Main Menu

पपुवा न्यु गिनीमा ७.९ म्याग्निच्युडको भूकम्प

माघ ९, काठमाडौँ । पपुवा न्यु गिनीको बुगान्भिल क्षेत्रमा ७.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार अपरान्ह ३ः३० बजे गएको भूकम्प जमिनको सतहको १३६ किलोमिटरमुनिबाट उत्पन्न भएको अमेरिकी भौगोलिक सर्वेक्षण (युएसजिएस)ले जनाएको । भूकम्पको मापन सुरुमा ८.० म्याग्निच्युड जनाइएकोमा पछि संसोधन गरिएको थियो ।

भूकम्प लगत्तै प्रशान्त महासागर क्षेत्रका टापुहरुमा सुनामीको चेतावनी दिइएको भए पनि अहिले खतरा टरिसकेको abc.net.au ले जनाएको छ । पेसेफिक सुनामी वार्निङ सेन्टरले भूकम्पपश्चात ०.३ देखि १ मिटरसम्म अग्ला सुनामी छालहरु आउनसक्ने पपुवा न्यु गिनी, सोलोमोन आइल्याण्ड्सलगायत प्रशान्त महासागरमा पर्ने अन्य टापुहरुमा सुनामीको चेतावनी दिएको थियो । सुनामीको चेतावनीका कारण बुइन सहरका बासिन्दाहरुलाई उच्च क्षेत्रमा सारिएको बुगान्भिलको एक रेडियो स्टेसन न्यू डन एफएमका व्यवस्थापक एलोेइसियस लाउकाइले जनाए ।

‘भूकम्प सयौँ किलोमिटर मुनिबाट उत्पन्न भएको भए पनि भूकम्पको म्याग्निच्युड ठूलो भएको कारण सतहसम्मै ठूलै कम्पन अनुभव गर्न सकिन्छ ।’ जियोसाइन्स अष्ट्रेलियाका साइज्मोलोजिस्ट स्पिरो स्पिलियोपोलसले बताए ।

सोलोमोन आइल्याण्डका सरकारी अधिकारी जोर्ज हर्मिङ्गका अनुसार सोलोमोन आइल्याण्डमा कुनै ठूलो धक्का महसुस गरिएको थिएन, न त कुनै सुनामीको खतरा छ ।

पपुवा न्यु गिनीमा ठूलो–सानो भूकम्पहरु आइरहन्छन् । प्रशान्त महासागरको ‘रिङ्ग अफ फायर’ क्षेत्रमा पर्ने यस देशमा सन् २००२ मा मात्रै पनि ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । २१ औँ शताब्दीमा मात्रै ६.५ म्याग्निच्युडमाथिका ५ ठूला भूकम्पहरु गइसकेका छन् ।

प्रशान्त महासागरको वरिपरि विभिन्न टेक्टोनिक प्लेटहरुको सिमा रहेको ‘रिङ्ग अफ फायर’ क्षेत्र भूकम्पीय दृष्टिकोणमा संसारकै सबैभन्दा सक्रिय क्षेत्र हो । विश्वभरि जाने भूकम्पहरुमध्ये ९० प्रतिशत यही क्षेत्रमा जान्छन् । ८१ प्रतिशत ठूल्ठूला भूकम्पहरु यही क्षेत्र वरिपरि जान्छन् । विभिन्न टेक्टोनिक प्लेटहरुबीचको घर्षणका कारण यो क्षेत्रमा धेरै भूकम्पहरु जाने वैज्ञानिकहरु बताउँछन् । सन् २०१३ मा मात्रै सोलोमोन आइल्याण्डमा ८.० म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस भूकम्पका कारण आएको सुनामीमा परी कम्तिमा १० जना व्यक्तिको मृत्यु भएको थियो ।

३ लाख मानिसहरु बसोबास गर्ने बुगान्भिल क्षेत्रमा आज गएको भूकम्पमा परी भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन ।

(Visited 103 times, 1 visits today)

टिप्पणी

comments