Main Menu

स्ववियु निर्वाचन अनिश्चित बन्दै

निर्धारित मितिमा चुनाव गराइनुपर्ने माग राख्दै अखिल क्रान्तिकारीका बिद्यार्थी नेताहरु ।

निर्धारित मितिमा चुनाव गराइनुपर्ने माग राख्दै अखिल क्रान्तिकारीका बिद्यार्थी नेताहरु ।

फागुन १६, काठमाडौं । भोलि छाडी पर्सी फागुन १८ गते त्रिविवि अन्तर्गत देशभरका क्याम्पसहरुमा हुन गइरहेको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को चुनाव मुखैमा आएर ठाउँठाउँमा तालाबन्दी, बिवाद आदिका कारणले अनिश्चित बन्न पुगेको छ । खासगरी नेपाली कांग्रेसभित्र रहेका बिभिन्न नेताहरुका गुट र उपगुट निकट नेबिसंघका नेताहरु बीचको आपसी द्वन्द्वले गर्दा अहिले बिभिन्न क्याम्पसहरुमा तालाबन्दी तथा झडपहरु भएका छन् । बिद्यार्थी स्रोतका अनुसार अधिकांश क्याम्पसहरुमा नेबिसंघको संस्थापन पक्षबिरुद्ध समानान्तर प्यानलहरु बन्दै गएको र माउ पार्टी नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबाटै समस्याको समाधान निकालिनुको साटो अन्तरविरोध बढाउँदै गएपछि नेबिसंघभित्रको कलह झनै बढ्दै गएको हो ।

यही क्रममा आज फागुन १६ गते राजधानीको प्रदर्शनीमार्ग स्थित रत्नराज्य क्याम्पस, विश्वभाषा क्याम्पस र त्रिविवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरिएको छ । एकै बिद्यार्थी संगठनभित्रका गुटउपगुटबीच आपसी द्वन्द्व र कलह भई निर्वाचन अनिश्चित बन्न पुगेका राजधानीका अन्य क्याम्पसहरुमा नेपाल ल क्याम्पस, त्रिचन्द्र क्याम्पस, शंकरदेव क्याम्पस र पद्म कन्या क्याम्पस पनि परेका छन् । नेपाल ल क्याम्पसमा त अहिले नै फागुन १८ को चुनाव स्थगित भएको घोषणा नै भइसकेको छ ।

बिद्यार्थीहरुको आपसी द्वन्द्वले अहिले ठाउँठाउँमा तोडफोडका घटनाहरु पनि हुन थालेका छन् । यही क्रममा आजै कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिरकुमार शर्माको कार्यकक्षमा आजै आगजनीका घटना घटेको राससले जनाएको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर प्रमुख शर्माको कार्यकक्षमा विद्यार्थीले आगजनी गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख सरोज पौडेलले बताए । आगजनीबाट कार्यकक्षमा रहेका महत्वपूर्ण कागजात, कुर्सी, टेबल गरी रु एक लाखको क्षति भएको प्रमुख शर्माले जानकारी दिए ।

त्यस्तै गरी आज गोर्खामा द्रव्य शाह वहुमुखी क्याम्पसभित्र वम विस्फोट भएको खबर छ ।

गोरखा नगरपालिका-८ लक्ष्मीबजारमा रहेको क्याम्पसमा सोमवार विहान करिब साढे ११ बजे ठूलो आवाजमा बिष्फोट भएको हो ।

क्याम्पसको पूर्वपट्टि रहेको पुस्तकालय भवन नजिकै बिष्फोट भएको प्रहरीले जनाएको छ । बिष्फोट भएको स्थलमा सुतली डोरी र केही बारुद भेटिएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । ‘बिष्फोट भएको ठाउँमा जलेका पातपतिङ्गर र कागजहरु भेटियो,’ प्रहरी निरिक्षक उपाध्यायले मिडियासँग भने, ‘गाउँघरमा बनाइने सुतली बम बिष्फोट भएको प्रारम्भिक अनुमान गरेका छौं ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी जनकराज पाण्डेयले बताए ।

यी सबै घटनाहरुले बिद्यार्थीहरुको कुनै खास खेमा नै अहिले चुनाव स्थगित गराउन षडयन्त्र गर्दै गरेको त्यो पक्ष भनेको नेबिसंघ हो भनी बिद्यार्थीहरु भन्न थालेका छन् । यसैबीच तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग राख्दै अनेरास्ववियु नेपाल ल क्याम्पसका बिद्यार्थीहरुले सो क्याम्पसमा नाराबाजी गर्दै बिभिन्न कार्यक्रम गरेका छन् । निवर्तमान स्ववियु सभापति गुणराज आचार्यको नेतृत्वमा सो क्याम्पसमा बिरोध प्रदर्शन भएको बिद्यार्थी स्रोतले जानकारी दियो ।

यसैबीच अखिल क्रान्तिकारीले आजै निर्धारित मितिमै स्ववियु निर्वाचन सम्पन्न गरिनुपर्ने माग राखी राजधानीको प्रदर्शनी मार्ग, शंकरदेव क्याम्पस, बागबजार र त्रिचन्द्र क्याम्पस क्षेत्रमा वृहद् प्रदर्शनी गरेको छ । सो प्रदर्शनीमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले उपस्थित बिद्यार्थीहरुलाई सम्वोधन गर्दै बिभिन्न बहानामा निर्वाचन सार्न नहुने बताउँदै आफ्नो संगठन भोलि छाडी पर्सि फागुन १८ गते नै स्ववियु निर्वाचन हुनुपर्ने पक्षमा रहेको बताए ।

बिद्यार्थी स्रोतका अनुसार निर्वाचनप्रति अनिच्छुक हुने बिद्यार्थी संगठनहरुमा अखिल क्रान्तिकारी वैद्य समूह र विप्लव समूह पनि परेका छन् ।

(Visited 324 times, 1 visits today)

टिप्पणी

comments