Main Menu

भारोत्तोलन एकेडमी निर्माणको काम द्रूत गतिमा

 

weight-lifting-academy-constructionभदौ २६, नेपालगञ्ज । सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडमी सेन्टर’ भवनको निर्माण कार्य द्रूत गतिमा भइरहेको छ ।

नेपालगञ्जमा एक वर्षपछि आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत दृष्टिगत गरी सो सेन्टर भवनको निर्माणलाई तीव्रता दिइएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीमबहादुर ओलीले बताए ।

निर्माण शुरु गर्दा रु. ८७ लाखको बजेट विनियोजन गरिएको सो भवन निर्माणमा अहिलेसम्म रु. २८ लाख ३२ हजार खर्च भइसकेको छ भने यस वर्ष निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयले रु. २० लाख विनियोजन गरेको नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रतनकुमार टण्डनले जानकारी गराए ।

“बजेटका कारणले भवन निर्माणको काम रोकिँदैन । राष्ट्रिय खेलकुद प्रतियोगिताअघि उपकरणसहित प्रतियोगिता सञ्चालन हुने व्यवस्थासहित निर्माण सम्पन्न गरिनेछ”, अध्यक्ष टण्डनको भनाइ छ ।

एकेडमी निर्माणपछि विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चलका सबै जिल्ला र पश्चिमाञ्चल क्षेत्रअन्तर्गत केही जिल्लाका विद्यालय उमेरका बालबालिकाको छनोट गरी उनीहरुलाई सबै सुविधासहित भारोत्तोलन खेलको आधुनिक प्रशिक्षण दिइनेछ ।

संघका अध्यक्ष रतन टण्डनका अनुसार, केटा र केटी गरी करिब ५० जना प्रशिक्षार्थी अट्न सक्ने क्षमताको तीनतले एकेडमी भवन निर्माणको काम अब एक वर्षभित्र सक्ने लक्ष्य निर्धारण गरिएको छ ।

एकेडमी भवनमा भारोत्तोलन प्रशिक्षणका लागि आवश्यक पर्ने करिब रु. २ करोड बराबरको उपकरण एशियाली भारोत्तोलन संघ र अन्तर्राष्ट्रिय भारोत्तोलन संघबाट सहयोगस्वरुप प्राप्त भइसकेको जनाइएको छ । भवनको सम्पूर्ण निर्माणको काम नसकिएकाले हाललाई सो उपकरण काठमाडौँमा प्रयोगमा ल्याइएको छ ।

सो एकेडमी भवनमा तालीम कक्ष, प्रतीक्षालय कक्ष, पोशाक फेर्ने कोठा, सुत्ने कोठा, पुस्तकालय, भान्साघर, सोनाबाथलगायत सुविधासम्पन संरचनाको व्यवस्था गरिएको छ ।

दक्षिण एशियाली भारोत्तोलन संघका संयोजकसमेत रहेका टण्डनका अनुसार, नेपालगञ्ज रंगशाला क्षेत्रको कूल ४ हजार वर्ग फिट जग्गा एकेडमीअन्तर्गत रहने र कूल जग्गामध्ये २ हजार ८०० वर्ग फिटमा भवन निर्माण भइरहेको छ ।

एकेडमीमा तालीम दिइने विद्यार्थीको अध्ययनलगायतका सबै खर्च संस्थागत हुनेछ भने एकेडमीको प्रशासन र अन्य प्राविधिक खर्चका लागि सहयोगी हातहरु खोजिने पनि अध्यक्ष टण्डनले बताए ।

यसैगरी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्षेत्रीय खेलकुद विकास समितिको अगुवाइमा नेपालगञ्ज रंगशालामा रु. ६० लाखको लागतमा माटो पटान, पौडी पोखरी र सुटिङ रेञ्जको निर्माण कार्यलाई समेत तीव्रता दिइएको छ ।

कूल ४२ खेल सञ्चालन हुने प्रतियोगिताका लागि रु. ३५ करोड र भौतिक पूर्वाधार निर्माणका लागि रु. ७० करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बताए । आवश्यक बजेट समयमा उपलब्ध गराउन परिषद्ले मन्त्रालयसँग पत्राचारसमेत गरिसकेको पनि उनले जानकारी गराए ।

केही दिनअघि नेपालगञ्जमा बसेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयस्तरीय बैठकले सो प्रतियोगिताको मस्कटमा हात्तीको बच्चा (छावा) रहने निर्णय गरेको थियो ।

(Visited 120 times, 1 visits today)

टिप्पणी

comments