Main Menu

गाविस समाहित गरिएकोमा नगरवासी असन्तुष्ट, प्रमलाई ज्ञापनपत्र

चैत्र ८, कञ्चनपुर (सप्तरी) । स्थानीय तह पुनःसंरचना गर्दा राजविराज नगरपालिकामा अव्यवहारिक र अवैज्ञानिक ढङ्गले गाविस समाहित गरिएको भन्दै यहाँ तीव्र असन्तुष्टि देखिएको छ ।

यसै क्रममा सोमबार स्थानीयले त्रुटिपूर्ण पुनःसंरचना सच्याउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नगरपालिमामा हाल समावेश गरिएका कतिपय विकट गाविस र वडाका कारण अस्तित्व नै सङ्कटमा पर्ने ठहर गर्दै नगरवासीको बृहत् भेलाले पूर्व मेयर सैलेश चौधरीको संयोजकत्वमा १ हजार १ सदस्यीय ‘राजविराज नगर सीमाङ्कन सुधार सङ्घर्ष समिति’ गठन गरी दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

सोहीअनुरुप पहिलो चरणमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम भएको हो । सङ्घर्ष समितिका संयोजक चौधरी भन्छन्, “अविलम्ब त्रुटि नसच्याए दोस्रो चरणमा आन्दोलनको सशक्त कार्यक्रम अघि बढ्छ ।”

ज्ञापनपत्रमा पूर्वमा खाडो खोलाभन्दा पश्चिम, उत्तरमा बसविट्टि गाविसको सीमादेखि औद्योगिक क्षेत्रसम्म, पश्चिममा घोडदहनीदेखि पूर्व र दक्षिणमा इटहरी विष्णुपुर गाविसको पश्चिम कोसी नहरदेखि उत्तरको भाग मात्र राजविराज नगरपालिकामा गाभिनुपर्ने माग अघि सारिएको छ ।

हाल नगरपालिकामा हरिहरपुरको मधेपुरा, देउरी भरुवालगायतका गाविस समेटिएका छन् जुन अत्यन्तै अपायक र अव्यवहारिक भएको र नयाँ संरचनाले नगरलाई झन् अस्तव्यस्त बनाउने सङ्घर्ष समितिको ठहर छ ।

ज्ञापनपत्रमा स्थानीय तह पुनःसंरचना गर्दा नगर र जिल्लावासीसँग कुनै छलफल र सुझाव सङ्कलन नै नगरी काठमाडौँमा बसेर केही नेता र सांसदको चुनावी लाभका लागि एकपक्षीय ढङ्गले सीमा तोकिएको उल्लेख गर्दै त्यस्तो संरचना आफूहरुलाई कुनै पनि हालतमा स्वीकार नहुने जनाइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाउने जानकारी दिए ।

(Visited 79 times, 1 visits today)

टिप्पणी

comments