Main Menu

प्रदेशसभाको निर्वाचन असोज र प्रतिनिधिसभाको मङ्सिरमा

  • भीष्मराज ओझा

state-election-asoj-parliament-election-mangsirअसार १६, काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचन आगामी असोज अन्तिम साता र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरको पहिलो सातामा गर्ने तयारी थालेको छ भने राष्ट्रियसभाको निर्वाचन भने कात्तिकको दोस्रो साता गर्ने तयारी सुरु गरेको छ ।

आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटी निर्वाचनको उक्त कार्ययोजना प्रस्तुत गरेको भेटपछि प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी गराए ।

डा. यादवको नेतृत्वमा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, आयोगका निमित्त सचिव महेश्वर न्यौपानेसहितको टोलीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक कानुन यही असार मसान्तसम्ममा पारित गर्नुपर्ने आग्रह गरेको थियो । नेपालको संविधानअनुसार आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । भेटमा आयोगका तर्फबाट समयावधि कम भएको हुँदा मतदाता नामावलीसम्बन्धी ऐनमा समेत केही परिमार्जनको आवश्यकता रहेको प्रधानमन्त्रीलाई अवगत गराइएको थियो ।

आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणका लागि साउन १५ गतेसम्म आवश्यक कार्य गरिसक्नुपर्ने सुझाव दिएको छ । आवश्यक कानुन प्राप्त भएपछि आयोग असोज अन्तिम साता प्रदेशसभाको र मङ्सिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गराउन प्रतिबद्ध रहेको प्रमुख आयुक्त डा. यादवले बताए ।

भेटका क्रममा डा. यादवले दोस्रो चरणको निर्वाचनको सञ्चालन तथा मतगणना भइरहेका सम्बन्धमा र आगामी असोज २ गते गर्ने तय भएको प्रदेश नं २ को स्थानीय तह निर्वाचनको तयारीका बारेमा पनि प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । साथै निर्वाचन व्यवस्थापनमा सरकारका तर्फबाट भएको साधन स्रोत, जनशक्ति र सुरक्षाको सहयोगका सम्बन्धमा आयोगले प्रधानमन्त्री देउवालाई धन्यवाद दिनाका साथै आभारसमेत प्रकट गरेको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले हालै स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै कार्य सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए । प्रधानमन्त्री देउवाले चाँडै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने, आवश्यक कानुन निर्माण गर्ने तथा ऐन संशोधनको प्रक्रिया पूरा गरिने आश्वासन आयोगलाई दिएका थिए ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ गते तथा दोस्रो चरणको निर्वाचन प्रदेश नं १, ५ र ७ मा यही असार १४ गते सम्पन्न भएको छ । प्रदेश नं २ मा भने असोज २ गतेका लागि स्थानीय तहको निर्वाचन तय भएको छ ।

(Visited 123 times, 1 visits today)

टिप्पणी

comments