणी

comments