Main Menu

‘एक घर, एक बिरुवा’ अभियानमार्फत हरियाली प्रवद्र्धन गरिने

जेठ २२, काठमाडौँ

वन तथा वातावरण मन्त्रालयले प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापन र हरियाली प्रवद्र्धन गर्ने नीति सहितको ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५ कार्ययोजना शुभारम्भ गरेको छ ।

विश्व वातावरण दिवसका अवसरमा आज यहाँ आयोजित एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियानको शुभारम्भ गर्नुहुँदै शपथस्वरुप प्रतिबद्धता गराउनुभयो ।

महाअभियानले मुलुकभरका सबै गाउँ र शहरमा जनताले अनुभूत गर्न सक्ने गरी प्रदूषण नियन्त्रण, सरसफाइ र फोहरमैला व्यवस्थापन गर्दै शहरको खाली भागमा हरियाली प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

वनमन्त्री शक्तिबहादुर बस्नेतले फोहोरमैलाको उचित व्यवस्थापन गर्ने, काठमाडौँ उपत्यकालगायत शहरमा प्रदूषण रोकथाम गरी सफा र सुन्दर बनाउने तथा मुलुकभरि वृक्षारोपण गरी हरियाली प्रवद्र्धन गर्ने महाअभियानको उद्देश्य हुने बताउनुभयो ।

वातावरण र विकासबीच सन्तुलन, नेपाली संस्कृति र सभ्यताको पहिचान, हरित तथा दिगो विकास, वातावरण प्रदूषण गर्नेबाट दायित्व बहन, वातावरण संरक्षणप्रति नागरिकको दायित्व बोध, साझेदारी र सहकार्य महाअभियानका निर्देशक सिद्धान्त रहेका छन् ।

महाअभियानले लक्ष्य तथा उद्देश्य हासिल गर्न एकवर्षे कार्ययोजना तय गरेको छ । यसअन्तर्गत सबै प्रकारका सञ्चार तथा प्रचार प्रसारका माध्यम तथा सामग्री परिचालन गरी सरसफाइ तथा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

सरसफाइ तथा फोहर व्यवस्थापनअन्तर्गत सबै स्थानीय तहमा सरसफाइ प्रवद्र्धन गर्न वातावरणको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थालाई सम्बन्धित स्थानीय तह सँगको समन्वयमा कार्य गर्ने गरी जिम्मेवारी दिने लगायतका कार्यक्रम छन् ।

प्रदूषण नियन्त्रणअन्तर्गत ढुवानीका सवारी साधनले सडकमा पानी लगायतका झोलपदार्थ नचुहिने गरी ओसारपसार गर्ने कार्यलाई कडाइका साथ लागू गर्ने, विद्युतीय सवारी साधनको प्रयोग बढाउने, ठूला निर्माण उपकरण तथा सवारी साधनका लागि युरो मापदण्डको थालनी गर्ने, प्लास्टिक पुनः प्रयोग तथा निजी क्षेत्रलाई त्यसको पुनः चक्रीय उद्योग स्थापना गर्न कर छुटका लागि पहल गर्ने लगायतका कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

हरियाली प्रवद्र्धनअन्तर्गत हरेक स्थानीय तहले वृक्षारोपण गरी हरियाली प्रवद्र्धन गर्न गुरुयोजना तयार गरी लागू गर्ने, सडक किनार वृक्षारोपण गर्ने, नदी किनारमा बाँस, वेत र वृक्षारोपण गर्ने, स्थानीय तहसँग जोडिएका लोकमार्ग किनारमा वृक्षारोपण गर्ने कार्यक्रम छन् ।

कार्यक्रमअन्तर्गत कम्तीमा एक घर एक बिरुवाका हिसाबले निजी वन र कृषि वनको प्रवद्र्धन गर्ने, प्रत्येक घरले फल फल्ने, फूल फुल्ने र बासना आउने कम्तीमा एक रूखबिरुवा रोप्ने, स्थानीय तहका सार्वजनिक खाली जग्गामा न्यूनतम शून्य दशमलब पाँच हेक्टरको एउटा नमूना उद्यान निर्माण गरी हरियाली प्रवद्र्धन गर्ने, सरकारी कार्यालय, विश्वविद्यालय, मन्दिर तथा धार्मिक क्षेत्रमा वृक्षारोपण गर्ने अभियान सञ्चालन गरिनेछ ।

त्यस्तै, कार्ययोजनामा एक राष्ट्रसेवक एक रूखबिरुवा रोपण गर्ने, वन क्षेत्र विस्तार गर्न १० प्रतिशतभन्दा कम वन क्षेत्र भएका स्थानीय तहमा छिटो बढ्ने, बहुउपयोगी प्रजातिका रूखबिरुवा र जडीबुटी व्यापक रुपमा वृक्षारोपण गर्न आह्वान गर्ने कार्यक्रम राखिएका छन् ।

अभियानबाट सबै स्थानीय तहका खाली जग्गामा कम्तीमा पाँच प्रतिशत वृक्षारोपण भएको हुने, सबै स्थानीय तहमा न्यूनतम एउटा नमूना उद्यान स्थापना हुने, काठमाडौँ उपत्यकालगायत देशभरका सबै शहरमा दैनिक उत्सर्जन हुने फोहोरमा २० प्रतिशतले कमी आउने अपेक्षा गरिएको छ ।

त्यस्तै, विकास निर्माण कार्य, अस्पताल, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट लगायतका क्षेत्रबाट निष्कासन हुने धुलो, धुवाँ, जल र ध्वनि प्रदूषणको मात्रामा कम्तीमा ३० प्रतिशतले कमी आउने, प्लास्टिक झोलाको उत्पादन र प्रयोगमा कमी ल्याई देशभरमा ५० प्रतिशत प्लास्टिक झोलाको प्रयोगमा कमी आई कपडा र कागजका वैकल्पिक झोलाको प्रयोगमा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

म्हाअभियानको प्रभावकारी कार्यान्वयन एवं अनुगमन र समन्वयनका लागि विभिन्न समिति र उपसमिति गठनको समेत व्यवस्था गरिएको छ ।

– भीष्मराज ओझा

(Visited 116 times, 1 visits today)

टिप्पणी

comments