Main Menu

विद्युत प्राधिकरणलाई नै थाहा छेन कताकता छ भुमिगत तार !

  • पूर्णप्रसाद मिश्र

underground-wires-create-problemसाउन १९, काठमाडौँ । बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तार गर्ने क्रममा ढुङ्गेअड्डामा ४०० मिटर क्षेत्रमा बिजुलीको तार जमिनमुनि बिच्छ्याइएको भेटियो । तार कताबाट कतिमुनि बिच्छ्याइएको छ भन्ने अभिलेख नभएको यो क्षेत्र हेर्ने नेपाल विद्युत् प्राधिकरण कुलेश्वरका कार्यालय प्रमुख थिरकुमार खत्रीले बताए ।

“तार कताबाट लगेको छ भनी कार्यालयका पुराना कर्मचारीलाई ल्याएर पनि देखायौँ,” प्रमुख खत्री भन्छन्, “उहाँहरुले यहीँबाट लगेको भनी ठम्याउन सक्नुभएन । कार्यालयमा कतै यससम्बन्धी अभिलेख पनि पाइएन । वि.सं. २०४२ अघि जापानी आयोजनाले बनाएकाले केन्द्रीय कार्यालयमा पनि यससम्बन्धी कुनै अभिलेख पाउन सकिएन ।”

ढुङ्गेअड्डाको मात्र नभई अन्यत्र पनि भूमिगतरुपमा बिच्छ्याइएका तारको अभिलेख पाउन नसकिएको कार्यालय प्रमुख खत्रीले सुनाए । काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तार गर्ने क्रममा ढुङ्गेअड्डा क्षेत्रमा भूमिगत बिजुलीको तार कहाँ छ भन्ने ठम्याउन नसक्दा काम अघि बढ्न सकेको छैन ।

यो सडक विस्तारमा अन्य ठाउँमा अरु समस्या भए पनि ढुङ्गेअड्डामा भूमिगत तारको समस्याले सताएको उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए ।

“रत्नपार्क र नयाँबानेश्वरमा भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तार मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउने क्रममा काटियो । यहाँ पनि प्राधिकरणसँग तार कहाँबाट बिच्छ्याइएको छ भन्ने अभिलेख रहेनछ । धन्न दुर्घटना भएन । ढुङ्गेअड्डामा तार बिच्छ्याइएको अभिलेख नहुँदा सडक विस्तारमै समस्या भएको छ,” उनले भने ।

प्राधिकरणको केन्द्रीय कार्यालय र सम्बन्धित वितरण केन्द्रमा पनि भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तारको अभिलेख नहुँदा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउँदा तार काटिएर उपत्यकाका धेरै स्थानमा विद्युत् आपूर्तिमा अवरोध आएको थियो ।

मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकाल विद्युत् प्राधिकरणका कर्मचारी पनि सँगै काममा खटिएका बेला रत्नपार्क र नयाँ बानेश्वरमा बिजुलीको तार काटिएको बताउँछन् ।

“प्राधिकरणका कर्मचारीलाई पनि भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तार कताबाट कति गहिरोरुपमा लगिएको छ भन्ने थाहा रहेनछ”– उनले भने ।

भूमिगतरुपमा बिच्छ्याइएको संवेदनशील बिजुलीको तार कहाँबाट लगिएको छ भन्ने अभिलेख सम्बन्धित कार्यालयसँग नहुँदा खानेपानीको पाइप बिच्छ्याउने, सडक विस्तार गर्ने र भूमिगतरुपमा नेपाल टेलिकमको तार बिच्छ्याउने क्रममा दुर्घटना हुनसक्ने खतरा देखिएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तारको अभिलेख भए सम्बन्धित वितरण केन्द्रमै हुने बताउँछन् ।

विसं २०४२ भदौ १ गते विद्युत् विकास विभाग, नेपाल विद्युत् निगम र विद्युत्सँग सम्बन्धित बोर्ड गाभेर प्राधिकरण गठन गरिएको थियो ।

(Visited 172 times, 1 visits today)

टिप्पणी

comments